जनकपुरधाम– नेपाली राजनीतिमा माननीय डा. शेखर कोइराला लोकतान्त्रिक मूल्य मान्यतामा आधारित राजनीतिको लामो र गौरवमयी इतिहास बोकेको कोइराला परिवारबाट आएका सम्मानित र लोकप्रिय नेता हुनुहुन्छ। यो परिवारले नेपालमा लोकतन्त्रको जग बसाल्न ऐतिहासिक, जोखिमपूर्ण र पुण्य कार्य गरेको छ।
हाल चलिरहेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा डा. कोइरालाले सिंगो पार्टीको कार्यशैली र नेतृत्वसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरू उठाउनुभएको छ। नेपाली कांग्रेस पार्टीभित्र पारदर्शिता, खुला छलफल, अनुशासन र लोकतान्त्रिक मान्यताहरूलाई बलियो बनाउने उद्देश्यले उहाँले राख्नुभएका यी प्रश्नहरू लोकतान्त्रिक अधिकारको अभ्यास हो।
तर, बैठकको दोस्रो दिन माननीय बिनोद चौधरीले माननीय डा. कोइरालाप्रति अधीर, असहज र अपरिपक्व प्रतिक्रिया व्यक्त गर्नुभयो जुन नेपाली कांग्रेसको गौरवमयी इतिहाससँग मेल खाँदैन। डा. कोइरालाले प्रसंगवश मा. बिनोद चौधरीको नाम लिँदै विगतमा केन्द्रीय कार्यसमितिको निर्वाचनमा उहाँले उम्मेदवारी दिँदा पार्टीले अपनाइएको अलोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाउनुभएको थियो। उहाँको उद्देश्य कुनै व्यक्ति विशेष वा मा. चौधरीलाई बदनाम गर्ने नभई पार्टीभित्रका प्रक्रियागत कमजोरीहरूलाई उजागर गर्नु थियो।
मा. चौधरीले भने मा.डा. कोइरालालाई संकीर्ण सोच भएको व्यक्ति भनी व्यक्तिगत चरित्र हत्या गर्ने प्रयास गर्नुभयो जुन अत्यन्त आपत्तिजनक छ। उहाँले थप एक कदम अगाडि बढेर मा. डा. कोइरालाको नेतृत्व क्षमतामाथि नै प्रश्न उठाउनुभयो। तर वास्तवमा मा. डा. कोइरालाका प्रश्नहरू कुनै एक व्यक्तिप्रति नभई सिंगो पार्टीको नेतृत्व र कार्यशैली प्रति लक्षित थियो।
हो, नेपालको वर्तमान राजनीतिमा पैसाको प्रभावले प्रजातान्त्रिक मूल्यहरूलाई कमजोर बनाइरहेको छ जुन देशैभरिका प्रजातन्त्रवादीहरूका लागि चिन्ताको विषय हो। “धनले किनेको सत्य सधैं झूटो हुन्छ” भनेझैं, पैसाको बलमा राजनीतिलाई प्रभावित गर्ने प्रवृत्तिले हाम्रा संस्थापक नेताहरू बि.पी. कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले स्थापित गर्नुभएको लोकतान्त्रिक आदर्शहरूलाई कमजोर बनाउँदैछ।
मा.बिनोद चौधरीले नेपाली कांग्रेसको सम्मानित मञ्चमा व्यक्त गरेको आक्रोशले देशभरका प्रजातन्त्रवादीहरूको मन दुखाएको छ। “धनले सत्ता किन्छ, तर सँग–सँगै नैतिकता बेच्छ” भन्ने उक्ति बिर्सेर उहाँले पैसाले नै राजनीतिको दिशा निर्धारण गर्न सकिन्छ भन्ने गलत सन्देश प्रवाह गर्नुभएको छ। मा. बिनोद चौधरीको यो व्यवहारले नेतृत्वमाथि नैतिक दबाब थपिएको छ। अब पार्टीले मा. बिनोद चौधरीले दिएको आर्थिक सहयोग (चन्दा)को विवरण सार्वजनिक नगरे पनि उक्त सहयोग वापत उनलाई कहिले, कसरी र कुन रूपमा सहयोगको जवाफ दिने हो त्यसबारे केन्द्रीय कार्यसमितिका सबै सदस्यहरूलाई स्पष्ट जानकारी दिनुपर्ने नैतिक जिम्मेवारी हुन जान्छ। उहाँले आफ्नो असन्तुष्टि व्यक्त गर्दै पार्टीले प्रदान गरेको अवसरप्रति सन्तुष्ट नभएको र थप अवसर चाहिएको कुरा पनि प्रष्ट पार्नुभएको छ।
यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो गौरवमयी लोकतान्त्रिक इतिहासलाई जोगाउँदै पैसाको प्रभावबाट मुक्त, पारदर्शी र नैतिकतामा आधारित राजनीतिलाई अगाडि बढाउनुपर्छ ।
विचार/अन्तर्वार्ता
राजावादी के आन्दोलन कते पहुँचले हौ ?
जितेन्द्र साहइमानदारको अपमान, भ्रष्टाचारीको सम्मान
जितेन्द्र साह‘आमनागरिकको आशा र भरोसाप्रति खरो उत्रेलान् डा. शेखर कोइराला’
नरेश कुमार यादवबनियागिरी पत्रकारिता
जितेन्द्र साहपैसाको बलमा बिधि र प्रक्रिया मिच्न पाइन्छ विनोद चौधरी जी ?
नरेश कुमार यादवDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares