विराटनगर– भारत र पाकिस्तानबीचको सम्बन्ध फेरि एकपटक युद्धमा परिणत भएको छ। वैशाख २५ (मई ७) बाट दुवै देशले एकअर्काको भूमिमा आलोपालो क्षेप्यास्त्र र ड्रोन आक्रमण थालेपछि स्थिति कष्टकर बनेको छ ।एक नेपालीसहित २६ हिन्दुको ज्यान जाने आतंकवादी आक्रमणको प्रतिशोधस्वरूप ‘अपरेसन सिन्दूर’ थालेको भारतले बताउँछ ।
पाकिस्तानले त्यसको जवाफ दिँदै समान धाराको कारबाही ‘अपरेसन बुन्यान उल मर्सूस (सुदृढ किला अभियान)’ सुरु गरेको दाबी गर्छ। परिणामतः एकै दिन दुवै देशमा दर्जनौँ नागरिक र सैनिकको ज्यान गएको छ। विश्व समुदाय शान्तिका लागि आह्वान गरिरहेको बेला युद्धको घनघोर सम्भावनाले दक्षिण एसियालाई पुनः तनावग्रस्त बनाएको छ।
यो पहिलो पटक होइन, भारत–पाकिस्तानबीचको संघर्ष यस्ता आकस्मिक घटनाबाट नै चुलिंदै आएको छ। चारपटक ठूला युद्ध भइसकेका यी दुई मुलुकबीचको सम्बन्धलाई बुझ्न ऐतिहासिक र सामरिक सन्दर्भ उत्खनन गर्नु अपरिहार्य छ।
विगतका युद्धहरू : एउटै नाली, एउटै घाउ
१९४७ मा सुरु भएको पहिलो युद्ध जम्मु–कश्मीरमै केन्द्रित थियो। बेलायती औपनिवेशिक शासन समाप्तिपछि धर्मका आधारमा दुई मुलुकमा बाँडिएको उपमहाद्वीपमा कश्मीर सधैँ विवादको मूल बिन्दु बन्यो।मुस्लिम बहुल कस्मिरको हिन्दू राजा हरि सिंहले भारतसँग गाभिने निर्णय गरेपछि पाकिस्तानी समर्थित लडाकुहरूले आक्रमण गरे र त्यसले युद्धको रूप लियो।
त्यसपछिको १९६५ को दोस्रो युद्ध, १९७१ को तेस्रो युद्ध—जहाँ बंगलादेशको जन्म भयो—र १९९९ को कार्गिल युद्ध पनि कश्मीर र राष्ट्रिय पहिचानको द्वन्द्वमै केन्द्रित थिए।यीमध्ये कार्गिल युद्ध विशेषगरी उल्लेखनीय छ, जसमा शान्तिपूर्ण पहलकै बीच पाकिस्तान समर्थित घुसपैठ भएको थियो। भारतीय सेना मजबुत प्रतिकार गर्दै आफ्नो भूभाग फिर्ता लिन सफल भयो तर त्यसले सम्बन्ध सुधारको सबै प्रयासमा पानी फेर्यो।
आतंकवाद, सर्जिकल स्ट्राइक र बदलिँदो रणनीति
सन २००० यता भारत–पाकिस्तान सम्बन्धले आतंकवाद, अन्तर्राष्ट्रिय दबाब र सैन्य प्रतिशोधको नयाँ घेरा बनाएको छ। २००१ मा भारतीय संसदमा आक्रमण, २००८ को मुम्बई आक्रमण, र २०१९ को पुलवामा आक्रमण यी सबै घटनाले भारतको प्रतिक्रिया स्वरूप सैन्य आक्रमण (सर्जिकल स्ट्राइक) को बाटो खोलेको छ।
पछिल्लो दशकमा भारतले कश्मीरको संविधानिक हैसियत नै खारेज गर्दै जबर्जस्त रूपमा नियन्त्रणमा लिएको छ। यसबाट पाकिस्तान थप आक्रोशित भएको स्पष्ट देखिन्छ।
आजको तनाव : इतिहासको दोहोरिने भय
अहिलेको पछिल्लो आक्रमणमा दुवै पक्षको ज्यानमात्रै गएको छैन, युद्धको मनोविज्ञान समेत जागृत भएको छ। भारत पाकिस्तानमाथि आतंकवादको समर्थन गरेको आरोप लगाउँछ भने पाकिस्तान आफ्ना हितको सुरक्षाका लागि ‘आत्मरक्षा’मा उत्रिएको बताउँछ। राष्ट्रसंघ, अमेरिका, रुस, चीनले संयमता अपनाउन आग्रह गरिरहेका छन्, तर यति लामो द्वन्द्व शृंखलामा यस्ता अपिलले कति काम गर्छन् भन्ने प्रश्न खुला नै छ।
समाधान खोज्ने कि युद्ध गरिराख्ने ?
भारत–पाकिस्तानबीचको द्वन्द्व केवल दुई राष्ट्रको सीमित भूभागको मुद्दा होइन, यो समग्र दक्षिण एसियाको शान्ति, विकास र मानवीय सुरक्षासँग जोडिएको विषय हो। कश्मीरको राजनीतिक, धार्मिक र रणनीतिक जटिलता समाधान नगरेसम्म युद्धको घण्टी बारम्बार बजिरहनेछ।
आजको अवस्था अन्तर्राष्ट्रिय कूटनीतिक पहलका लागि निर्णायक मोड हो। यदि विश्व समुदायले निष्पक्ष र दीर्घकालीन समाधानतर्फ पहल नगरे दुई आणविक शक्तिहरूबीचको अर्को युद्धले न केवल दक्षिण एसिया, समग्र विश्वमै ठूलो संकट निम्त्याउन सक्छ। धेरथोकमा भारतमा निर्भर नेपालमा आपूर्ति व्यवस्था ठप्प पार्दै खाद्यान, औषधि र इन्धनको अभाव हुनसक्छ ।
शान्तिको आशामा खनिएको बाटो फेरि बारुदको धुवाँले ढाकिन्छ कि इतिहासले नयाँ मोड लिन्छ—यो अब केवल भारत र पाकिस्तानकै हातमा छैन।
विचार/अन्तर्वार्ता
जब ज्ञानको गहिराइ कक्षाकोठाभन्दा पर जान्छ
जितेन्द्र साहनेपाली भूमि लिपुलेकमा फेरि भारतको नियन्त्रण
जितेन्द्र साहसिन्दूरको संकल्प : आतंकवादविरुद्धको सांस्कृतिक सन्देश
जितेन्द्र साहबारुदको साटो संवाद र कट्टरताको साटो करुणाको मार्ग
जितेन्द्र साहसत्ता मोहले दोधारमा प्रचण्ड
जितेन्द्र साहNo related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares