३१ भदौ २०८२, बुधबार 17 Sep 2025, Wednesday

जेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै

द नेप्लिज संवाददाता
२९ भदौ २०८२, सोमबार

विराटनगर– जेनजीको आन्दोलनले विराटनगरस्थित सरकारी संरचना ध्वस्त भएको छ । कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरस्थित प्रदेश सरकारको अधिकांश संरचना जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गरेर ध्वस्त बनाएको हो । 

जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते शान्तिपूर्ण रहे पनि २४ गते अराजक समूहले प्रदेश संरचनालगायतका सरकारी संरचनाका साथै निजी सम्पतीमा समेत आगजनी गरेर खरानी बनाइ दिएको छ । 

जेनजी आन्दोलनको पहिलो दिन काठमाडौंमा प्रहरीको गोली लागेर १९ जना युवाले ज्यान गुमाएपछि दोस्रो दिन स्वस्फूर्त रुपमा युवा, व्यस्क सबै सडकमा उत्रिएका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आन्दोलनको दोस्रो दिन प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुखको निवास, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा कफ्र्यू लगाएर सुरक्षा व्यवस्था विराटनगरमा कडा पारेका थिए । प्रजिअ यादवले बिहानै जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिका साथै सर्वदलीय बैठकसमेत बोलाएका थिए । 

बैठकको क्रममा नै विराटनगरको सुरक्षा व्यवस्था काबुभन्दा बाहिर गइसकेको थियो । अराजक समूहले ट्राफिक प्रहरी बीटहरुमा आगो लगाएर आन्तरिक राजश्व कार्यालय विराटनगरमा तोडफोड सुरु गरिसकेका थिए । अराजक समूहको उन्मादको सूचनाले बैठक बिना निष्कर्ष सकियो । राजनीतिक दलका प्रतिनिधिहरु सुरक्षित स्थानतर्फ आ–आफ्ना बाटो लागे तर प्रजिअ यदव आफ्नो निवासमा नै बसिरहेका थिए । 

आन्तरिक राजश्व कार्यालयमा आगजनी गरेपछि अराजक समूह प्रदेशसभातर्फ अघि बढ्यो । प्रहरीले रोक्ने प्रयास गर्दागर्दै अरासजक समूहको ठूलो भीड प्रदेशसभाभित्र पसेर तोडफोड र आगजनीमा उत्रिए । त्यही क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, संचय कोष कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा आगजनी गरे । 

प्रदेशसभाको अराजक समूह स्वास्थ्य मन्त्रालय, उच्च अदालत विराटनगर, जिल्ला अदालत मोरङ, भूमी व्यवस्था तथा मालपोत कार्यालय, नापी कार्यालय, प्रदेश खेलकुद विकास बोर्ड, कोइराला निवास, जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका, महानगरका वडा कार्यालहरु, विराटनगर भन्सार कार्यालय, एमाले पार्टी कार्यालय, भाटभटेनी सुपर मार्केटमा आगजनी गरेर ध्वस्त बनाइदिएका छन् । आगजनी गरिएका कार्यालयहरुमा भएका सम्पूर्ण कागजात लगायतका सामग्री खरानी भएको छ । अराजक समुहले प्रमुख जिल्ला अधिकारीको निवाससमेत जलाइदिएका छन् । प्रजिअ यादव नेपाली सेनाको सहयोगमा सुरक्षित स्थानमा गएर ज्यान जोगाउन बाध्य भएका थिए । 

अहिले खरानी टकटक्याएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभा, उच्च अदालतलगायतका कार्यालयहरुले जनताको लागि सेवा सुरु गर्ने जमर्को गर्दै छन् । 


 

प्रकाशित : २९ भदौ २०८२, सोमबार 21:03
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved