विराटनगर– जलवायु परिवर्तनको असर यति गहिरो हुने देखिएको छ कि यो शताब्दीको अन्त्यसम्ममा विश्वका झण्डै ४० प्रतिशत हिमनदीहरू पूर्णतः पग्लने निश्चित भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन्। विश्व तापमान औद्योगिक क्रान्तिअघिको तुलनामा २.७ डिग्री सेल्सियसले वृद्धि भएमा तीन चौथाइ हिमनदी हराउने तथ्य एक नवीनतम वैज्ञानिक अध्ययनले सार्वजनिक गरेको हो।
वर्तमान उत्सर्जन दर ज्यूँका त्यूँ रहेमा यो शताब्दीको अन्त्यसम्म २.७ डिग्री सेल्सियस तापमान वृद्धि हुने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार जीवाश्म इन्धनको अत्यधिक प्रयोग तापमान वृद्धिको प्रमुख कारण हो।
हिमनदीको पग्लाइले वैश्विक स्तरमै गम्भीर असर पार्नेछ। समुद्री सतह बढेर तटीय क्षेत्रमा बसोबास गर्ने लाखौँ मानिस विस्थापित हुन बाध्य हुनेछन्। त्यस्तै हिमनदीमा आधारित नदीहरू सुक्नाले अर्बौँ मानिसलाई खानेपानी र सिँचाइका लागि गम्भीर संकट निम्त्याउने अध्ययनको निष्कर्ष छ।
पेरिस सम्झौतामा भने तोकेको १.५ डिग्री सेल्सियसको सीमा भित्रै तापमान नियन्त्रण गर्न सके आधा हिमनदी जोगिन सक्ने आशा वैज्ञानिकहरू व्यक्त गर्छन्। तापमानको दशौँ अंशको नियन्त्रणले मात्र पनि २.७ खर्ब टन बरफ जोगाउन सकिने उनीहरूको दाबी छ।
पश्चिमी अमेरिका र क्यानडाका झण्डै ७५ प्रतिशत हिमनदी गुम्ने निश्चित भएको बताइएको छ। हिन्दुकुश र काराकोरमका उच्च, चिसा पहाडका हिमनदीहरू केही समयसम्म टिक्न सक्ने भए पनि विश्वव्यापी तापमान वृद्धि ती क्षेत्रका हिमनदीहरूमा पनि गम्भीर असर पार्नेछ।
यो अध्ययनले विभिन्न परिदृश्यमा हिमनदीको अवस्था आकलन गर्न आठवटा बहु–मोडेलको प्रयोग गरेको छ। हिमनदीको पग्लाइसँगै समुद्री सतहमा वृद्धि मात्र होइन, हिमताल विस्फोटको जोखिम पनि बढ्ने भएकाले तल्लो भेगका समुदाय र पारिस्थितिक प्रणालीमा प्रत्यक्ष असर पर्न सक्ने चेतावनी दिइएको छ। साथै हिमनदी पर्यटनमा आधारित क्षेत्रहरू अझ प्रभावित हुने देखिएको छ।
बेल्जियमको भ्रिये युनिभर्सिटी ब्रसेल्सका डा. ह्यारी जेकोलारी भन्छन्, ‘हाम्रो अध्ययनले देखाउँछ कि तापमानको प्रत्येक अंश महत्त्वपूर्ण छ। आजका नीति निर्णयहरूले शताब्दीऔँसम्म असर पार्नेछ र हिमनदीहरूको भविष्य निर्धारण गर्नेछ।’
अस्ट्रियाको इन्सब्रक विश्वविद्यालयकी डा. लिलियन शुस्टर भन्छिन्, ‘हिमनदीहरूको खुम्चिनु जलवायु परिवर्तनको प्रत्यक्ष दृश्य प्रमाण हो। तर यो प्रक्रियाको प्रभाव लामो समयपछि देखिने भएकाले अहिले देखिएकोभन्दा अवस्था अझ भयावह छ।’ उनले थपिन्, ‘अहिले पनि कदम चाल्न ढिला भइसकेको छैन। तापमानको दशौँ अंशको कमीले पनि मानवीय पीडालाई घटाउन सक्छ, जुन सन्देश आशाको किरण हो।’
सन् २०२० लाई आधार वर्ष बनाएर गरिएको अध्ययनले ग्रिनल्यान्ड र अन्टार्कटिका बाहेकका विश्वभरिका २ लाख हिमनदीमाथि विश्लेषण गरेको हो। वैज्ञानिकहरूले केही अनिश्चितता स्वीकारे पनि न्यूनतम ४० प्रतिशत हिमनदी लोप हुने निश्चित भएको उल्लेख छ, र खराब अवस्थामा यो संख्या ५५ प्रतिशतसम्म पुग्न सक्ने देखिन्छ।
क्षेत्रगत रूपमा हेर्दा, आर्कटिक क्यानडाको दक्षिण भागमा ८० प्रतिशत र हिन्दुकुश–काराकोरम–हिमालयको पश्चिम भागमा ५ प्रतिशत हिमनदी लोप हुने सम्भावना देखिएको छ। तापमान २.७ डिग्री सेल्सियस पुगेमा विश्वका १९ प्रमुख हिमनदी क्षेत्रमध्ये ८० प्रतिशत हिमनदीहरू गुम्नेछन्। तीमध्ये युरोप, पूर्वी हिमालय, रुसी आर्कटिक, पश्चिमी अमेरिका र आइसल्यान्डका हिमनदीहरू पूर्ण रूपमा हराउने अनुमान गरिएको छ।
हिमनदीहरूले हाल समुद्री सतह वृद्धिमा एक चौथाइ योगदान गरिरहेका छन्। अहिलेको हिसाबले मात्र लोप हुने निश्चित हिमनदीहरूले ११ सेन्टिमिटर सतह बढाउँछन् भने तापमान २.७ डिग्री पुग्दा यो वृद्धि २३ सेन्टिमिटर पुग्नेछ। तापमान १.५ डिग्रीमा सीमित गर्न सके समुद्री सतहको वृद्धि १४ सेन्टिमिटरमा सीमित हुने अध्ययनले देखाएको छ।
यूकेको नर्थम्ब्रिया विश्वविद्यालयका प्राध्यापक एन्ड्रु शेफर्ड भन्छन्, ‘हिमनदीहरू जलवायु परिवर्तनको प्रतिष्ठित संकेतक हुन्। जीवाश्म इन्धनको प्रयोग निरन्तर जारी रहे भविष्यमा पहाडी परिदृश्य पूर्ण रूपमा परिवर्तन हुनेछ।’
डा. जेकोलारी भन्छन्, ‘हिमनदीहरू टाढा देखिए पनि तिनको असर विश्वव्यापी हुन्छ। उदाहरणका लागि बेलायतमा कार चलाउँदा निस्कने ग्यासले १० हजार किलोमिटर टाढा रहेको हिमनदी पग्लन सहयोग गर्छ।’
यो अध्ययन साइन्स जर्नलमा प्रकाशित भएको हो।
– गार्जियनमार्फत
#हिमनदी
शिक्षा/प्रविधि
पृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares