११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

एयर इन्डियाको बोइङ दुर्घटनाः २०४ जनाको मृत्यु, ५० जना घाइते

द नेप्लिज संवाददाता
२९ जेठ २०८२, बिहीबार

विराटनगर– एयर इन्डियाको विमान एआई १७१ बोइङ ७८७–८ ड्रीमलाइनर विमान भारतको अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको २ मिनेटमा नै दुर्घटना हुँदा २०४ जनाको मृत्यु भइसकेको र ५० जना घाइते भएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार विमानमा २३४ यात्रु र दुई जना पाइलटसहित १२ जना चालक दलको सदस्य गरी २४२ जना सवार थिए ।  

विमान लन्डनतर्फ उडान भर्न टेकअफको क्रममा विमानस्थल नजिकै मेघिनगरको मेडिकल कलेजको इन्टर्न चिकित्सकको होस्टलमा ठोकिएर दुर्घटना ग्रस्त हुँदा विमानमा सवार यात्रुका साथै केही मेडिकल अध्ययनरत विद्यार्थीको समेत मृत्यु भएको र ५० जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । घाइतेहरुको अहमदावादस्थित सिभिल अस्पतालमा उपचार भइरहेको भारतीय अधिकारीहरुले जनाएको छ ।  

विमान होस्टलमा ठोकिएर खस्ने बित्तिकै धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुग्नुका साथै ७ वटा दमकलले आगो निभाउने कार्य गरेको थियो । एम्बुलेन्ससहितको मेडिकल टिमले घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याएको र उनीहरुको उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।  

विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता, राहुल गान्धीलगायले दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यलाई तिव्रता दिँदै हरेक किसिमको सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएको छ । दुर्घटनामा विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । विमानमा सवार २४२ जना यात्रुमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक भएको भारतीय अधिकारीहरुले पुष्टि गरेको छ । विमानमा सवार यात्रुमा नेपाली नभएको दिल्लीस्थित नेपाली राजदुतावासले जनाएको छ ।

क्रानफिल्ड विश्वविद्यालयका एयरोस्पेस तथा एभिएसन निर्देशक ग्राहम ब्रेथवेटले दुर्घटनाग्रस्त बोइङ ७८७–८ ड्रीमलाइनर सेवामा रहेकामध्ये सबैभन्दा आधुनिक यात्रुबाहक विमान नयाँ मोडेलको भएको र यो बोइङ यसअघि यो कुनै किसिमको घातक दुर्घटनामा नपरेको बताएका छन् ।  

कसरी भयो विमान दुर्घटना ?

विमान उडान भर्ने क्रममा नै एकाएक तल आउँदै इन्टर्न चिकित्सकहरु ५०–६० जना खाना खाइरहेको अवस्थामा होस्टेलमा आएर ठोकिएको थियो । विमान उडान भरेको दुई मिनेट भित्रै खसेको भारतीय अधिकारीहरुले जनाएको छ । 

ठूलो आवाजका साथ विमान होस्टेलमा ठोकिएपछि धुवाँको मुस्लोसहित आगो दन्किरहेको र मानिसहरुको भागाभाग भइरहेको प्रत्यक्षदर्शीहरुको भनाइ भारतीय सञ्चार माध्यमहरुले सार्वजनिक गरिरहेका छन् । 

उक्त विमान अनुभवी विमान चालक सुमित सभरवाल र विमान सह–चालक क्लाइव कुंदरले उडाएका थिए । सभरवालसँग ८ हजार २ सय घण्टाको विमान उडाएको अनुभव थियो भने कुंदरसँग ११ सय घण्टाको अनुभव थियो । विमान उडान भर्ने वित्तिकै विमानमा खराबी आएको एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएको र विमान दुर्घटना हुनु अगावै एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क विच्छेद भइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । 

प्रकाशित : २९ जेठ २०८२, बिहीबार 19:50
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved