११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

जयश्री राम !

आजदेखि राम मन्दिरमा दोस्रोपटक प्राण–प्रतिष्ठा, अयोध्यामा रमझम

द नेप्लिज संवाददाता
२० जेठ २०८२, मङ्गलबार

२२ जनवरी २०२४ मा बालक रामको रूपमा स्थापना गरिएका श्रीरामलाई अब दोस्रो प्राण–प्रतिष्ठामा राजा स्वरूपमा स्थापना गरिँदैछ। राजा रामको दरबारमा उनका अनुज लक्ष्मण, भरत, शत्रुघ्न, माता जानकी र सेवक हनुमान रहनेछन्।

विराटनगर– २२ जनवरी २०२४ मा भगवान श्रीराम बालकको रूपमा प्रतिष्ठित भएका थिए। अब दोस्रो प्राण–प्रतिष्ठामा भगवान रामलाई राजा स्वरूपमा स्थापना गरिनेछ। राम मन्दिरको पहिलो तलामा राजा रामको दरबार रहनेछ।

श्रीराम जन्मभूमिमा नेपाली समय अनुसार मंगलबार बिहान पौने सात बजेबाट दोस्रो प्राण–प्रतिष्ठा समारोहको सुरुवात भइसकेको छ। ३ देखि ५ जुनसम्म चल्ने यो समारोहमा मन्दिरको पहिलो तलामा राम दरबार र परिक्रमामा रहेका शिवलिंग, गणपति, हनुमान, सूर्य, भगवती, अन्नपूर्णा र शेषावतार गरी आठवटा मन्दिरहरूमा देव विग्रहहरूको प्राण–प्रतिष्ठा गरिनेछ। राम मन्दिरलाई सुन्दर बत्ती र सजावटले झिलिमिली बनाइएको छ।

२२ जनवरी २०२४ मा बालक रामको रूपमा स्थापना गरिएका श्रीरामलाई अब दोस्रो प्राण–प्रतिष्ठामा राजा स्वरूपमा स्थापना गरिँदैछ। राजा रामको दरबारमा उनका अनुज लक्ष्मण, भरत, शत्रुघ्न, माता जानकी र सेवक हनुमान रहनेछन्।

अयोध्यामा दर्शन गर्न आएका भक्तहरूमा ठूलो उत्साह देखिएको छ। रामलालाको दर्शनपछि अब राजा रामको प्राण–प्रतिष्ठा हेर्न पाउनेमा उनीहरू उत्साहित छन्। सुरक्षाको विषयमा एसएसपी डा. गौरव ग्रोवरले जानकारी दिँदै भने, ‘रामनगरीलाई पूर्ण सुरक्षा दिइएको छ। कार्यक्रम स्थलमा थप सुरक्षा बल तैनाथ गरिएको छ र भक्तजनहरूलाई कुनै असुविधा नहोस् भन्ने व्यवस्था मिलाइएको छ।’

राजा रामसँगै अन्य सात उपमन्दिरहरूमा पनि विग्रहहरूको प्राण–प्रतिष्ठा हुनेछ। परिक्रमाको ईशान कोणमा शिवलिंग, अग्निकोणमा श्रीगणेश, दक्षिण भागको मध्यमा महाबली हनुमान, नैऋत्य कोणमा सूर्यदेव, वायव्य कोणमा भगवती, उत्तर भागको मध्यमा अन्नपूर्णा माताको विग्रह प्रतिष्ठा गरिनेछ। साथै मुख्य मन्दिरको पहिलो तलामा राम दरबार र दक्षिणपश्चिम कोणमा शेषावतारको विग्रह पनि प्रतिष्ठा गरिनेछ।

रामलालाको प्राण–प्रतिष्ठा पछिको १६ महिनामा राजा रामको प्रतिष्ठा

रामलालाको प्राण–प्रतिष्ठा भएको १६ महिनापछि अयोध्यामा निर्माण सम्पन्न भइसकेको भव्य राम मन्दिरमा दोस्रो पटक प्राण–प्रतिष्ठा र अभिषेकको तयारी पूरा भइसकेको छ। गत वर्ष २२ जनवरीमा सम्पन्न रामलालाको प्राण–प्रतिष्ठा समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख आतिथ्यमा ८ हजारभन्दा बढी मानिस सहभागी भएका थिए। यसपटक उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथि रहनेछन्। यो समारोह मन्दिर निर्माणको समापनको रूपमा पनि हेरिएको छ, जुन पाँच अगस्त २०२० मा सर्वोच्च अदालतको निर्णयपछि सुरु भएको थियो।

सर्वोच्चको निर्णयपछि राम मन्दिर निर्माण समिति गठन गरिएको थियो, जसको नेतृत्व प्रधानमन्त्रीका पूर्वप्रमुख सचिव नृपेन्द्र मिश्रले गरिरहेका छन्। मन्दिरको पहिलो तलामा राजा रामको दरबार बनाइएको छ, सबै ढोका जडान भइसकेका छन्। परिक्रमामा रहेका पूरक मन्दिर र सप्तऋषिका सात मन्दिरमा पनि ढोका राखिएको छ। शिव मन्दिरमा शिवलिंग स्थापना भइरहेको छ। २.७७ एकड क्षेत्रमा फैलिएको मन्दिरको पहिलो तलामा श्रीराम, जानकी, तीनजना भाइहरू र हनुमानको मूर्ति स्थापित गरिसकिएको छ, जसको प्राण–प्रतिष्ठा गरिँदैछ। मन्दिर पारम्परिक नागर शैलीमा बनाइएको हो, जसको लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट छ। मन्दिरमा कुल ३९२ खम्बा र ४४ वटा ढोका छन्।

यसपटक अयोध्याका पण्डितहरूले साइत निकाले

२२ जनवरी २०२४ मा रामलालाको प्राण–प्रतिष्ठाको मुहूर्त काशीका विद्वानहरूले निकालेका थिए, तर यसपटकको प्राण–प्रतिष्ठाको साइत अयोध्याका प्रख्यात आचार्य पण्डित प्रदीप शर्मा, आचार्य राकेश तिवारी र आचार्य रघुनाथदास शास्त्रीले निकालेका हुन्। संयोगवश ५ जुनका दिन गंगा दशहरा पनि परेको छ। मानिन्छ, यही दिनदेखि द्वापर युग सुरु भएको थियो र रामेश्वरमको स्थापना पनि यही दिन भएको हो।

दोस्रो प्राण–प्रतिष्ठा समारोहमा अनुष्ठान र कार्यक्रम

२ जुनका दिन सरयू तटबाट मातृशक्तिहरूले जलकलश यात्रा निकाले। त्यसपछिको तीनदिने कार्यक्रम ज्येष्ठ शुक्ल अष्टमी ३ जुनदेखि प्रारम्भ भइ ५ जुनको दशमीका दिन पूजा, भोग र आरतीसहित सम्पन्न हुनेछ। नेपाली समय अनुसार ५ जुनको बिहान पौने सात बजे अनुष्ठान सुरु भइ ११ बजेर ३५ मिनेटमा समाप्त हुनेछ। बिहान ११ बजेर ४० मिनेटदेखि ११ बजेर ५५ मिनेट सम्मको अभिजीत मुहूर्तमा राजा रामको प्राण–प्रतिष्ठा गरिनेछ।

प्राण–प्रतिष्ठा गराउने विद्वान पण्डितहरू

चन्दौलीका विद्वान पण्डित जयप्रकाश तिवारी १०१ जना वैदिक आचार्यहरूसँग मिलेर आठवटै मन्दिरहरूमा एकैसाथ देव विग्रहहरूको प्राण–प्रतिष्ठा गर्नेछन्।

मुख्य यजमान को हुने?

२२ जनवरी २०२४ को प्राण–प्रतिष्ठा समारोहमा राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य डा. अनिल मिश्र पत्नी (जजमान्नी) सहित यजमान थिए। यसपटक पनि यही सौभाग्य उनीलाई दोहोरिएको छ। डा. मिश्र दोस्रो प्राण–प्रतिष्ठा समारोहका पनि मुख्य यजमान हुनेछन्।

#श्रीराम# जन्मभूमि

प्रकाशित : २० जेठ २०८२, मङ्गलबार 09:54
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved