विश्व स्वास्थ्य संगठनद्वारा प्रदेश स्वास्थ्य मन्त्रालयलाई प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवन हस्तान्तरण
विराटनगर– विश्व स्वास्थ्य संगठनले स्वास्थ्य मन्त्रालय कोशी परिसरमा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवन निर्माण गरी मंगलबार हस्तान्तरण गरेको छ । भवन हस्तान्तरणसँगै स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र मन्त्रालयको प्रत्यक्ष निगरानीमा आफ्नै भवनमा सञ्चालन हुने भएको हो । यसअघि कोशी अस्पताल परिसरमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन हुँदै आएको थियो ।
भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले नव निर्मित प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवनको उद्घाटन गरेका छन् । मन्त्री राईले स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र निरन्तर र प्रभावकारी ढंगले सञ्चालनका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताएका हुन् ।
‘अहिले विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन हुँदै आएको छ, विश्व स्वास्थ्य संगठनले सहयोग गर्न बन्द गरिदिएको दिन के गर्ने, सञ्चालन गर्ने कि नगर्ने जस्ता प्रश्नको उत्तर दिन अहिले देखि तयार हुनुपर्छ,’ मन्त्री राईले भने, ‘यो केन्द्र सञ्चालनका लागि खटिएका कर्मचारीहरुले बिना कसैको सहयोगमा पनि सञ्चालन गर्न सक्छु भन्ने तरिकारले अहिलेदेखि नै सबै तरिका र प्रक्रियाको बारेमा जानिराख्नु पर्छ र विश्व स्वास्थ्य संगठनले सहयोग गर्न बन्द गरे पनि मन्त्रालयले आफै सञ्चालन गरिरहनु पर्छ ।’
विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि डा. राजेश समबाजीराव पाण्डवले यो भवनले जस्तोसुकै आपत विपतको बेला यस प्रदेशवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने बताएका छन् । उनले विपद सूचना दिएर नआउने भएकाले त्यसको सामना गर्न पूर्व तयारीमा बस्नु पर्ने बताएका हुन् । उनले यो भवनको उपयोग गरेर स्वास्थ्य मन्त्रालयले सजस्तोसुकै विपदको बेला नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई एवं स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले विपदको पूर्वतयारीले विपदको बेला काम गर्न ३० गुणा सहज हुने बताएका छन् । ‘बागमति प्रदेशमा बन्द भए जस्तो यस प्रदेशमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र बन्द गर्नुपर्ने अवस्था आएमा पूर्व जानकारी दिन आग्रह छ,’ उनले भने, ‘अहिलेको समयमा भूकम्प आउनुभन्दा न्यूनतम ३० सेकेण्ड अगाडि पूर्वजानकारी प्राप्त हुने गरेको अवस्थामा अन्य विपद्को बारेमा काम गर्दै जाँदा धेरै समय अगाडि नै सूचना प्राप्त हुने र त्यसबाट हुने क्षति अत्यन्तै न्यून भएर जान्छ । त्यसैले यो केन्द्र सञ्चालनमा यो प्रदेश सक्षम हुने विश्वास छ ।’
विश्व स्वास्थ्य संगठनले प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवन, फर्निचर, बैकल्पिक उर्जाका लागि सोलार, ब्याट्रीलगायतका सामग्रीसहित ९९ लाख ७५ हजार ६७ रुपैयाँमा तयार गरेर स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाई एवं स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीको उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । उक्त भवन भूकम्प प्रतिरोधी र आगोसमेत नलाग्ने रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय कोशीकी सचिव डा. राधिका थपलियाले यो स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र यसअघि कोशी अस्पताल परिसरमा हुँदा त्यहाँ के भइरहेको बारेमा खासै जानकारी नहुने गरेको तर अब मन्त्रालय परिसरमा नै भवन निर्माण भएर सञ्चालन हुँदा मन्त्रालयको प्रत्यक्ष निगरानीमा प्रभावकारी रुपमा सञ्चालन हुने बताएकी हुन् ।
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares