विराटनगर — ध्रुवीय क्षेत्रमा रहेका बादलहरू पातलिंदै जाँदा पृथ्वीको सतहबाट सूर्यको प्रकाश अन्तरिक्षतर्फ परावर्तन हुन नसक्दा तापमान अप्रत्याशित रूपले बढेको पाइएको छ। नासा र अस्ट्रेलियाका दुई विश्वविद्यालयको संयुक्त अनुसन्धानले यस्तो देखाएको हो।
वैज्ञानिकहरूका अनुसार पृथ्वीलाई चिस्याउने प्राकृतिक प्रणालीका रूपमा काम गर्ने यी बादलहरू पछिल्लो २४ वर्षमा संकुचित हुँदै गएका छन्। सन् २०२३ र २०२४ मा देखिएको विश्वव्यापी तापक्रम वृद्धिको प्रमुख कारण यही हुनसक्ने वैज्ञानिक आकलन छ। ती दुई वर्षको तापक्रम वृद्धिले वैज्ञानिकहरूलाई समेत अचम्ममा पारेको थियो।
नासा र अष्ट्रेलियाका मोनास तथा न्यू साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकहरूले बादलको बाक्लोपन र पृथ्वीले तातोपन धान्ने क्षमतासम्बन्धी भूगर्भीय तथ्यांकको विश्लेषण गरेका थिए। अनुसन्धानका अनुसार पछिल्लो २४ वर्षको अवधिमा प्रत्येक दशक १.५ प्रतिशतदेखि ३ प्रतिशतसम्म ध्रुवीय बादल घटेका छन्।
अध्ययनमा सहभागी मोनास युनिभर्सिटीका जलवायु वैज्ञानिक प्राध्यापक क्रिश्चियन ज्याकोबका अनुसार विश्वका प्रमुख वायुप्रणालीहरू क्रमशः ध्रुवतर्फ सर्दै गएकाले बादलहरू एकै स्थानमा थिचिन थालेका छन्। साथै वायुमण्डलमा बढ्दो कार्बन डाइअक्साइडका कारण कम्युटर मोडेलले पूर्वानुमान गरेको असरसँग पनि यिनै नतिजा मेल खाने उनले बताए।
बादलको भूमिकाबारे वैज्ञानिक दृष्टिकोण
प्राध्यापक ज्याकोबका अनुसार बादलहरू सूर्यको ऊर्जालाई अन्तरिक्षतर्फ फर्काउने मात्र होइन, पृथ्वीको तातोपना सन्तुलनमा पनि भूमिका खेल्छन्। तर समग्रमा बादलको उपस्थिति पृथ्वीलाई चिसो बनाउने कारक हो। त्यसैले बादलको न्यून उपस्थितिले तापक्रममा वृद्धि हुनु स्वाभाविक भएको उनले बताए।
अध्ययनमा संलग्न नभएका तर न्यू साउथ वेल्स विश्वविद्यालयका वरिष्ठ जलवायु वैज्ञानिक प्राध्यापक म्याट इङ्गल्याण्डका अनुसार ‘बादलको कभरेजमा हुने परिवर्तनले मानवजन्य जलवायु परिवर्तन कसरी तीव्र हुँदै जान्छ भन्ने कुरामा महत्वपूर्ण असर पार्छ।’
यो अध्ययन ‘जियोफिजिकल रिसर्च लेटर्स’ नामक वैज्ञानिक जर्नलमा हालै प्रकाशित भएको हो। वैज्ञानिकहरूका अनुसार अध्ययनले सन् २०२३ र २०२४ मा महासागर र भूमिमा रेकर्ड गरिएको असाधारण तापक्रम वृद्धिको वैज्ञानिक व्याख्या गर्न सहयोग पुर्याएको छ।
अन्य सम्भावित कारणहरूसमेत अनुसन्धानको दायरा
हाल वैज्ञानिकहरू तापक्रम वृद्धिको जिम्मेवार थप सम्भावित कारणहरूको खोजीमा छन्। केही वैज्ञानिकहरूका अनुसार समुद्री यातायातको क्रममा जहाजहरूले सल्फर डाइअक्साइड उत्सर्जनमा गरेको कटौतीका कारण सूर्यको प्रकाश परावर्तन कम भएको हुनसक्छ। बायुमण्डलमा तैरिने यी ग्यासका कण (एरोसोल) ले सूर्यको किरण परावर्तन गर्न र बादललाई चम्काउने काम गर्छन्।
त्यस्तै सन् २०२३ मा उत्तरी एट्लान्टिकमा हुने बालुवाको प्रवाह घट्नु, सन् २०२२ मा टोंगामा समुद्री सतहमुनी भएको ज्वालामुखी विस्फोटबाट वायुमण्डलमा बाफको मात्रा वृद्धि हुनुजस्ता कारणहरूले पनि पृथ्वीको तापक्रम बढाउन भूमिका खेलेका हुनसक्ने तर्क वैज्ञानिकहरूले गरेका छन्।
न्यू साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक डा. मार्टिन जकरका अनुसार यस्ता पाटा अनुसन्धानले जलवायु परिवर्तनसम्बन्धी मोडेललाई अझ परिष्कृत बनाउन सहयोग पुर्याउनेछ।
नीतिगत चिन्ता
प्राध्यापक ज्याकोबले अध्ययनका लागि प्रयोग गरिएका तथ्यांक नासा र अमेरिकाको राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासन (एनओएए) जस्ता संस्थाहरूले उपलब्ध गराएको जानकारीमाथि आधारित रहेको बताए। तर त्यस्ता महत्वपूर्ण संस्थाहरूमा ट्रम्प प्रशासनका पालामा बजेट कटौती गरिनुले दीर्घकालीन अनुसन्धानको भविष्यलाई असर पार्न सक्ने उनको चेतावनी छ।
‘यस्ता महत्त्वपूर्ण निकायमा लगानी घटाउनु चिन्ताको विषय हो,’ प्राध्यापक ज्याकोब भन्छन्, ‘अब अन्तर्राष्ट्रिय समुदायले यस्ता अध्ययनलाई निरन्तरता दिन वैकल्पिक उपायहरू खोज्नैपर्छ।’
#पृथ्वी #तातिनु#को #नयाँ #कारण
(स्रोतः गार्जियनबाट साभार)
शिक्षा/प्रविधि
प्राध्यापकलाई अनुसन्धान कार्यमा प्रेरित गर्दै पूर्वाञ्चल विश्वविद्यालय
द नेप्लिज संवाददातामनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददातासमाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्छ : रजिस्टार कल्याणी
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares