बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छर प्रयोग गरी शरीरको सन्तुलन कायम गर्छ । तथ्यांकअनुसार नेपालमा तुलनात्मक रूपमा पश्चिमी क्षेत्रमा बढी हिउँचितुवा पाइन्छन् । डोल्पा क्षेत्रमा मात्रै हिउँचितुवाको संख्या ९० रहेको छ ।
विराटनगर — विश्वकै दुर्लभे हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयुसीएन) का अनुसार नेपालमा हिउँचितुवाको संख्या ३ सय ९७ रहेको पाइएको छ ।
विश्वमा यसको जम्मा दुई प्रतिशत बासस्थान रहेकोमा नेपालमा १० प्रतिशत हिउँचितुवा पाइएका छन् भन्ने आईयुसीएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५ सय वर्गकिलोमिटर क्षेत्रमा यसको बासस्थान रहेको छ ।
अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रस्ट’ का अनुसार हाल विश्वभर २० लाख वर्गकिलोमिटर क्षेत्रमा ३ हजार २० देखि ५ हजार ३ सय ९० संख्यामा हिउँचितुवा रहेको अनुमान गरिएको छ । हिउँचितुवा मुख्यतः नेपाल, चीन, अफगानिस्तान, भुटान, काजकिस्तान, कीर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान, उज्बेकिस्तानलगायत १२ मुलुकमा पाइन्छ ।
पछिल्लो समय नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्यांक विश्लेषण गरी हिउँचितुवाको नयाँ तथा आधिकारिक तथ्यांक सार्वजनिक गरेका छन् । तथ्यांक अनुसार चीनमा कम्तीमा २ हजार देखि २ हजार ५ सय , मङ्गोलियामा ९ सय ५३, भारतमा ७ सय १८, नेपालमा ३ सय ९७ र भुटानमा १ सय ३४ हिउँचितुवा रहेका छन् भनी विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालका पर्वतीय कार्यक्रम प्रबन्धक सरिन श्रेष्ठले जानकारी दिए ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागको नेतृत्वमा कोषलगायत संघसंस्थाको सहयोगमा विभिन्न तथ्यांक र अनुसन्धानको विश्लेषण तथा मूल्यांकन गरी उक्त तथ्यांक निकालिएको उनले बताए । हिउँचितुवा विज्ञ शशाङ्क पौडेलका अनुसार यो मूल्यांकन २०१५ देखि २०२४ सम्म सरकार, संरक्षण संस्थाहरू र अनुसन्धानकर्ताद्वारा सञ्चालित विभिन्न अध्ययनहरूमार्फत गरिएको हो ।
यो तथ्यांक क्यामेरा ट्रयाप, दिशाको नमुना तथा आनुवंशिक विश्लेषणलगायत अत्याधुनिक प्रविधि प्रयोग गरी सातवटा अध्ययन क्षेत्रबाट हिउँचितुवाको वितरण र जनसंख्या घनत्वको आधारमा निकालिएको हो । उक्त मूल्यांकनको उपलब्धिले हिउँचितुवा र तिनीहरूको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षणमा नेपालको प्रतिबद्धतालाई थप बल दिएको छ ।
यो मूल्यांकन निकुञ्ज विभागका वरिष्ठ पारिस्थितिकीविद्को नेतृत्वमा रहेको प्राविधिक टोलीद्वारा ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामअन्तर्गत ‘पपुलेसन एसेसमेन्ट अफ द वल्ड्र्स स्नो लियोपाड्र्स’ निर्देशिकाअनुसार गरिएको हो । यसमा कोषलगायत व्यक्तिगत अनुसन्धानकर्ता तथा संरक्षण संस्थाहरूको सहभागिता रहेको थियो ।
बासस्थान अतिक्रमणको चुनौती
विश्वका १२ देशमा मात्र पाइने हिउँचितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । हिउँचितुवाको बासस्थानमध्ये करिब ६० प्रतिशत निकुञ्जबाहिर रहेको र ती क्षेत्रहरू खण्डिकरण हुँदै गएकाले संरक्षणमा थप चुनौती देखिएको छ ।
साथै, द्वन्द्वजन्य बद्लाको भावना, पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, प्रविधिको अभाव, जनशक्ति र बजेटको सीमितता जस्ता कारण प्रभावकारी अनुगमनमा चुनौती आएको हो ।
हिउँचितुवा सामान्यतया समुद्री सतहदेखि ५ सय ४० मिटरदेखि ५ हजार मिटर उचाइसम्म पाइन्छ । आईयुसीएनले हिउँचितुवालाई ‘रेड लिस्ट’ अर्थात् विश्वव्यापी जोखिममा परेको प्रजातिको रूपमा सूचीबद्ध गरेको छ । बिरालो प्रजातिको हिउँचितुवाले आफ्नो लामो पुच्छर प्रयोग गरी शरीरको सन्तुलन कायम गर्छ ।
तथ्यांकअनुसार नेपालमा तुलनात्मक रूपमा पश्चिमी क्षेत्रमा बढी हिउँचितुवा पाइन्छन् । डोल्पा क्षेत्रमा मात्रै हिउँचितुवाको संख्या ९० रहेको छ । डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले हिउँचितुवाको पछिल्लो तथ्यांकलाई नेपालको संरक्षण यात्रामा ऐतिहासिक कदम भन्दै यसले न केवल स्पष्ट चित्र प्रस्तुत गरेको, तर आगामी रणनीतिक योजना निर्माणमा समेत योगदान दिने बताए । उनले सहभागीमूलक संरक्षणको आधार तयार गरेको भन्दै दीर्घकालीन अस्तित्व सुनिश्चित गर्न परिष्कृत सुरक्षात्मक उपाय आवश्यक भएको बताए ।
संरक्षणका लागि छ वर्षे कार्ययोजना
वन मन्त्रालयले हिउँचितुवाको संरक्षणलाई प्राथमिकतामा राख्दै ‘हिउँचितुवा संरक्षण कार्ययोजना (२०२४–२०३०)’ कार्यान्वयनमा ल्याएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्यहरू तय गरेको छ।
यसमा बासस्थान तथा करिडोर सुधार, मानव–हिउँचितुवा द्वन्द्व न्यूनीकरण, चोरी–सिकारी नियन्त्रण तथा सीमापार, क्षेत्रीय र अन्तर्राष्ट्रिय सहयोग विस्तारका लक्ष्य समेटिएका छन् । छ वर्षे कार्यान्वयन अवधिका लागि अनुमानित लागत १ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ रहनेछ । यसमा मानव–हिउँचितुवा द्वन्द्व न्यूनीकरणमा ३५ प्रतिशत तथा वन्यजन्तु अपराध व्यवस्थापनमा २६ प्रतिशत बजेट छुट्याइएको छ ।
योजनाले स्थानीय समुदायको सहभागिता, क्षमता निर्माण तथा नेतृत्व विकासमा समेत बल दिने स्पष्ट उल्लेख गरेको छ । हिउँचितुवा ठूला बिराला प्रजातिमध्ये कम अध्ययन गरिएको प्रजाति हो । विश्व वन्यजन्तु कोषको २०२१ को प्रकाशनअनुसार हालसम्म विश्वव्यापी क्षेत्रमा हिउँचितुवाको करिब २३ प्रतिशत भाग मात्र व्यवस्थित रूपमा अध्ययन भएको छ भने ३ प्रतिशतभन्दा कम क्षेत्रमा मात्र संख्यात्मक अनुभवजन्य तथ्यांक उपलब्ध छन् ।
शिक्षा/प्रविधि
कोशी–मधेशसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
द नेप्लिज संवाददाताआजबाट कक्षा १२ को परीक्षा , ५ लाख बढी परीक्षार्थी सहभागी
द नेप्लिज संवाददाताकोशी, मधेशसहित पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददातानेपालमा मौरीको रानु उत्पादनमा ऐतिहासिक सफलता
द नेप्लिज संवाददाताकिटमा नेपाली विद्यार्थीको मृत्युमा शिक्षा मन्त्रालयको चासो
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares