विराटनगर– हामीले जब राष्ट्रहरूको सुरक्षा संयन्त्रबारे चर्चा गर्छौं, त्यसबेला नागरिकको ज्यान पहिलो प्राथमिकता हुनुपर्छ । तर भारतको पहलगाममा मंगलबार पर्यटकहरूमाथि भएको आतंककारी आक्रमणले देखाएको छ—भारतको सत्ताको छविको रङ विश्वकै जनताको रगतले पोतिएको छ ।
यो लेख सत्यको खोजीमा आधारित हो जहाँ कुनै एक पक्ष होइन, सम्पूर्ण सुरक्षा संरचना र गुप्तचर संयन्त्रको नैतिक दिवालियापनप्रति प्रश्न उठाइएको छ । यसले नेपाली नागरिकलाई पनि चेतावनी दिन्छ—हामी कहाँ सुरक्षित छौं ?
आफ्नो भूमि बाहिर कतै जाँदा मौसमको भविष्यवाणीसँगै त्यहाँ कति सुरक्षित छौं भन्ने सोच्न जरुरी छ । आफ्नो फाइदाका लागि सूचना लुकाउन माहिर वा झूट बोल्ने कलामा निपुण भारतजस्तो देशको अति संवेदनशील क्षेत्रमा जाँदा त विचार गर्नैपर्छ । भारतकै दयामायामा चल्ने नेपाल सरकारले यो विषयमा आँसु चुहाएर मौन बस्ला, हामी भने बोल्नुपर्छ, सवाल गर्नुपर्छ ।
भारतको जम्मु–कश्मीरस्थित पर्यटन गन्तव्य पहलगाममा रमाइलो गर्न गएका पर्यटकमाथि भएको गोली प्रहारले फेरि एकपटक भारतको सुरक्षा संयन्त्र र राज्यको नियतलाई गम्भीर प्रश्नको घेरामा ल्याएको छ । घटनामा जीवित बचेकाहरूको सहयोगमा संदिग्ध आतंककारीहरूको स्केच बन्यो जसको आधारमा भारतले आश्चर्यजनक गतिमा तीन व्यक्तिको तुरुन्तै पहिचान सार्वजनिक गर्यो —आसिफ फौजी, सुलेमान शाह, र अबु तल्हा ।
उनीहरूले प्रयोग गर्दै आएको कोड नाम ‘मुसा’, ‘युनुस’ र ‘आसिफ’सम्म भारतले खुलायो । उनीहरूको कुख्यात आतंकी संगठन लश्कर–ए–तैयबासँग सम्बन्ध रहेको बतायो । तर यति छिटो पहिचान हुनु आफैँमा एउटा गम्भीर संकेत हो । के भारत सरकारसँग पहिल्यै सूचना थियो ?
निःसन्देह थियो । त्यहाँ तैनाथ सुरक्षा अधिकारीहरूले विभिन्न सञ्चारमाध्यमलाई भने अनुसार यो समूह एक महिनादेखि उक्त क्षेत्रमा सक्रिय थियो । अर्थात् भारतीय सुरक्षा फौज र यी आतंककारीबीच लुकामारी चलिरहेको थियो । यसबारेमा भारतको गृहमन्त्रालयलाई राम्रै जानकारी रहेछ ।
आतंककारीको सबैभन्दा सहज र सरल लक्ष्य पर्यटक हुन सक्छ भन्ने तथ्यलाई लुकाएर भारतले ज्यानभन्दा बढी महत्व पर्यटन प्रवद्र्धनलाई दियो । ज्यान जोखिम हुँदाहुँदै पनि आफ्ना र अन्य मुलुकका नागरिकलाई घुमफिरका लागि त्यहाँ जान दिइयो ।
आतंककारीको स्केचको आधारमा नाम र संगठनको सम्बन्ध चाँडै पुष्टि गर्नु पूर्वजानकारीकै आधार थियो । अनि यदि पूर्वजानकारी थियो भने आक्रमण रोक्न असफल हुनु गम्भीर लापरवाही होइन त ? त्यहाँ भारतको मात्र नभएर संसारभरिबाट पुग्ने पर्यटकहरूको सुरक्षा प्रबन्धबारे उसले किन सोचेन ? पूर्वचेतावनीका कदमहरू किन चालिएनन् ? कुनै देश कसरी हजारौँ नागरिकको हत्यारा बन्न पुग्छ भने यो घटना ताजा उदाहरण हो ।
घटनाको द्रुत रिपोर्टिङमा भारतीय सञ्चारमाध्यम र सरकारी वक्तव्यहरूले आक्रमणका गहिरा कारणहरूभन्दा पर्यटन उद्योगको ‘सुधारिएको छविमा आँच नपरोस्’ भन्ने मनोवृत्ति देखाए । उनीहरूले मानवीय हताहतीलाई संख्यामा मापन गरे । नेपालबाट गएको एक परिवारले होनहार छोरा गुमायो, बाँकी परिवार भागेर ज्यान जोगायो । जीवनभरिको बचत खर्चेर त्यहाँको सौन्दर्यमा हराउन गएका सदाका लागि अस्ताए ।
यति संवेदनशील घटनापछि पनि भारतले पूर्ण पारदर्शिता देखाउन सकेन । भारत–पाकिस्तान सीमावर्ती क्षेत्रमा पटक–पटक आतंकी आक्रमण हुने गरेको तथ्य सर्वविदित छ । यस्तो क्षेत्रमा पर्यटकको आवागमनसँगै जोखिम आकलन गर्दै सावधानीपूर्वक यात्राका लागि सुझाव वा एडभाइजरी जारी नगर्नु गम्भीर चुक हो । भारतले गुमराहमा राख्दा नेपालले एक र संयुक्त अरब इमिरेट्सले दुई नागरिक गुमायो ।
भारत र त्यहाँका सञ्चारमाध्यमले झूटको खेती गर्नु नयाँ कुरा होइन, तर नेपाल लगायत देशका गुप्तचर संयन्त्र पनि निष्क्रिय देखियो । हुन त हाम्रो राष्ट्रिय अनुसन्धान विभाग भनेको पार्टी कार्यकर्तालाई जागिर दिन खडा गरिएको संयन्त्र भएकोले यताबाट धेरै आशा गर्नुहुन्न । काठमाडौँकै तीनकुनेको हिंसाबारे पूर्वजानकारी नभएकाहरुसँग कश्मीरको बारेमा सवाल गर्नु हास्यास्पद नै होला ।
तर आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भन्ने भारत र उसको राज्य संयन्त्रले संभावित घटनाको पूर्वजानकारी हुँदाहुँदै पनि सूचना लुकाएर विश्व सामु अपराधी सावित भएको छ । लश्कर–ए–तैयबा पाकिस्तानको भूमि प्रयोग गरेर सञ्चालन हुँदै आएको हो भन्ने दाबी भारतले लामो समयदेखि गर्दै आएको छ । तर कुनै पनि आक्रमणमा दोष भारत–पाक झगडामा सारेर आफू दोषमुक्त हुन खोज्नु सरल तर खतरनाक राजनीति हो । आखिर पर्यटकको मृत्यु भयो भारतको भूमिभित्र, त्यसमा सुरक्षा जिम्मेवारी भारतीय राज्यकै हो ।
यदि भारत सरकार स्वयं दोषी होइन भने उसले घटनापछि तत्काल स्वतन्त्र छानबिन, अन्तर्राष्ट्रिय निरीक्षण र पीडितहरूलाई न्याय सुनिश्चित गर्ने प्रक्रिया थाल्नु पथ्र्यो । तर यहाँ सूचना नियन्त्रण, सरकारी प्रवक्ताद्वारा प्रस्तुत ‘सुरक्षित र स्थिर कश्मीर’ नाराले सत्यभन्दा भ्रम बेच्न खोजिएको देखिन्छ । यो घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका राष्ट्रवादी मिडियाले जति खोके वा चिच्याए पनि विश्वका नागरिकको विश्वास उसले गुमाएको छ ।
पछिल्ला घटनाले स्पष्ट देखाउँछ कि भारतको राष्ट्रवादपरक सुरक्षा नीति र आतंककारी नियन्त्रण रणनीति नागरिकको सुरक्षामा होइन, सत्ताको ‘छवि’ जोगाउनेमा केन्द्रित छ । पहलगाम आक्रमणमा ज्यान गुमाएका विदेशी पर्यटकहरू अन्तर्राष्ट्रिय कूटनीतिक संकटका संकेत हुन् । संसारले भारतसँग जवाफ माग्नुपर्छ किनकि सत्य यही हो—सुरक्षा प्रणाली असफल हुँदा राष्ट्र नै हत्यारा बन्छ ।
विचार/अन्तर्वार्ता
भारत र पाकिस्तानको फोहोर भूराजनीतिमा नेपालको फुइँफाइँ
जितेन्द्र साहबौद्धिक श्रमिकको संकट : सम्मान, सुरक्षाको अभाव र पलायनको विडम्बना
डा. बालकृष्ण साहओलीको दृष्टिमा नेपाल : धार्मिक पहिचानदेखि सगरमाथा संवादसम्म
जितेन्द्र साहसाधारण जीवन,असाधारण उदाहरण
जितेन्द्र साहजब ज्ञानको गहिराइ कक्षाकोठाभन्दा पर जान्छ
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares