२३ वैशाख २०८२, मङ्गलबार 06 May 2025, Tuesday

भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर यात्रा पुनः सुरु गर्दै

द नेप्लिज संवाददाता
२२ वैशाख २०८२, सोमबार

Advertisement

विराटनगर — भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको तयारी पुनः सुरु गरेको छ। पाँच वर्षको विरामपछि भारतीय विदेश मन्त्रालयले २०२५ को जूनदेखि अगस्टसम्मको तीन महिनामा पाँचवटा समूहलाई मानसरोवर यात्रा गराउने घोषणा गरेको हो।

प्रत्येक समूहमा ५० जना यात्रु रहने व्यवस्था गरिएको छ। यसअनुसार २५० जना भारतीय नागरिक नयाँ दिल्लीबाट उत्तराखण्ड हुँदै नेपाली भूमि लिपुलेक पास पार गरेर चीनको तिब्बतस्थित मानसरोवरसम्म पुग्नेछन्।

सिक्किमको नाथुला पास मार्गबाट पनि १० समूहलाई मानसरोवर पठाउने तयारी भारतले गरेको छ। उक्त यात्राको आवेदन भारतीय नागरिकहरूले मात्र दिन सक्नेछन्। डब्लुडब्लुडब्लु डट केएमवाई डट जीओभी डट आइएन वेबसाइटमार्फत आवेदन खुला गरिएको छ र अन्तिम मिति मे १३ तोकिएको छ। आवेदन कम्प्युटरद्वारा छानिने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

लिपुलेक विवादबीच यात्रा पुनः सुरु
कोभिड–१९ महामारीपछि चीनले मानसरोवर यात्रा बन्द गराएको थियो। महामारी मत्थर भइसकेपछिसमेत भारत–चीन सीमा विवादका कारण यात्रा बन्द थियो। तर २०२४ को डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको भारत–चीन विशेष प्रतिनिधि बैठकमा उक्त यात्रा पुनः सुरु गर्ने सहमति भएको थियो।

बैठकमा भारतका तर्फबाट राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीनका तर्फबाट विदेशमन्त्री वाङ यी सहभागी थिए। सहमतिअनुसार यात्राको मोडालिटी तयार गरिएको र अब औपचारिक रूपमा प्रक्रिया थालिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यसअघि पनि सन् २०१५ मा भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति गरेका थिए, जसको नेपालमा चर्को विरोध भएको थियो। सोही वर्ष नेपालले चीनलाई कूटनीतिक नोट समेत पठाएको थियो।

नेपाल सरकारको मौनता, सीमा विवाद झनै जटिल
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूमि ठहर गर्दै आइरहेको छ। सन् २०२० मा नेपाल सरकारले नयाँ नक्सा प्रकाशित गरी ती भूभाग समेटेको थियो। तर भारतले त्यसमा असहमति जनाउँदै यथास्थितिमा परिवर्तन गर्न मानेको छैन।

यसबीच नेपालसँग अनुमति नलिइ भारत र चीनले लिपुलेक प्रयोग गर्दै यात्रा पुनः सञ्चालन गर्न लागेका छन्। अन्तर्राष्ट्रिय अभ्यासअनुसार विवादित भूभाग प्रयोग गर्न सरोकारवाला सबै देशको सहमति आवश्यक हुन्छ। तर नेपाल सरकार हालसम्म यस विषयमा औपचारिक प्रतिक्रिया दिन सकेको छैन।

भारतीय योजनाअनुसार यात्रा विवरण
भारतको विदेश मन्त्रालयअनुसार यात्रा जुन ३० बाट नयाँ दिल्लीबाट सुरु हुनेछ। यात्रुहरू टनकपुर, पिथौरागढ, धार्चुला, गुन्जी, कालापानी, नभिधाङ, लिपुलेक पास, ताक्लाकोट हुँदै कैलाश मानसरोवर पुग्नेछन्। यात्राको अवधि २२ दिनको हुनेछ र प्रतिव्यक्ति शुल्क १ लाख ७४ हजार भारतीय रुपैयाँ लाग्नेछ।

यस मार्गमा पर्ने गुञ्जी, कालापानी, गरब्याङलगायतका गाउँहरू ऐतिहासिक रूपमा नेपाली भूमि हुन्। तर हाल ती भारतको प्रशासनिक नियन्त्रणमा छन्।

भारत र चीनबीच लिपुलेक प्रयोगको सहमति नेपालका लागि कूटनीतिक चुनौती बनेको छ। विगतमा पटक–पटक विरोध जनाए पनि भारत–चीन सहमतिमा नेपालको सहभागिता नहुनु नेपाल सरकारको कमजोरीका रूपमा हेरिएको छ। यो विषयमा स्पष्ट कूटनीतिक रणनीति नबनाए नेपालले आफ्नो भूमि र अधिकार जोगाउन थप गाह्रो पर्न सक्ने विश्लेषकहरूको भनाइ छ।
 

प्रकाशित : २२ वैशाख २०८२, सोमबार 21:45
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved