विराटनगर– भारतीय सेनाले बुधबार राति पाकिस्तान र पाकिस्तान अधिनस्त जम्मु–कश्मीरका ’आतंकवादी’ शिविरहरूमा लक्षित हवाइ आक्रमण गरेको छ। ‘अपरेशन सिन्दूर’ नाम दिइएको यो आक्रमणमा कुल ९ स्थानमा स्ट्राइक गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
भारतीय सेनाका अनुसार आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तोयबाका शीर्ष नेतृत्व रहेका स्थानहरूलाई निशाना बनाइएको हो। तर पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको भारतीय सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । पाकिस्तानको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको बताए।
पहलगाम हत्याकाण्डको बदलास्वरूप आक्रमण
गत २२ अप्रिलमा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमा एक नेपाली नागरिकसमेत परेका थिए। बैसरन नामक पहाडी क्षेत्रमा पर्यटकहरू घुमिरहेका बेला आक्रमणकारीहरूले धर्म सोधेर गोली प्रहार गरेको बताइएको थियो। भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले उक्त घटनाबारे अनुसन्धान गरिरहेको छ र अप्रिल २७ मा जम्मुमा मुद्दा दर्ता भएको छ।
पाकिस्तानको प्रतिक्रिया : कायरतापूर्ण आक्रमण
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतीय सेनाले पाकिस्तान प्रशासित कश्मीरका मुजफ्फराबाद, कोटली र बहावलपुरमा मध्यरातपछिको समयमा कायरतापूर्ण क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। विस्फोटपछि मुझफ्फराबाद क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको र स्थानीयहरूले तीव्र आवाज सुनेको पुष्टि समाचार संस्था रोयटर्सले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै जनाएको छ।
रक्षामन्त्री ख्वाजा आसिफले भारतले सर्वसाधारण नागरिकलाई निशाना बनाएर हवाई आक्रमण गरेको आरोप लगाएका छन्। उनले आक्रमणमा दुई मस्जिदमा क्षति पुगेको र एक बालकसहित सात जनाको मृत्यु भएको दाबी गरेका छन्।
बीबीसी उर्दूसँग कुरा गर्दै आसिफले भने, ‘भारतले आतंकवादी लुकेको स्थानमाथि आक्रमण गरेको दाबी गरिरहेको छ। तर म अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गर्छु — आएर आफैं अवलोकन गरून्, ती क्षेत्र आतंकवादीको आश्रयस्थल थिए कि सर्वसाधारणको बस्ती।’
उनका अनुसार आक्रमणमा एक महिला र एक बालक मारिएका छन्। उनले थपे, ‘मसँग हालको पूर्ण विवरण छैन तर हालसम्म पुष्टि भएका सात आक्रमणस्थलमध्ये दुई कश्मीरमा र पाँच पाकिस्तानमा छन्। ती सबै स्थानमा सर्वसाधारण प्रभावित भएका छन्।’
पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाको आक्रमणलाई सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भन्दै कडा विरोध जनाएको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतीय वायुसेनाले आफ्नो हवाई क्षेत्रभित्रैबाट पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गर्दै मुरिदके र बहावलपुर नजिक अन्तर्राष्ट्रिय सीमा पारि, साथै आजाद जम्मू–कश्मीर अन्तर्गत कोटली र मुजफ्फराबाद नजिकका नागरिक क्षेत्रहरूलाई लक्षित गर्दै आक्रमण गरेको छ।’
विज्ञप्तिमा उक्त आक्रमणलाई ‘एक अप्रत्याशित र स्पष्ट युद्ध कार्य’ भनिएको छ। मन्त्रालयले भनेको छ, ‘भारतको आक्रामक कार्यले महिला र बालबालिकासहित निर्दोष सर्वसाधारणको मृत्यु गराएको छ। यसले व्यावसायिक हवाई उडानहरूमा समेत गम्भीर सुरक्षा चुनौती सिर्जना गरेको छ।’
तनाव चुलिँदै, अन्तर्राष्ट्रिय प्रतिक्रिया
भारत–पाकिस्तानबीचको यो तनावले दुई देशबीचको सम्बन्ध झनै चिसिएको छ। सीमावर्ती क्षेत्रमा गोलीबारीका घटनाहरू पनि रिपोर्ट भएका छन् भने दुवै पक्षले कडा कूटनीतिक कदम चाल्ने चेतावनी दिएका छन्। भारतले पाकिस्तानी नागरिकहरूको १४ श्रेणीका भिसा रद्द गरेको र विभिन्न म्यादभित्र भारत छोड्न निर्देशन दिएको थियो।
घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै यो दुःखद भएको बताए। उनले दशकौँदेखि जारी भारत–पाकिस्तानको विवाद चाँडै समाधान होस् भन्ने आशा व्यक्त गरे।
मोदीको कडा सन्देश
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर ‘अपरेशन सिन्दूर’को निगरानी गरेका थिए। एएनआईका अनुसार मोदीले आक्रमण सफल भएको टिप्पणी गर्दै आतंकवादविरुद्धको लडाइँमा कुनै पनि मुलुक सुरक्षित नहुने सन्देश दिएका छन्।
हवाई आक्रमणका कारण भारतको उत्तरी क्षेत्रमा उडानहरू प्रभावित भएका छन्। इंडिगो एयरलाइन्सले श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ़, धर्मशाला र बीकानेरमा आउने–जाने उडानहरू डिले भएको जनाएको छ।
भारतको विदेश मन्त्रालयका अनुसार अपरेशन सिन्दूरको जानकारी अमेरिका, बेलायत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र रुसलाई दिइएको थियो।
सैन्य कारबाहीले स्थिति नियन्त्रणबाहिर जाने खतरा
आणविक हतियार सम्पन्न दुई देश भारत र पाकिस्तानबीचको तनाव पछिल्ला दिनमा गहिरिँदै गएको छ। भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही थालेपछि क्षेत्रीय सुरक्षामा थप जटिलता देखिएको छ।
भारतले पाकिस्तानभित्र बम आक्रमण गरेको पुष्टि गर्दै ती स्थानहरू अतिवादीहरूसँग सम्बन्धित रहेको र कारबाहीको निशाना पाकिस्तानी सैन्य संरचना नभएको बताएको छ। तर आक्रमणको स्तरले धेरैलाई चकित पारेको छ।
यता पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने चेतावनी दिएको छ। भारतले पनि परिस्थिति अनुसार थप कदम चाल्ने संकेत दिएको छ। दुवै देशले तनाव नियन्त्रणमा राख्न सक्ने दाबी गरे पनि अवस्था संवेदनशील बन्दै गएको छ।
विगतमा अमेरिका र अन्य देशहरूबीच मध्यस्थता प्रयास भए पनि अहिलेको अवस्थामा ट्रम्प प्रशासनको ध्यान अन्य विश्वव्यापी मुद्दामा केन्द्रित देखिन्छ। यस्तोमा वाशिंगटनले भारत–पाकिस्तानबीचको यो तनाव कम गर्न कस्तो भूमिका खेल्छ भन्ने विषय प्रतीक्षाको रहेको छ।
दुवै देशका नेताहरू आन्तरिक राजनीतिक दबाबबीच नागरिकलाई निर्णायक र सफल कूटनीतिक/सैन्य कदम चालेको सन्देश दिन चाहन्छन्। तर बढ्दो तनावले जुनसुकै बेला क्षेत्रीय द्वन्द्वको रूप लिन सक्ने सम्भावना उच्च छ।
विश्व/प्रवास
अष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताभारत र पाकिस्तानसँग संयम अपनाउन अपिल
द नेप्लिज संवाददातातीन वर्ष लामो वार्तापछि बेलायत र भारतबीच व्यापार सम्झौता सम्पन्न
द नेप्लिज संवाददाता'अपरेसन सिन्दूर' पछि मोदीद्वारा युरोप भ्रमण स्थगित
भारत–पाकिस्तान तनाव चरममा (बुधबार साँझ सम्मको क्रमबद्ध अपडेट)
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares