धनकुटा– हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रंगीन घरहरु, सँगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो । यो धनकुटाको पाख्रिवास नगरपालिका वडा नम्बर ४ स्थित संसारी माइस्थान सिमसार क्षेत्रको दृष्य हो । पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको संसारी माइस्थान अहिले आउने जो कोहीको मन सजिलै लोभ्याउँछ । धनकुटाको पाख्रिवास बजार नजिकै रहेका संसारी माइस्थान सिमसार क्षेत्र अहिले चर्चा र पर्यटकको रोजाइमा पर्ने गरेको छ । पाख्रिवास बजारवाट करीब ५ सय मिटर तल रहेको यो स्थानमा केही बर्ष अघिसम्म मानिसहरु दिउँसै जान पनि डराउँथे तर अहिले यो क्षेत्र पाख्रिबासको मुख्य पर्यटकिय गन्तब्य बन्न सफल भएको छ ।
केही वर्ष अघिसम्म जताजतै झाडीनै झाडी, बिच भागमा दलदल, नजिकै मृतकहरुलाई जलाउने मसान क्षेत्र रहेको थियो । त्यतिबेला बाहिरबाट आएका ब्यक्ति त टाढाको कुरा स्थानीयसमेत यो क्षेत्रमा दिउँसै जान डराउँथे । तर केही समयको अन्तरालमा यो क्षेत्रमा भएको संरचनात्मक विकासले अहिले ‘डराउने ठाउँ, रमाउने ठाउँमा परिणत’ भएको हो । दिउँसो पनि जान डराउने यो क्षेत्रमा अहिले भने पर्यटकहरु भरिभराउ देखिने गरेका छन् । स्थानिय श्याम प्रकास राई भन्छन्, ‘पहिले दिउँसो पनि जान डर लाग्ने यो क्षेत्रमा अहिले भने दिनमा एकपटक नपुगी मनै मान्दैनन् । पछिल्लो समय दैनिक पर्यटकले भरिभराउ हुने यो क्षेत्रमा पुगेर रमिता नहेरी रहनै सक्दिनँ ।’
तत्कालिन जिल्ला विकास समितिले ८५ हजार लागतमा संसारी माइस्थान सीमसारमा पानी संरक्षणका लागि ड्याम बनाउने योजना ल्याएपछि स्थानीयको ध्यानाकर्षण भयो । ड्याम निर्माणले पानी जमेपछि स्थानीयहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता महशुस भएको वर्तमान पाख्रिवास नगर प्रमुख ज्ञानबहादुर गुरुङले बताएका छन् । ‘२५ रोपनी क्षेत्रफलमा फैलिएको यो समिसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए यस क्षेत्रमा मानिसको चहलपहल बढ्ने र व्यापार व्यवसायमा वृधि हुने हामी स्थानीयवासीले अनुमान लगायौं,’ उनले भने, ‘त्यसपछि तत्कालिन जिल्ला भू संरक्षण कार्यालयको २९ लाख लगानीमा सिमसारमा पानी संरक्षणका लागि दुई वटा पोखरी निर्माण गरेपछि सुरु भयो पर्यटकीय क्षेत्र विकासको काम ।’
त्यहाँदेखि विभिन्न संघ, संस्थाको सहयोगको साथै पाख्रिवास नगरपालिकाले ११ लाख, कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५४ लाख, संघीय सरकारको पर्यटन मन्त्रालयको ९० लाख, पर्यटन विभागको ३० लाख, सहरी विकास कार्यालयको ५ लाख गरी हालसम्ममा २ करोड १९ लाख लगानीमा पर्यटकीय क्षेत्र निर्माणका लागि संरचनागत विकास गरेर पर्यटक भित्र्याउन सफल भएको प्रमुख गुरुङको भनाइ छ ।
‘हालसम्ममा यहाँ तिन वटा पोखरी निर्माण गरी बोटिङ, २७ फुट अग्लो बुद्धको मुर्ती, २५ फुट अग्लो शिवको मुर्ती, बिभिन्न चराचुरुङ्गी, जनावर, हनुमान, नागलगायतको मुर्ति, ८० फुट लामो प्रतिकात्मक विमान निर्माण गरेका छौं,’ उनले भने, ‘यस क्षेत्रभित्र अहिले पाँच ठाउँमा पिकनिक स्पोर्ट, वरीपरि फूल बगैँचा, बालउद्यान, वन्यजन्तु र विभिन्न पंक्षीहरुको प्रदर्शनी घरका साथै सिमसारभित्र पर्यटकलाई घुम्न फुटपाथ र यहाँसम्म आउन दुबैतर्फबाट सडक निर्माण गरेका छौं ।’ स्थानीयवासीले सीमसार क्षेत्र वरिपरि लगाएको चिया वगानले थप आकर्षित र मनोरम वातावरणको निर्माण भएको हो । यी संरचनाहरुले अहिले पर्यटकलाई निक्कै आकर्षित गरिरहेका छन् । घुम्न आउने ब्याक्तिहरु फरक अनुभुति लिएर यहाँबाट फर्किने गरेको स्थानीय व्यवसायी बताउँछन् ।
अन्य स्थान भन्दा यो स्थान निक्कै आकर्षक रहेको धनकुटा बहुमुखी क्याम्पसमा अध्ययनरत सुवास खनालको भनाइ छ । ‘अन्य स्थान भन्दा यो फरक र आकर्षक छ, एकै पटकमा धेरै कुराको अनुभुती गर्न पाईन्छ जस्तै चिया वगान, बोटिङ, बिभिन्न आकर्षक मुर्ति, विमानलगायत चराचुरुङ्गीको प्रदर्शनी घरले जोसुकैलाई आकर्षित गर्छ,’ उनले भने, ‘यसका साथै शान्त, फूलैफूलले सजाइएको र हरियाली मनोरम प्राकृतिक दृष्यले पर्यटकलाई लोभ्याउनु स्वभाविक हो ।’
यो सँगै रहेको कृषि अनुसन्धान केन्द्र पाख्रिवासको अवलोकनले पर्यटकहरुलाई थप आकर्षित गरेको छ । कृषि अनुसन्धान केन्द्रमा कृषि वैज्ञानिकहरुले किसानहरुका लागि विकास गरेका विभिन्न बाली, फलफूल, जडिबुटीलगायतको अनुभव यहाँ आउने पर्यटकहरुले लिन पाएका छन् । अहिले बिदाको दिन दैनिक पाँच सय बढी तथा अन्य एक सय भन्दा बढि पर्यटक आउने गरेका छन् । अब भने विमानमा सेमिनार हल, थप आकर्षक विभिन्न मुर्तिहरू बनाउने लक्ष्य रहेको संसारी माईस्थान सिमसार संरक्षण समितिका सचिव प्रेम भण्डारी बताउँछन् । त्यस्तै, पोखरीमाथि स्काई वाक पोखरीको बिचमा संसारी माई मन्दिर, निर्माण गर्ने लक्ष्य रहेको भण्डारीको भनाइ छ । ‘पर्यटनमा नयाँ नयाँ कुरा चाहिने रहेछ हामीले यति निर्माण गरौ यो वर्ष प्रतिकात्मक विमान निर्माण गरेका छौ हामी अझै नयाँपन दिन पोखरी माथि स्काई वाक निर्माण गर्ने तयारीमा छौ’ भण्डारीले बताएका छन् ।
धनकुटा जिल्लाको पर्यटन व्यवसायमा भेडेटारको स्थान उच्च छ । यहाँ पछिल्लो समय कोशी प्रदेश सरकारको सहयोगमा भइरहेको संरचनात्मक विकासले पर्यटकहरुलाई थप आकर्षित गर्न सफल भएको छ । कोरोना महामारीपछि सुस्ताएको भेडेटारको पर्यटन व्यवसाय प्रदेश सरकारको प्रदेश लगानी प्राधिकरणको सहयोगमा निर्माण भएको स्काईवाकले पुनर्जीवन प्रदान गरेको छ । कोरोना महामारीपछि भेडेटारमा पर्यटकीय गतिविधि शून्यमा नै झरेको थियो स्काईवाक निर्माण भएर सञ्चालन भएपछि पर्यटकहरुको पुनः ओइरो लागेको स्थानीय होटल सञ्चालिका शान्ती मादिनले बताइन् । ‘कोरोना महामारीपछि र स्काईवाक सुरु हुनुभन्दा अगाडि गोटागन्तीका हिसाबले मात्रै पर्यटकहरु आउने गरेका थिए,’ उनले भनिन्, ‘तर स्काईवाकको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेर सञ्चालनमा आएपछि भेडेटारमा आउने पर्यटकको संख्या ह्वात्तै बढेर गयो ।’ अहिले दैनिक सरदर तीन–चार सय र शनिबार दुई हजारसम्म पर्यटक भेडेटार घुम्न आउने गरेको उनी बताउँछिन् ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारको चाल्स पोइन्टमा प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाको समन्वयमा वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले २० करोड लागतमा स्काई वाक निर्माण गरेको छ । एघार रोपनी क्षेत्रफलमा ४१ मिटर लामो, २ मिटर चौडाइ र १८ दशमलब ५ मिटर अग्लो टावर भएको स्काई वाक निर्माण गरिएको हो । स्काई वाकमा एकपटकमा २५ जनासम्म हिड्न सकिने क्षमता रहेको छ । यहाँ हिँड्दा खुला आकाशमा हिँडेजस्तो अनुभव हुने र साहसिक पर्यटनका पारखीहरुले यसमा मज्जा लिने गरेका छन् । स्काइ वाक सञ्चालनमा आएपछि भेडेटारमा स्वदेशी तथा भारतीय पर्यटकहरूको संख्यामा उल्लेख्य वृधि भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउँछन् । कोरोनापछि थलिएको पर्यटन क्षेत्रलाई चलयमान बनाउन स्काईवाकले ठूलो सहयोग गरेको उनको भनाई छ । स्काइवाक संञ्चालनमा आएपछि नेपालसहित भारतको बिहार, पश्चीम बंगाल, सिक्कीम लगायतका स्थानबाट पर्यटक आउने गरेको राई बताउँछन् ।
धनकुटाको अर्को पर्यटकीय स्थल पटेक डाँडाबाट विश्वका अग्ला चार वटा हिमश्रृङ्खला सगरमाथा, कञ्चनजङ्घा, मकालु र चोयू हेर्न आउने पर्यटकको पनि पछिल्लो समय भीड लाग्न थालेको छ । सूर्योदयको दृष्यका साथै सिक्किमको जुपानो हिमालदेखि दोलखाको गौरिशंकर हिमालसम्मका सबै हिमचुचुरा अवलोकन गर्न सकिने पटेक डाँडा चढ्ने सिँढी निर्माण गरेर प्रदेश सरकारले पर्यटकीय गन्तव्यमा सूचिकृत गरेपछि पर्यटकको संख्यामा उल्लेख्य वृधि भएको धनकुटाका पर्यटन व्यवसायीको भनाइ छ ।
यसका साथै चिसो मौसम र स्थानीय परिकारको स्वादका साथै तोङ्वाका पार्खिहरुका लागि धनकुटाको हिले बजार पनि आकर्षणको केन्द्र बनेको छ । हिलेमा स्वदेशी तथा भारतीय पर्यटकहरुको घुइँचो लाग्न थालेपछि पछिल्लो समय होटल व्यवसाय निकै फष्टाएको स्थानीय बताउँछन् ।
पछिल्लो समय धनकुटामा पर्यटकीय संरचना निर्माणमा लगानीकर्त्ताहरु आकर्षित भएका छन् । चतरादेखि धनकुटाको छिन्ताङदेवी मन्दिरसम्म केवलकार निर्माणको लागि प्रदेश सरकारले आयोजना गरेको पहिलो लगानी सम्मेलनमा लगानीकर्त्ता र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसले धनकुटामा अर्को पर्यटकीय संरचना निर्माणको ढोका खोलिदिएको छ । छिन्ताङदेवी मन्दिर व्यवस्थापन समिति पूर्वअध्यक्ष योगेन्द्र राईले यो मन्दिरमा साँझमात्रै पूजा हुने र दिनभरि मन्दिर बन्द रहने गरेकोले यहाँ पूजा गर्न आउने पर्यटकलाई न्यूनतम एकरात बस्नै पर्ने र यसले पर्यटन व्यवसायमा ठूलो टेवा पुग्ने बताउँछन् ।
छिन्ताङदेवीकी जेठी दिदी हुम्बुङ मन्दिर रहेको संखुवासभामामा बिहान मात्रै पूजा हुने, माहिली दिदी धनकुटाको मारेकटहरेको धर्मदेवी मन्दिरमा दिउँसो मात्रै पूजा हुने र यहाँ साँझमा मात्रै पूजा हुने परम्परा रहेको छ । धनकुटा हुँदै तेह्रथुमको तीनजुरे मिल्केस्थित लालीगुराँसको राजधानी पर्यटकहरु धनकुटा हुँदै जानैपर्ने भएकाले यहाँ अपार पर्यटकीय संभावना रहेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । धनकुटाको लेगुवा झर्ना, धोदेडाँडा लगायतका पर्यटकीय स्थलहरु अझै पर्यटकीय क्षेत्रको रुपमा विकासको पर्खाईमा रहेको छ ।
कोशी प्रदेशमा बहुआयामिक पर्यटन पूर्वाधार निर्माणमा जोड
कोशी प्रदेश सरकारले पछिल्लो समय पर्यटन क्षेत्रलाई दिगो आर्थिक विकासको प्रमुख आधार स्विकार गर्दै बहुआयामिक योजना र परियोजनामार्फत पर्यटकीय पूर्वाधार निर्माण, ऐतिहासिक सम्पदाको संरक्षण तथा नयाँ गन्तव्यहरूको विकासमा लगानी केन्द्रित गरेको छ । स्वीस सरकारको सहकार्यमा मात्रै २ अर्ब ३५ करोड रुपैयाँको लगानीमा चारवटा पदमार्ग निर्माण भइरहेका छन् भने दर्जनौं सिमसार, ताल, र ऐतिहासिक स्थलहरूमा संरचना निर्माणका साथै सौन्दर्यीकरणका काम तीव्र रूपमा अघि बढाइएको छ ।
प्रदेशका प्रमुख पदमार्गहरू मुन्धुम पदमार्ग, लालीगुराँस पदमार्ग, फाल्गुनन्द पदमार्ग, र चियाबारी पदमार्ग निर्माणधिन छन् । यी पदमार्गहरू केवल ट्रेकिङका लागि मार्ग मात्रै होइनन्, ती स्थानीय संस्कृति, जातीय सम्पदा र जैविक विविधताको अनुभव दिलाउने पर्यटनको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की बताउँछन् ।
मुन्धुम पदमार्ग उदयपुर, भोजपुर, सङ्खुवासभा र खोटाङ जिल्लामा विस्तार गरिएको छ । लालीगुराँस पदमार्ग तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र उदयपुर जिल्ला समेट छ । फाल्गुनन्द पदमार्ग पाँचथर र इलाम जिल्लामा रहेको छ । चियाबारी पदमार्ग इलामको सूर्योदय नगरपालिकामा केन्द्रित छ । यी पदमार्गहरूले हिमाली, पहाडी र मध्यपहाडी भूभागलाई जोड्ने मात्र होइन, गाउँ–गाउँमा बसोबास गरिरहेका आदिवासी जनजाति समुदायहरूको जीवनशैली, संस्कार, संस्कृति र प्रकृति प्रेमको अनुभव गराउने मुख्यमन्त्री कार्कीको भनाइ छ ।
त्यस्तै प्रदेश सरकारले पर्यटकीय सम्भावना बोकेका ताल, सिमसार, गढी र पोखरीहरूको संरक्षण तथा विकासमा पनि उल्लेख्य लगानी गरेको छ । मोरङस्थित राजारानी ताल, धनकुटाको राजारानी ताल, कांगडा ताल, सुन्दरहरैचाको बेतना, हसिना सिमसारलगायतका पर्यटकीय क्षेत्रको विकासमा प्रदेश सरकारले लगानी वृधि गरेको छ ।
निजी क्षेत्रको साझेदारी, लगानी र स्थानीय समुदायको सहभागिता
प्रदेश सरकारले पर्यटन क्षेत्र र पर्यटन व्यवसाय विकासको दीगो रणनीतिमा निजी क्षेत्रको सहभागिता अभिवृधि गर्न नीतिगत तथा कानुनी सुधार थालेको छ । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले सार्वजनिक–निजी साझेदारीमार्फत पर्यटकीय पूर्वाधार निर्माणमा गति ल्याउने र सेवा प्रवाहमा गुणस्तर कायम गर्दै पर्यटक मैत्री प्रदेश विकास गर्ने बताएका छन् । प्रदेश सरकारले ल्याएका सबै योजनाहरूमा स्थानीय समुदायको सहभागिता र स्वामित्व सुनिश्चित गर्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ । आदिवासी जनजाति, महिला, युवा तथा विपन्न समुदायलाई पर्यटनसँग जोड्ने गरी सघन तालिम, उद्यम प्रवद्र्धन र अनुदान कार्यक्रम ल्याइने प्रदेश सरकारको नीति रहेको मन्त्री मण्डल बताउँछन् ।
पर्यटकमैत्री प्रदेश विकासमा जोड, पर्यटन व्यवसायी उत्साहित
कोशी प्रदेश सरकारले लालीगुराँसको राजधानी तेह्रथुमको तीनजुरेमिल्केस्थित आरआर गार्डेनमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको उपस्थितिमा २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेर पूर्वाधार विकासका साथै पर्यटकमैत्री वातावरण निर्माणका लागि काम अघि बढाएको छ । प्रदेश सरकारले भारतीय पर्यटक बोकेर आउने सवारीमा भन्सार बिन्दुमा नै स्टिकर टाँस गरेपछि बीच बाटोमा प्रहरीले कुनै किसिमको दुःख दिन नपाउने व्यवस्था गरेको छ ।
पर्यटकहरूलाई सहजीकरण गर्न स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा पर्यटन सूचना तथा सहायता केन्द्रहरू स्थापना गर्ने कार्यलाई समेत तिव्रता दिइएको छ । उक्त केन्द्रहरूले स्थानीय गन्तव्यहरूको जानकारी, सुरक्षित यात्रा, आवश्यक सम्पर्क सूत्र तथा सेवा सुविधा उपलब्ध गराउने छन् । पर्यटन क्षेत्रको विस्तारसँगै १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने योजना समेत प्रदेश सरकारले सार्वजनिक गरेको छ ।
यसले पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोनाकाल यता पर्यटन व्यवसाय पुर्ववत अवस्थामा फर्कन नसक्दा धेरै व्यवसायी पलायन हुने अवस्थामा प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर काम अघि बढाएपछि पर्यटन व्यवसायी उत्साहित भएका हुन् । होटल व्यवसायी संघ कोशीका अध्यक्ष राजन श्रेष्ठका अनुसार अब प्रदेशले पर्यटनको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । ‘अहिलेसम्म निजी क्षेत्रले मात्रै पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्दै आएकोमा अब प्रदेश सरकारसमेत अघि बढेकाले पर्यटनको क्षेत्रमा आशा जगाएको छ,’ उनले भने, ‘प्रदेश सरकारले भारतीय पर्यटकलाई सुबिधा प्रदान गर्नुका साथै पर्यटन पूर्वाधारको विकासमा केन्द्रित हुने नीति ल्याएकोले पर्यटन क्षेत्र कोशीमा फस्टाउने वातावरण निर्माण भएको छ ।’ यसले कोशीमा पर्यटन व्यवसायीहरुले पाँच तारे होटलमा समेत लगानी थपिरहेको उनको भनाइ छ ।
विश्ककै होचो अरुण उपत्यका देखि विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा पर्छ । त्यस्तै विश्वका १० अग्ला हिमालमध्ये ६ वटा कोशी प्रदेशमै छन् । यी बाहेक चराको राजधानी कोशी टप्पु, रेडपाण्डा, हिउँचितुवालगायतका दुर्लभ जनावरका साथै धार्मिक, जातीय एवं सांस्कृतिक विविधता, मनोरम प्राकृतिक, जैविक, वातवरण, तराई, पहाड र हिमाल समेटिएको यो प्रदेश पर्यटन व्यवसायका लागि स्वर्ग भएको पर्यटन व्यवसायीहरुको भनाई छ । हिन्दु, बौद्ध, किरातको आस्थाको केन्द्र हेलेसी महादेव, पाथिभरा, धर्तिको पहिलो भगवान बराह क्षेत्र, रामधुनीलगायतका मन्दिर, गुम्बा, मस्जिदले धार्मिक पर्यटनको अपार सम्भाावना कोशी प्रदेशमा रहेको छ । यसका लागि सहज यातायात सुबिधा, सुरक्षित माहोल र पर्यटनमैत्री वातावरण बनाउँदै पर्यटन क्षेत्रको विकास र विस्तारले समृद्ध कोशी प्रदेश निर्माण सफल हुने सरकारी लक्ष्य छ । (प्रदेश सरकारको लेखनवृतिबाट)
अर्थ/वाणिज्य
निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्छ : योजना आयोगका उपाध्यक्ष अधिकारी
द नेप्लिज संवाददाताउखु किसानको अनुदान रोकिनुमा विचौलियाको प्रभाव त होइन ? : शेखर कोइराला
द नेप्लिज संवाददाताकाठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा
द नेप्लिज संवाददाताकोशी प्रदेशमा बजेटः कुन वर्षमा कति बजेट, कति आमदानी र कति भयो खर्च ?
द नेप्लिज संवाददातामौद्रिक नीतिमा पूर्वका उद्योगी व्यवसायीको सुझावः मुल्यांकनको ७० प्रतिशत घरजग्गा कर्जाको व्यवस्था हुनुपर्छ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares