समाचार प्रभाव
मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजय कुमार यादवसम्म प्रमुख मिश्रले मोटो कमिशन रकम बुझाएकोले लक्ष्य अनुसार बिरुवा उत्पादन नहुँदा पनि ढुक्क देखिएको वन कर्मचारीहरुको भनाइ छ ।
सिरहा । मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवको गृह जिल्लामा बिरुवा उत्पादन नै नगरी भुक्तानी लिएको समाचार प्रकाशित भएपछि डिभिजन वन कार्यालय लहान, सिरहाले नर्सरीहरुमा उत्पादित बिरुवाको ग्रेडिङ गरिरहेको छ । सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाले नर्सरीमा भएको बिरुवा ग्रेडिङ गरी खाली पोलिथिनमा बिरुवा रोपिरहेको हो ।
सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका प्रमुख सहायक वन अधिकृत आवेद हुसेनले बिरुवा उत्पादनको भूक्तानी गत आर्थिक वर्षमा लिएर फरफारक गरेको तर समाचार प्रकाशित भएपछि चालु आर्थिक वर्षमा ग्रेडिङ थालेको छ । उनले स्थापना गरेको नर्सरीको बेडमा बिरुवाबिनाको खाली पोलिथिन रहेको तस्बिरसहितको समाचार प्रकाशित भएपछि खाली पोलिथिन हटाएर बिरुवाको ग्रेडिङ थालेको हो ।
सहायक वन अधिकृत हुसेनले ३५ हजार बिरुवा उत्पादन गरेर डिभिजन वन कार्यालय लहान, सिरहाबाट कमिशनको बलमा ८० हजार बिरुवाको भूक्तानी लिएको छ । उनले उक्त बिरुवा उत्पादनको भुक्तानी लिएर फरफारक गरिसकेर समाचार प्रकाशित भएपछि खाली पोलिथिन हटाएर ग्रडिङ थालेको हो । डिभिजन वन कार्यालय लहानले सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका प्रमुख सहायक वन अधिकृत आवेद हुसेनलाई आर्थिक वर्ष २०८१र०८२ मा ४० हजार एक वर्षे र ४० हजार दुई वर्षे गरी ८० हजार बिरुवा उत्पादन कार्यक्रम दिएको हो ।
सहायक वन अधिकृत हुसेनले खाली पोलिथिनमा अहिले धमाधम बाहिरबाट खरिद गरेर ल्याएको निमको बिरुवा रोपिरहेको छ । २० रुपैयाँ प्रति बिरुवा उत्पादनको भुक्तानी लिएका हुसेनले निजी नर्सरीबाट १ रुपैयाँ प्रति बिरुवाको दरले खरिद गरेर निमको बिरुवा खाली पोलिथिनमा रोपिरहेको डिभिजन वन कार्यालय स्रोतले जनाएको छ ।
सहायक वन अधिकृत हुसेनले चोहर्बास्थित सव डिभिजन वन कार्यालय परिसरमा २५ वटा नर्सरी बेडमा र उक्त कार्यालयको उत्तरपट्टी ८ वटा नर्सरी बेडमा बिरुवा उत्पादन गरेको छ । कार्यालय परिसरको नर्सरी बेड एक मिटर चौडाई र करिब २० मिटर लम्बाई र उत्तरपट्टीको नर्सरीमा एक मिटर चौडाई र १० मिटर लम्बाईको बेड रहेको देखियो । २० मिटर लम्बाई भएको बेडमा एक वर्षे बिरुवा अधिकतम २३ सय र दुई वर्षे बिरुवा १८ सय उत्पादन क्षमता रहेको वन प्राविधिकको भनाइ छ ।
यो पनि : वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
दुबै नर्सरीमा गरी अधिकतम ६५ हजार बिरुवा उत्पादन क्षमता रहेको तर त्यसमा पनि अधिकतम ५५ प्रतिशत मात्रै बिरुवा रहेको देखियो । सहायक वन अधिकृत हुसेनले दुबै नर्सरीमा अधिकतम ३५ हजार बिरुवा उत्पादन गरेको वन प्राविधिकको भनाइ छ । तर ती बिरुवाहरु पनि गुणस्तरी नरहेको देखियो । उनले उत्पादन गरेको एक वर्षे बिरुवा बितरण गरिसक्नु पर्ने वा वृक्षारोपण गरिसक्नु पर्नेमा अहिले बल्ल ग्रेडिङ थालेको प्रत्यक्षदर्शीको भनाइ छ । उनले उत्पादन गरेको बिरुवा गुणस्तरीय नभएकोले बितरण र वृक्षारोपण नगरिएको डिभिजन वन कार्यालय स्रोतले जनाएको छ ।
सहायक वन अधिकृत हुसेनले नै घुर्मी खोलाको नदी उकास जग्गामा वृक्षारोपणका लागि १२ लाख ५० हजार बजेट हात पारेका छन् । तर उनले हालसम्म वृक्षारोपण गरेको छैन । वृक्षारोपण क्षेत्रमा फेन्सिङ (तारवारले घेराबेरा) र वृक्षारोपणका लागि खाल्डोसमेत नखनेको प्रत्यक्षदर्शीले बताए । सहायक वन अधिकृत हुसेनले उत्पादन गरेको बिरुवा नै वृक्षारोपणका लागि उपयुक्त नभएकाले समयमा वृक्षारोपण हुन नसकेको डिभिजन वन कार्यालयका प्राविधिकको भनाइ छ । हुसेनले अहिले वृक्षारोपण गरेको उनले बताए ।
सहायक वन अधिकृत हुसेनले उक्त नदी उकास जग्गामा गुणस्तरीय बिरुवा रोपेको देखिएन । उनले एक फिट अग्लो बिरुवा रोप्नुपर्नेमा ६ इञ्चको बिरुवा रोपेर बजेट पचाउन खोजेको भन्दै वन कर्मचारीहरुले नै बिरोध जनाएका छन् । वृक्षारोपणका लागि न्यूनतम एक फिट अग्लो एक वर्षे बिरुवा रोप्नु पर्ने मापदण्ड रहेको वन प्राविधिकको भनाइ छ ।
एक वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा १० रुपैयाँ र दुई वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा २० रुपैयाँ बजेट रहेको छ । यो हिसाबले ४० हजार एक वर्षे बिरुवा उत्पादनका लागि ४ लाख र ४० हजार दुई वर्षे बिरुवा उत्पादनका लागि ८ लाख बजेट सहायक वन अधिकृत हुसेनलाई डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले कमिशनको बलमा भुक्तानी दिएको छ ।
वन प्राविधिकका अनुसार हुसेनले अधिकतम ५ लाख मूल्य बराबरको बिरुवा उत्पादन गरेर १२ लाख भुक्तानी लिएका छन् । वन प्राविधिकको भनाइ अनुसार सहायक वन अधिकृत हुसेनले बिरुवा नै उत्पादन नगरी ७ लाख रुपैयाँ सित्तैमा भुक्तानी लिएका हुन् ।
यस्तै, लक्ष्य अनुसार बिरुवा नै उत्पादन नगरी भुक्तानी लिएका जिल्ला सिरहाका डिभिजन वन कार्यालय लहानका योजना शाखा प्रमुख राधेश्याम चौधरीले पनि खाली पोलिथिनमा हतार हतार बिरुवा रोपेका छन् । असार १५ गतेभित्रै लक्ष्य अनुसारको बिरुवा उत्पादन गरेको भन्दै भुक्तानी लिएर फरफारक गराएका उनले समाचार प्रकाशित भएपछि हतार हतार खाली पोलिथिनमा बिरुवा रोपेका हुन् ।
यो पनि : वनमन्त्री यादवको गृह जिल्ला : बिरुवा नै उत्पादन नगरी योजना शाखा प्रमुख चौधरी लिए भुक्तानी
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारीसमेत रहेका चौधरीले समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत १७ लाख ६० हजार लागतमा ८० हजार दुई वर्षे बिरुवा उत्पादन गर्ने कार्यक्रम भगवानपुरमा सञ्चालन गरेको छ । प्रति बिरुवा २० रुपैयाँ लागतमा उत्पादनका लागि प्रदेश सरकारले खर्च गरेको छ । तर बिरुवा नै उत्पादन नगरी चौधरीले भुक्तानी लिएको देखियो । चौधरीले लक्ष्यको ५० प्रतिशत मात्रै बिरुवा उत्पादन गरेर शतप्रतिशत भुत्तानी लिएको कार्यालय स्रोतले जनाएको छ ।
चौधरीले भगवानपुर नर्सरीमा ८० हजार बिरुवा उत्पादन गर्नेमा ४० हजार बिरुवा समेत उत्पादन गरेको छैन । भगवानपुर नर्सरीमा ८ वटा नर्सरी बेडमा खाली पोलिथिन मात्रै रहेको थियो । भगवानपुर नर्सरीका नाइकेले पत्रकारहरु नर्सरी हेर्न आउन थालेपछि खाली पोलिथिनमा अहिले बिरुवा रोप्न थालेको बताएका थिए ।
सहायक वन अधिकृतद्वय हुसेन र चौधरीले उत्पादन गरेको बिरुवाको डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र कुमार मिश्रले अनुगमन गरेर जाँच पास गरेपछि मात्रै बजेट निकासा हुनुपर्ने व्यवस्था छ । तर प्रमुख मिश्रले अनुगमन नै नगरी जाँच पास गरेर भुक्तानी दिएको पाइयो ।
सहायक वन अधिकृतद्वय हुसेन र चौधरीले लक्ष्य अनुसा समयमा बिरुवा उत्पादन नगरेकोले बजेट काट्नु पर्नेमा कमिशन लिएर जाँच पास गरिदिएको वन कर्मचारीहरु नै बताउँछन् । प्रमुख मिश्रले कमिशन लिएर जाँच पास नगरिदिएको भए अहिले सहायक वन अधिकृतद्वय हुसेन र चौधरीलाई तत्काल कारवाहीको दायरामा ल्याएर छानबिन सुरु भइसकेको हुनुपर्ने वन कर्मचारीहरुको भनाइ छ । तर चौधरी र हुसेनले लक्ष्य अनुसारको बिरुवा नै उत्पादन नगरी भुक्तानी हुनुले नै प्रमुख मिश्रको कमिशनको खेल उजागर भएको वन कर्मचारीहरुको आरोप छ ।
डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र कुमार मिश्रसँग यतिखेर किन नर्सरीमा ग्रेडिङ र खाली पोलिथिनमा बिरुवा रोप्ने काम भइरहेको बारे फोन सम्पर्क गरेर सोध्दा उनले नर्सरीमा बिरुवाको हेरचाह गर्ने नियमित कार्य भएको प्रतिक्रिया दिएका हुन् । कुनैपनि नर्सरीमा लक्ष्यभन्दा कम बिरुवा नभएको टेलिफोन संवादमा उनले दावी गरेपछि भिडियो र फोटो पठाइदिउँ भन्दै जवाफ फर्काएपछि प्रमुख मिश्र मौन भएका थिए । उनले पछि पत्रकारहरुले यो सल्लाहलाई सकारात्मक रुपमा लिएको भन्दै पञ्छिए ।
मधेस प्रदेशका वन तथा वातावरणमन्त्री संजय कुमार यादवसम्म प्रमुख मिश्रले मोटो कमिशन रकम बुझाएकोले लक्ष्य अनुसार बिरुवा उत्पादन नहुँदा पनि ढुक्क देखिएको वन कर्मचारीहरुको भनाइ छ । मन्त्री यादवले पनि एक पटक जिल्लामा आएर एक/दुई वटा नर्सरीमा अनुगमन गरे जस्तो गरेर फर्किएको र त्यसपछि एउटा पत्रसम्म मन्त्रालयले नकाटेको बाट पनि कमिशनको खेल उजागर भएको वन कर्मचारीहरुको आरोप छ ।
अर्थ/वाणिज्य
प्रदेशसभाबाट कोशी प्रदेश सरकारले आउँदो वर्षका लागि ल्याएको बजेट पारित
द नेप्लिज संवाददातासञ्चारकर्मी सहकारीद्वारा चार पुरस्कारका लागि नाम छनोट, असार २७ गते पुरस्कृत गरिने
द नेप्लिज संवाददातामौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
द नेप्लिज संवाददातारंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै
द नेप्लिज संवाददातावनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares