२६ वैशाख २०८२, शुक्रबार 09 May 2025, Friday

भारत–पाक तनावबीच अमेरिका तटस्थ

द नेप्लिज संवाददाता
२६ वैशाख २०८२, शुक्रबार

Advertisement

विराटनगर– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीचको बढ्दो तनावका बीच अमेरिका कुनै पनि हालतमा युद्धमा संलग्न नहुने स्पष्ट पारेका छन्।‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न कूटनीतिक प्रयासमार्फत प्रोत्साहित गर्नु हो, तर हामी युद्धमा जाने छैनौँ। त्यो हाम्रो काम होइन,’ उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भने।

उनले कूटनीतिक पहलमार्फत युद्ध टार्ने प्रयास भने निरन्तर जारी राखिने बताएका छन्। भान्सले भारत–पाकिस्तानबीचको वर्तमान तनाव ठूलो क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहोओस् भन्ने आशा व्यक्त गरेका छन्।

उक्त अन्तर्वार्ताका क्रममा उनले खुलासा गरे कि अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणको समय उनी श्रीमती र सन्तानसँग भारत भ्रमणमा थिए।

त्यही दिन भारतको रक्षा मन्त्रालयले पाकिस्तानबाट जम्मू, पठानकोट र उधमपुरमा रहेका भारतीय सैन्य अड्डाहरूमा क्षेप्यास्त्र आक्रमण प्रयास भएको पुष्टि गरेको थियो। मन्त्रालयका अनुसार बिहीबार राति भएका आक्रमणहरू भारतीय वायु रक्षा प्रणालीले सफलतापूर्वक विफल पारेको हो। घटनामा कुनै पनि जनधनको क्षति नभएको भारतले जनाएको छ।

भारतले आफ्नो सार्वभौमसत्ता र नागरिकको सुरक्षा गर्न कडा प्रतिबद्धता व्यक्त गरेको छ। ‘यी सबै क्षेप्यास्त्रहरूलाई सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको छ,’ भारतीय रक्षा मन्त्रालयले भनेको छ।

यता पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतका ती आरोपलाई खारेज गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हामी यसलाई स्पष्ट रूपमा अस्वीकार्छौँ। हालसम्म पाकिस्तानले कुनै पनि आक्रमण गरेको छैन। जब पाकिस्तानले आक्रमण गर्छ, तब सबैलाई थाहा हुनेछ।’बीबीसीका अनुसार जम्मू कश्मीरमा विस्फोट र ब्ल्याकआउटको रिपोर्ट सार्वजनिक भएको केही समयमै आसिफले उक्त प्रतिक्रिया दिएका थिए।

भारतले पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक उडानका लागि बन्द गरेको छ। ती विमानस्थलमा एयर मार्शल तैनाथ गरिएको बीबीसीले जनाएको छ।

भारतको नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएस) ले देशभरका सबै विमानस्थल र एयरलाइन्सहरूलाई सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ।निर्देशनअनुसार अब सबै यात्रुहरूको सुरक्षा जाँच अनिवार्य गरिनेछ भने टर्मिनल भवनभित्र आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ।

एयर इन्डियाले यात्रुहरूलाई आन्तरिक उडानका लागि कम्तीमा तीन घण्टा अगाडि विमानस्थलमा उपस्थित हुन आग्रह गरेको छ। साथै ७५ मिनेटअघि चेक–इन बन्द हुने जानकारी दिइएको छ।सैन्य तनाव र सुरक्षा चुनौतीबीच भारतले देशव्यापी उड्डयन सुरक्षामा कडाइ गरेसँगै यात्रुहरूलाई उच्च सतर्कता अपनाउन अपील गरिएको छ।
 

प्रकाशित : २६ वैशाख २०८२, शुक्रबार 06:19
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved