१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

अरुण तेस्रोबाट उत्पादित २०० मेगावाट विद्युत बिक्री, बाँकी ५०० मेगावाटको बजार अझै खुला

द नेप्लिज संवाददाता
११ जेठ २०८२, आइतबार

विराटनगर– भारत सरकारको स्वामित्वमा रहेको सतलज जलविद्युत् निगम लिमिटेड (एसजेबीएन)ले नेपालमा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतमध्ये २०० मेगावाट बिजुली दामोदर भ्याली कर्पोरेसन (डीभीसी)लाई बिक्री गर्ने भएको छ।

भारतीय सञ्चार माध्यम दी इकोनोमिक टाइम्सका अनुसार विद्युत् बिक्रीसम्बन्धी सम्झौतामा एसजेबीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ता र डीभीसीका कार्यकारी निर्देशक सञ्जीव श्रीवास्तवको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

अरुण तेस्रो आयोजना एसजेबीएनको सहायक कम्पनी ‘एसजेबीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी’मार्फत निर्माण भइरहेको हो। हालसम्म आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। आयोजनाबाट आगामी तीन वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ।

एक खर्ब ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा जलविद्युत् पूर्वाधार निर्माणमा एक खर्ब चार अर्ब र प्रसारण लाइन निर्माणमा ४० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

नेपालतर्फ निर्माण भइरहेको २१७ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन भारतको मुजफ्फरपुरमा पुगेर जोडिनेछ। आयोजना सञ्चालनमा आएको २५ वर्षपछि नेपालले पूर्ण स्वामित्व प्राप्त गर्ने व्यवस्था सन् २०१४ मा भएको आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख छ।

यसै पीडीए अनुसार नेपालले आयोजनाबाट २१.९ प्रतिशत अर्थात् १९७ मेगावाट विद्युत निःशुल्क प्राप्त गर्नेछ। एसजेबीएनले ढल्केबरमा रहेको सबस्टेसनमार्फत उक्त विद्युत नेपाललाई उपलब्ध गराउनेछ।

हाल २०० मेगावाट विद्युतको बिक्री सम्झौता भइसकेको छ भने बाँकी ५०० मेगावाटको बजार अझै सुनिश्चित हुन बाँकी रहेको एसजेबीएनले जनाएको छ।

२०८० जेठ २२ गते आयोजनाको १२ किलोमिटर सुरुङको ब्रेकथ्रु गरिएको थियो, जसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयं सहभागी थिए। परियोजनाको शिलान्यास २०७५ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए।

संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिन्दामा रहेको बाँधबाट चिचिला गाउँपालिका–३, दिदिङसम्म १२ किलोमिटर लामो सुरुङ निर्माण गरी पानी पथान्तरण गरिनेछ।

परियोजना व्यावसायिक उत्पादनमा गएपछि एक वर्षभित्र प्रभावित क्षेत्रका स्थानीयलाई एक अर्ब ६० करोड रुपैयाँबराबरको सेयर दिने व्यवस्था गरिएको छ।

अर्धजलाशययुक्त (पीआरओआर) यो आयोजनाबाट वार्षिक तीन अर्ब ४६ करोड ६० लाख युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। आयोजनाको मुख्य सुरुङ फ्याक्सिन्दाको आमराङदेखि दिदिङसम्म ११.८३ किलोमिटर लामो छ।

एसजेबीएनले अरुण नदीमा थप आयोजनाहरूको पनि तयारी थालेको छ। हाल ६६९ मेगावाट क्षमताको तल्लो अरुण आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ, जसको लागत ७६ अर्ब ७४ करोड रुपैयाँ (भारु ४७ अर्ब ९६ करोड ७८ लाख) अनुमान गरिएको छ।

डीपीआर अनुसार तल्लो अरुण आयोजनाको प्रतिमेगावाट लागत ११ करोड ३० लाख रुपैयाँ पर्दछ, जसले गर्दा यो आयोजना लागतको हिसाबले किफायती मानिएको छ।त्यस्तै एसजेबीएनले नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारीमा ४९२ मेगावाट क्षमताको अरुण–४ आयोजना निर्माण गर्ने योजना पनि अघि सारेको छ।

#अरुण #तेस्रो #आयोजना

 

प्रकाशित : ११ जेठ २०८२, आइतबार 06:12
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved