विराटनगर- नौ महिना अन्तरिक्षमा बिताएपछि नासा अन्तरिक्षयात्री बुच विलमोर र सुनिता विलियम्स अन्ततः पृथ्वीमा फर्किएका छन्।
उनीहरू सवार स्पेसएक्स क्याप्सुलले पृथ्वीको वायुमण्डलबाट छिटो र आगो झैँ दन्कँदै पुनःप्रवेश गर्यो। त्यसपछि चारवटा प्यारासुट खुलेर क्याप्सुललाई फ्लोरिडाको तट नजिकै समुद्रमा सहज अवतरण गरायो।
उक्त यान वरिपरि डल्फिनहरूको समूह घुमिरहेको थियो । पुनः उद्धार गर्ने जहाजले क्याप्सुललाई पानीबाट बाहिर निकाल्नेबित्तिकै अन्तरिक्षयात्रीहरू खुसी मुद्रामा मुस्कुराउँदै हात हल्लाए। उनीहरूसँगै सहयात्री निक हेग र रूसी अन्तरिक्षयात्री अलेक्जान्द्र गोर्बुनोभ पनि थिए।
नासा वाणिज्यिक अन्तरिक्षयात्रा कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले पत्रकार सम्मेलनमा भने, 'यात्रीहरू एकदम राम्रो अवस्थामा छन् ।'
यो अभियान आठ दिनको लागि मात्रै हुने अपेक्षा गरिएको थियो। तर, उनीहरू प्रयोग गरिरहेको अन्तरिक्ष यानमा देखिएको प्राविधिक समस्याका कारण उनीहरूको बसाइ नौ महिनासम्म लम्बियो। नासाका स्पेस अपरेसन्स मिसन निर्देशक जोएल मोन्टाल्बानोले भने, 'अन्ततः क्रू-९ घर फर्किएको छ। यो एकदम सुन्दर अवतरण रह्यो।' उनले अन्तरिक्षयात्रीहरूको धैर्यता र अनुकूलन क्षमताको प्रशंसा गर्दै स्पेसएक्सलाई 'उत्कृष्ट साझेदार' भने।
उनीहरूको पृथ्वी फर्कने यात्रा १७ घण्टा लामो रह्यो। अन्तरिक्षमा लामो समय बिताएका कारण, उनीहरूलाई स्ट्रेचरमा सारियो, जुन नियमित प्रक्रिया हो। अब उनीहरूको स्वास्थ्य परीक्षण गरिनेछ, त्यसपछि परिवारसँग पुनर्मिलन हुनेछ।
लामो अभियान, अनपेक्षित बसाइँ
ब्रिटेनकी पहिलो अन्तरिक्षयात्री हेलेन शर्मनले भनिन्, 'सबैभन्दा ठूलो कुरा त परिवार र साथीभाइसँग भेट्नु नै हुनेछ। उनीहरू जससँग क्रिसमस मनाउने आशा गरेका थिए, ती सबैलाई अब भेट्न सक्छन्।' बुच र सुनिताको यात्रा जुन २०२४ मा सुरु भएको थियो। उनीहरू बोइङ कम्पनीले विकास गरेको नयाँ 'स्टारलाइनर' अन्तरिक्षयानको पहिलो मानवसहितको परीक्षण उडानमा थिए।
तर, यानमा विभिन्न प्राविधिक समस्या देखिएपछि त्यसलाई अन्तरिक्षबाट यात्रुहरू ल्याउन अयोग्य घोषित गरियो। अन्ततः उक्त यानलाई सेप्टेम्बरको सुरुमा यात्रुविहीन पृथ्वी फर्काइयो।
यसले गर्दा बुच र सुनिताका लागि नयाँ अन्तरिक्षयानको व्यवस्था गर्नुपर्ने भयो। नासाले उनीहरूको फर्काइका लागि सेप्टेम्बरको अन्त्यतिर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आएको स्पेसएक्सको अर्को यान प्रयोग गर्ने निर्णय गर्यो।
त्यस यानमा चारजना यात्रु जान सक्ने भए पनि दुई जना मात्रै सवार थिए। बाँकी दुई सिट बुच र सुनिताका लागि राखिएको थियो। तर, यसको मिशन नै छ महिनाको थियो, जसले गर्दा उनीहरूको अन्तरिक्ष बसाइ थप लम्बियो। तर, नासाले उनीहरूलाई 'अलपत्र परेका' नभनीकन, उनीहरूका लागि जहिल्यै आकस्मिक उद्धारको व्यवस्था थियो भनेको छ।
अन्तरिक्षमा अनुभव, पृथ्वीमा पुनःसमायोजन
नौ महिना अन्तरिक्षमा बिताउँदा उनीहरूले विभिन्न वैज्ञानिक परीक्षणहरू गरे र बाह्य स्पेसवाकसमेत पूरा गरे । सुनिता विलियम्सले महिला अन्तरिक्षयात्रीहरूबीच सबैभन्दा धेरै समय स्पेसवाक गर्ने कीर्तिमान कायम गरिन्।
क्रिसमसमा उनीहरूले सान्टाको टोपी र हरिणका सिङ लगाएर पृथ्वीवासीलाई चाडपर्वको शुभकामना पठाए। अब उनीहरूलाई टेक्सासस्थित जोनसन स्पेस सेन्टरमा लगेर विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ।
लामो अन्तरिक्ष यात्राले शरीरमा असर पार्छ। हड्डीको घनत्व कम हुन्छ, मांसपेशी कमजोर हुन्छ र रक्तसञ्चार प्रणालीमा परिवर्तन आउँछ। त्यसैले गुरुत्वाकर्षणयुक्त वातावरणमा पुनः अभ्यस्त हुन उनीहरूलाई विशेष व्यायाम तालिम दिइनेछ।
ब्रिटिश अन्तरिक्षयात्री टिम पिकले भने, 'शरीरलाई फेरि पृथ्वीको गुरुत्वाकर्षणमा फर्काउन केही दिन लाग्छ। सुरुका दुई-तीन दिन निकै गाह्रो हुन सक्छ।' तर अन्तरिक्षमा रहँदा नै यी सबै कुराका लागि मानसिक रूपमा तयार भएका उनीहरू आफ्नो घर फर्कने उत्साहमा छन्।
सीबीएसलाई दिएको अन्तर्वार्तामा सुनीले भनेकी थिइन्, 'म मेरो परिवार, मेरा कुकुरहरू भेट्न र समुद्रमा हाम फाल्न आतुर छु। फेरि पृथ्वीमा फर्कन पाउनु अति रमाइलो हुनेछ।'
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares