विराटनगर– तराई–मधेसमा गर्मी चर्किँदै छ। मौसमसँगै राजनीतिको तापक्रम पनि बढ्दो छ। ‘प्रचण्ड गर्मी’ भन्ने शब्द प्रयोग गर्नुले अब सामान्य मौसमीय अर्थ मात्र राख्दैन, यसले नेपालको सन्दर्भमा एउटा राजनीतिक अनुहार पनि झल्काउँछ—पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।
देशको राजनीतिमा धेरैजसो सन्दर्भमा निर्णायक भूमिका खेल्ने प्रचण्ड पछिल्ला दिनमा फेरि चर्चामा छन्। तराई–मधेस केन्द्रित अभियान, प्रधानमन्त्री बन्ने रहर, गठबन्धनको सम्भावना र समय–समयमा बदलिंदो अभिव्यक्तिले उनको राजनीतिक यात्रालाई झन् जटिल बनाइरहेको छ। एकातर्फ उनी २०८४ को निर्वाचनसम्म प्रतिपक्षमै रहने, सडकमा जनता माझ काम गर्ने अठोट दोहोर्याउँछन् भने अर्कोतर्फ सम्भावित सत्ता समीकरणमा सक्रिय भूमिका खेल्न खोजिरहेको देखिन्छन् ।
उनका पछिल्ला अभिव्यक्तिहरू हेर्ने हो भने उनी गठबन्धनको खेलमा ‘निष्क्रिय’ रहे जस्तो देखिन्छन् । तर व्यावहारिक रूपमा उनको सक्रिय संलग्नता प्रष्ट हुन्छ। कांग्रेस र एमालेबीच राजनीतिक नियुक्तिमा आएको खटपटका बीच प्रचण्डले नयाँ गठबन्धनको प्रस्तावसहित सत्ता समीकरण बदल्ने संकेत दिए।
यो प्रस्ताव लामो समय टिकेन, तर त्यसले हालको सत्ता गठबन्धनभित्र संशय र तनाव पैदा गर्यो। नियालेर हेर्दा उनको हाउभाउ र बोलीबीच तालमेल देखिँदैन । प्रचण्ड स्वयं अलमलमा देखिन्छन् । भन्न चाहेको एउटा, भनिरहेको अर्को जस्तो उनको अवस्था छ ।नेपाली राजनीतिमा परिवारवाद र आसेपासेवादको परम्परालाई प्रचण्डले पनि निरन्तर दिएका छन् । यता तिरको दबाबले पनि उनलाई अन्योलमा पारेको हुनसक्छ ।
तर यथार्थ के हो भने कांग्रेस–एमालेबीच मतभेद अन्ततः मिल्दै गयो। देउवा–प्रचण्ड संवाद पनि निष्कर्षविहीन नै रह्यो। तैपनि त्यसपछि पनि दाहालले समय–समयमा सत्ता परिवर्तनको संकेत दिइरहे। संसददेखि टेलिभिजन अन्तर्वार्ता र सार्वजनिक कार्यक्रमसम्म उनले बोलेका कुरा फेरिँदै गए—कहिले आन्दोलनमा जाने तयारी, कहिले सरकार आफैं ढल्ने दाबी, कहिले नयाँ गठबन्धनलाई समर्थन दिने र कहिले ‘हाम्रो ध्यान सत्तातिर होइन’ भन्ने प्रष्टोक्ति।
यिनै परस्परविरोधी भनाइहरूले उनको छविमा द्विविधा पैदा गर्छ—के उनी साँच्चिकै प्रतिपक्षमा बसेर ‘जनताको पक्षमा’ अभियान चलाइरहेका छन् कि सत्ताको ढोकामा फिर्ता प्रवेशको बाटो खोजिरहेका छन् ?माओवादी केन्द्र अहिले मधेसी भूभागमा अभियानमा केन्द्रित छ। तर अभियानको आवरणभित्र पनि सत्ता मोहको बिरुवा अंकुरिँदै गएको अनुभूति हुन्छ।
उपमहासचिवदेखि अध्यक्षसम्मका नेताहरूको अभिव्यक्तिमा आउने अस्पष्टता सत्ताप्रतिको मोहको परिचायक देखिन्छ। उनीहरू सरकार ढल्ने सम्भावनाको आँकलन गर्छन् । तर सत्तामा जान चाहिएको होइन भन्छन—यो भाषा आफूलाई प्रतिपक्षको भूमिकामा राखेर सत्ताको समीकरणप्रति हेरिरहेको संकेत हो।यो राजनीतिक व्यवहार सैद्धान्तिक दृढता होइन, रणनीतिक चञ्चलता जस्तो देखिन्छ। प्रचण्डले जसरी आफ्नो अघिल्लो कार्यकालमा ‘सुशासनका लागि सम्झौता नगरेको’ दाबी गरेका छन्, अहिले पनि उनी ’जनताको पक्षमा आन्दोलनको तयारीमा छौँ’ भन्ने भाषिक आड लिएर सत्ता समीकरणको पर्खाइमा बसिरहेका छन् भन्ने आकलन गर्न गाह्रो छैन।
यसो भनिरहँदा प्रचण्डको विगत राजनीतिक यात्रा, बलिदान र संघर्षको महत्व कम हुँदैन। तर आजको दिनमा जनताले नेताबाट अपेक्षा गर्ने भनेको स्पष्टता, स्थिरता र विश्वसनीयता हो। बारम्बार बदलिने अभिव्यक्तिले नेताको निष्ठामा मात्र होइन, उनी नेतृत्व गर्ने पार्टीको भविष्यमा पनि प्रश्न उठाउँछ।
२०७९ को निर्वाचनमा तुलनात्मक रूपमा कमजोर प्रदर्शनपछि माओवादीले २०८४ को तयारी सडक र जनतामार्फत गर्न खोज्नु सकारात्मक हो। तर सडक र सत्ताबीचको दिग्भ्रमले त्यो यात्रा दिशाहीन बन्न सक्छ। प्रचण्डको अनुभव, शैली र शक्तिलाई जनताले अझै बेवास्ता गरेका छैनन्। तर विश्वासको यो डोरी बारम्बार तन्काइरहँदा कतै चुँडिने होइन भन्ने चासो पनि उत्तिकै छ।
अन्ततः यो प्रश्न उभिन्छ—के प्रचण्ड सत्ता मोहभन्दा माथि उठ्न सक्छन् ? उनी फेरि पनि सत्ता परिवर्तनको ‘जादु’ चलाउने मोहबाट मुक्त हुन सक्दैनन् ?अबको समयले नै यसको उत्तर दिनेछ। तर जनताले चाहेको परिवर्तन सत्ता होइन, स्थायित्व हो—यति बुझ्न सके वर्तमान र भविष्य प्रचण्डका लागि सहज हुन सक्छ।
# प्रचण्ड#प्रचण्ड गर्मी
विचार/अन्तर्वार्ता
साधारण जीवन,असाधारण उदाहरण
जितेन्द्र साहजब ज्ञानको गहिराइ कक्षाकोठाभन्दा पर जान्छ
जितेन्द्र साहनेपाली भूमि लिपुलेकमा फेरि भारतको नियन्त्रण
जितेन्द्र साहसिन्दूरको संकल्प : आतंकवादविरुद्धको सांस्कृतिक सन्देश
जितेन्द्र साहबारुदको साटो संवाद र कट्टरताको साटो करुणाको मार्ग
जितेन्द्र साहDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares