विराटनगर — रोमन क्याथोलिक चर्चका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । परम्परागत मान्यतालाई चुनौती दिँदै विश्वभरका क्याथोलिक धारणा परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका फ्रान्सिसको निधन भ्याटिकनस्थित कासा सान्टा मार्टा भवनमा स्थानीय समय अनुसार बिहान ७ बजेर ३५ मिनेटमा भएको भ्याटिकनले जनाएको छ।
पोप फ्रान्सिस आइतबार मात्रै इस्टर अवसरमा व्हीलचेयरमा सेन्ट पिटर्स स्क्वायरमा उपस्थित भएर शुभचिन्तकलाई अभिवादन गरेका थिए । त्यसको २४ घण्टा नबित्दै उनको निधन भएको हो ।
अपोस्टोलिक चेम्बरका क्यामरलेन्गो कार्डिनल केभिन फारेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आज बिहान रोमका विशप फ्रान्सिस पिताको घर फर्कनुभयो । उहाँले गरिब र सीमान्तकृत वर्गको पक्षमा साहस, निष्ठा र प्रेमका साथ जीवन बिताउन सिकाउनुभयो ।’
निमोनियाका कारण गम्भीर बिरामी परेका फ्रान्सिस पाँच साताको अस्पताल बसाइपछि २३ मार्चमा डिस्चार्ज भएका थिए । आरामकै क्रममा रहेका उनी आइतबार सेन्ट पिटर्स बेसिलिकाको बाल्कनीमा देखिएका थिए । त्यहाँ उनले परम्परागत ’उर्बी एट ओर्बी’ सन्देशमार्फत विचार स्वतन्त्रता र सहिष्णुताका लागि आह्वान गरेका थिए ।
अर्जेन्टिनामा जन्मेका फ्रान्सिस रोमन क्याथोलिक चर्चको सर्वोच्च पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी तथा पहिलो जेजुएट सदस्य हुन् । सन् २०१३ मा पोपमा नियुक्त भएपछि उनले चर्च भित्र र बाहिर सुधारका अनेक प्रयास थालेका थिए ।
फ्रान्सिसले सादा जीवनशैली अँगालेका थिए — ‘इकोनमी क्लास’मा यात्रा, सामान्य पोशाक र जनसमूहसँग घुलमिल हुने व्यवहारका कारण उनी व्यापक लोकप्रिय बने ।
धार्मिक, सामाजिक र राजनीतिक दृष्टिकोणमा स्पष्ट मत
उनले सामाजिक समावेशिता, गरिबी निवारण, मानवअधिकार र वातावरण संरक्षणमा जोड दिँदै विभिन्न अन्तरराष्ट्रिय विषयमा सक्रिय भूमिका खेले । युक्रेन युद्धप्रति चिन्ता व्यक्त गर्दै शान्तिका लागि पहल गरे भने अमेरिका–क्युबा सम्बन्ध सुधारमा मध्यस्थकर्ताको भूमिका पनि निर्वाह गरे ।
तर यौनिकता, गर्भपतन, मृत्युदण्डलगायत संवेदनशील विषयमा उनी परम्परागत धार्मिक दृष्टिकोणमै अडिग रहे । समलिंगी विवाहलाई ‘ईश्वरको योजना विरुद्ध’ माने पनि उनीहरूलाई मानवताको आधारमा सम्मान गर्नुपर्ने पक्षमा उभिएका थिए ।
आलोचना र विवादहरू पनि भए
फ्रान्सिसको कार्यकालमा बाल यौनदुराचारका मुद्दा चर्चित बने । उनले ढाकछोपविरुद्ध कारबाहीको घोषणा गरे पनि पर्याप्त कदम नचालेको भन्दै आलोचना पनि खेपेका थिए । अर्जेन्टिनामा सैनिक शासनकालमा पादरी अपहरण घटनामा उनको भूमिका शंकाको घेरामा रहेको विषय पनि चर्चामा आयो ।
पोप फ्रान्सिसको निधनमा अमेरिका, बेलायत, फ्रान्स, इटाली, भारतलगायत देशका राष्ट्रप्रमुख तथा युरोपेली संघले गहिरो दुःख व्यक्त गरेका छन् । विश्वभरका इसाई समुदायले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । (एजेन्सीको सहयोगमा)
विश्व/प्रवास
अष्ट्रेलियामा एल्बानीजको चमत्कारी पुनरागमन, लेबर पार्टीको प्रचण्ड जित
द नेप्लिज संवाददाताभारतको पाकिस्तानविरुद्ध नयाँ कदम : सामाजिक सञ्जालदेखि डाक सेवासम्म प्रतिबन्ध
द नेप्लिज संवाददाताइङ्गल्याण्डमा एक विशिष्ट भवनमा आक्रमणको योजना बनाउनेहरु पक्राउ
द नेप्लिज संवाददातालेडी गागाको इतिहासकै ठूलो निशुल्क कन्सर्ट, रियोमा २० लाख दर्शकको उपस्थिति
द नेप्लिज संवाददाताअष्ट्रेलियाको संघीय चुनावमा लिबरल पार्टीको ऐतिहासिक पराजयको कारण खोतलिँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares