१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

अघोषित लोडसेडिङले जनता हैरान, सिंहदरबारमै मोबाइलको बत्ती बालेर बैठक

द नेप्लिज संवाददाता
३ जेठ २०८२, शनिबार

विराटनगर— पुनः झ्याझ्याप विद्युत् आपूर्ति अवरुद्ध हुन थालेपछि देशभरका उपभोक्ता आक्रोशित भएका छन्। नेपाल विद्युत् प्राधिकरणले कुनै पूर्वसूचना बिना नै बत्ती जाने क्रम बढाएपछि जनताले कडा विरोध जनाएका छन्। बिहीबार र शुक्रबार देशका विभिन्न स्थानमा दर्जनौँ पटक बत्ती आउने–जाने क्रम जारी रहँदा जनजीवन प्रभावित भएको छ। बिहीबार साँझ एकैपटक तीन घण्टाभन्दा बढी लोडसेडिङ भएको थियो।

प्राधिकरणले विद्युत् अवरोधको कारण ‘प्राविधिक समस्या’ भन्दै पन्छिने प्रयास गरे पनि आम उपभोक्ताले पछिल्लो नेतृत्व परिवर्तनसँग जोडेर हेर्न थालेका छन्। सरकारको निर्णयअनुसार ११ चैतमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।शुक्रबार बिहान पत्रकार भेटघाटमा शाक्यले ‘लोडसेडिङ भएको छैन’ भन्ने दाबी गरे पनि त्यसपछि पनि काठमाडौँसहित मुलुकका विभिन्न भागमा पटक–पटक बत्ती गएको थियो।

उपभोक्ताको पीडा

विराटनगर हाटखोलामा किराना पसल सञ्चालन गर्दै आइरहेका विकास थापाले बत्ती नहुँदा व्यवसायमा असर परेको बताए । ‘पहिले राति ९/१० बजेसम्म पसल खोल्थेँ, अब त ७/८ बजे नै बन्द गर्नुपर्छ,’ उनले भने ।

स्थानीय गृहिणी बबिता यादवले बत्तीको टुंगो नहुँदा घर व्यवहारमा समेत असर परेको बताइन् । ‘शुक्रबार साँझ बत्ती गयो, बत्ती पर्खेर बसेँ, मैनबत्ती बालेर खाना पकाउँदा, खाँदा मध्यराति भयो,’उनले भनिन् । ‘बच्चाबुच्चीले राम्ररी विद्यालयको गृहकार्य पनि गर्न पाएनन्,’ उनले भनिन् ।

प्राधिकरणको प्राविधिक स्पष्टीकरण

प्राधिकरणका प्रवक्ता राजाभाई श्रेष्ठका अनुसार बिहीबार भारततर्फको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमा हावाहुरीका कारण फॉल्ट आएपछि नेपालमा पनि प्रणाली स्वतः अवरुद्ध भएको थियो। पुनः प्रणाली सञ्चालनमा ल्याउन साढे दुई घण्टा लाग्यो।

शुक्रबार राति पुनः चट्याङका कारण सोही लाइन केही समयका लागि बन्द भए पनि पाँच मिनेटमै पुनः सञ्चालनमा आएको श्रेष्ठले बताए। जबकी विराटनगर क्षेत्रमा साँझ गएको बिजुली मध्यराति मात्र आएको थियो । ‘हावाहुरी, चट्याङ र कमजोर पूर्वाधारका कारण विद्युत् सेवा अवरुद्ध भएको हो,’ उनले भने।

‘मिस म्यानेजमेन्ट’ को आरोप

प्राधिकरणभित्र उच्च पदस्थ अधिकारीहरूको जथाभावी सरुवाले विद्युत् आपूर्तिको व्यवस्थापनमा गम्भीर असर पारेको भन्दै अधिकारीहरूले नेतृत्वमाथि नै प्रश्न उठाएका छन्। भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषको सरुवा गरी रञ्जु पाण्डेलाई नियुक्त गरिनु व्यवस्थापन संकटको उदाहरणका रूपमा लिइएको छ। यही केन्द्रबाट देशभरको विद्युत् आपूर्ति सञ्चालन गरिन्छ।

एक प्राधिकरण अधिकारीका अनुसार विगतमा यस्तै फॉल्ट आउँदा १५ देखि ३० मिनेटमै प्रणाली पुनः सञ्चालनमा ल्याइन्थ्यो। तर यसपटक साढे दुई घण्टासम्म अन्धकार रहनु प्रष्ट मिस म्यानेजमेन्ट हो।

तर कार्यकारी निर्देशक शाक्यले भने व्यवस्थापनको कमजोरी नभइ प्राविधिक समस्या भएको दाबी गरेका छन्। ‘४–५ जनाको मात्रै सरुवा भएको हो। अहिले देखिएको समस्या शुद्ध प्राविधिक हो,’ उनले भने।

सिंहदरबारमै मोबाइलको बत्तीमा बैठक

शुक्रबार साँझ सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिको बैठक विद्युत् नहुँदा मोबाइलको बत्ती बालेर सञ्चालन गरिएको थियो। बैठकमा सहभागी सांसद सुमना श्रेष्ठले ‘फोनको बत्तीमा शिक्षाको उपसमिति अहिले !’ भनेर सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक टिप्पणी गरेकी थिइन्।

जनआक्रोश चुलियो

अघोषित लोडसेडिङ र व्यवस्थापन अव्यवस्थाको आरोपसँगै प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यविरुद्ध आलोचना चर्किएको छ। राजधानीसहित देशभरका नागरिक सामाजिक सञ्जाल र सार्वजनिक थलोमा विद्युत् आपूर्तिको अनियमितताबारे कडा प्रतिक्रिया दिइरहेका छन्।
 

#अघोषित #लोडसेडिङ

प्रकाशित : ३ जेठ २०८२, शनिबार 07:04
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved