काठमाडौँ– १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालसहित विश्वभर विविध कार्यक्रमका साथ मनाइँदैछ। 'आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम' भन्ने नारासहित सुरु भएको श्रमिक आन्दोलनको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ।
श्रमिकहरूको पेसागत मर्यादा, सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्न विश्वका मजदुरहरूले यो दिवसलाई संघर्ष र चेतनाको प्रतीकका रूपमा मनाउँदै आएका छन्। नेपालमा पनि विभिन्न श्रमिक संगठनहरूले र्याली, सभाजस्ता कार्यक्रम गरी आजको दिनलाई विशेष रूपमा मनाइरहेका छन्।
यो दिवसको सुरुआत सन् १८८६ मे १ मा अमेरिकाको सिकागो शहरमा भएको श्रमिक आन्दोलनबाट भएको मानिन्छ। हेय मार्केट क्षेत्रमा भएको बम विस्फोट र प्रहरी गोलीका कारण सात मजदुरको ज्यान गएको उक्त आन्दोलनले अन्ततः 'आठ घण्टा कार्यसमय'को अधिकार स्थापित गराएको थियो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक नेताहरूको अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई विश्व श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता यो दिवस विश्वभर आधिकारिक रूपमा मनाउन थालिएको हो।
नेपालमा श्रमिक आन्दोलनको इतिहास विसं २००३ मा विराटनगरबाट सुरु भएको पाइन्छ। विसं २००७ को राजनीतिक परिवर्तनपछि यस दिवसलाई औपचारिक मान्यता दिइयो। विसं २०१९ मा नेपाल मजदुर संगठनले पहिलोपटक मे दिवसको औपचारिक कार्यक्रम आयोजना गरेको थियो। पछिल्ला राजनीतिक परिवर्तनसँगै, विशेषगरी २०४६ सालको जनआन्दोलनपछि, नेपाल सरकारले यो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल ट्रेड युनियन महासंघका अनुसार नेपालमा श्रमिक दिवसको परम्परा पञ्चायती शासनको विरोध र श्रमिक अधिकारको सुरक्षासँग गाँसिएको छ।
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares