विराटनगर– सिरहा जिल्लास्थित सामुदायिक वन क्षेत्रभित्र अबैध रुपमा पोखरी खनेर ग्रोभेल तस्करी भइरहेको छ । तस्करहरुले वन कार्यालयका कर्मचारी, सामुदायिक वनका उपभोक्ता समिति, स्थानीय तहका जनप्रतिनिधिको मिलेमतोमा सामुदायिक वन क्षेत्रभित्र पोखरी खन्ने नाममा ग्रोभेल, ढुंगा, गिट्टीको तस्करी गरिरहेको हो ।
गोलबजार नगरपालिका २ स्थित बसन्तचौर रमाइलोचौर सामुदायिक वन क्षेत्रभित्र तस्करले स्थानीय जनप्रतिनिधि र सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाको मिलेमतोमा पोखरी खन्ने नाममा ग्रोभेल र ढुंगाको तस्करी लाइन चलाइरहेको स्थानीय उपभोक्ताको गुनासो छ । ‘प्रदेश सरकारको बजेटमा वडा कार्यालयले वन कार्यालयबाट अनुमति नलिइ र सामुदायिक वनलाई कुनै जानकारी नदिइ पोखरी खन्ने नाममा गा्रेभेलको तस्करी गरिरहेको छ,’ स्थानीय एक उपभोक्ताले भने, ‘पोखरी खन्ने नाममा सामुदायिक वनबाट ५० लाखभन्दा बढीको ग्रोभेल निकाल्ने तयारीमा ढुंगागिट्टीका तस्करहरुले वन कर्मचारी र स्थानीय प्रशसनलाई प्रभावमा पार्न सफल भएको देखिन्छ ।’
सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बालाई सामुदायिक वन क्षेत्रभित्र पोखरी खन्ने कार्य भइरहेको सूचना दिएपछि सहायक वन अधिकृत आवेद हुसेन नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरेको ती उपभोक्ताले बताएका हुन् । ‘सहायक वन अधिकृत हुसेनले सामुदायिक वन क्षेत्रभित्र एक्जाभेटरले पोखरी खन्ने नाममा ग्रोभेल उत्खनन गरेर लगिरहेको पनि हेर्नुभयो तर केही गर्नुभएन, मौन बस्नु भयो,’ उनले भने, ‘सहायक वन अधिकृत हुसेनले पेखरी खन्न रोक लगाउन, एक्जाभेटर र ग्रोभेल ओसारिरहेका टिपर नियन्त्रणमा लिन छाडेर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र यादवलाई विकास बिरोधी भएको भन्दै हप्काउनु भएको छ । सुरक्षाकर्मीले वन क्षेत्रको विषय वनलाई भन्न भन्दै पञ्छिए ।’
सहायक वन अधिकृत हुसेनले हेरेर फर्केपछि पोखरी खन्न रोकिएको थियो । तर उनले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यादवलाई हप्काउँदै पोखरी खन्न अनुमति दिन निर्देशनात्मक आदेशसहित दवाव दिइरहेका थिए । सामुदायिक वन उपभोक्ता समितिलाई कुनै जानकारी नदिइ वडा कार्यालयको नाममा पोखरी खन्न सुरु गरेको तस्करहरुलाई अध्यक्ष यादवले पुनः पोखरी खन्न अनुमति दिएनन् । त्यसपछि तस्करहरुले ग्रोभेलको माग थाम्न नसकेर जबर्जस्ती कसैको अनुमति बिना नै खन्न थालेपछि सहायक वन अधिकृत हुसेनलाई अध्यक्ष यादवले आफैले फोन गरेको तर उनले फोन नउठाएको गुनासो पोखे । त्यसपछि डिभिजनल वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रलाई सामुदायिक वनभित्र पोखरी खन्ने नाममा ग्रोभेलको तस्करी भइरहेको गुनासो गर्न बाध्य भएको उनले बताएका छन् ।
‘प्रमुख मिश्रको निर्देशनमा सहायक वन अधिकृत हुसेनले पुनः गएर पोखरी खन्ने तस्करहरुसँग छलफल गरेर रोक्न लगाउनुभयो,’ अध्यक्ष यादवले भने, ‘तस्करहरुसँग कुराकानी गरेपछि सहायक वन अधिकृतले कहाँ–कहाँ, कसकसलाई फोन गर्छौं भन्दै पुनः हप्काउनु भयो ।’
सहायक वन अधिकृत हुसेनले ग्रोभेल तथा ढुंगागिट्टी तस्करहरुसँग मिलेमतो गरी अबैध रुपमा ग्रोभेल उत्खनन गराउँदै आएको स्थानीयको आरोप छ । स्थानीयवासीले सहायक वन अधिकृत हुसेनले तस्करहरुबाट अनुचित लाभ लिँदै ग्रोभेल, ढुंगागिट्टी तस्करी गराउँदै आएको गुनासो पोखेका छन् । सहायक वन अधिकृत हुसेनले निमित डिभिजन वन कार्यालय प्रमुख मनोज कर्णको आडमा तस्करी धन्दा चलाइरहेको कार्यालय स्रोतको भनाइ छ । हुसेनले गलत गरेको भन्दैमा आफू गलत नहुने दावी गरेका छन् ।
यस्तै, धनगढीमाई नगरपालिका १३ स्थित सर्रेखोला सामुदायिक वनभित्र पनि पोखरी खन्ने नाममा ग्रोभेलको तस्करी भइरहेको छ । तस्करहरुको मिलेमतोमा वडा कार्यालयले नै पोखरी खन्ने नाममा ग्रोभेलको तस्करी गराइरहेको छ । सव डिभिजन वन कार्यालय धनगढीका प्रमुख सहायक वन अधिकृत चन्देश्वर यादवको मिलेमतोमा तस्करहरुले सर्रेखोला सामुदायिक वनबाट ग्रोभेल तस्करी गरिरहेको स्थानीयवासीको आरोप छ । यहाँबाट तस्करहरुले यसपटक एक करोड बढी मूल्यको ग्रोभेल उत्खनन गरेर बिक्री गर्ने रणनीतिका साथ पोखरी खन्ने कार्यलाई अघि बढाएको हो ।
सिरहा जिल्लाबाट सप्तरी र धनुषा जिल्लामा विकास निर्माणका लागि आवश्यक ग्रोभेल, ढुंगागिट्टी आपूर्ति हुँदै आएको छ । यतिखेर संघ, प्रदेश र स्थानीय तहले सञ्चालन गरिरहेका योजनाहरुका लागि ग्रोभेल, ढुंगागिट्टीको माग अत्यधिक रहेकाले तस्करहरुले योजनाबद्ध रुपमा पोखरी खन्ने नाममा ग्रोभेल, ढुंगागिट्टी उत्खनन कार्यलाई तिव्रता दिइरहेको स्थानीय जानकारहरुको भनाइ छ ।
सामुदायिक वनभित्र जोसुकैले पोखरी खन्नका लागि डिभिजन वन कार्यालयबाट अनुमति लिएर मात्रै खन्न पाइने कानुनी व्यवस्था छ । तर यहाँ डिभिजन वन कार्यालयलाई कुनै जानकारी नै नदिइ धमाधम पोखरी खन्ने नाममा ग्रोभेल उत्खनन् गरी तस्करी भइरहेको छ । पोखरी खन्ने नाममा ग्रोभेल उत्खनन र तस्करी गर्नेलाई छानविनको दायरामा ल्याई कारवाही गर्नपर्ने हो । तर डिभिजन वन कार्यालय लहान मौन देखिएको हो ।
डिभिजन वन कार्यालय प्रमुख मिश्र तीन महिने तालिममा काठमाडौंमा रहेको मौकाछोपी निमित कार्यालय प्रमुख मनोज कर्णले जिल्लाभरिका सव डिभिजन कार्यालयका प्रमुखहरुसँग मिलेर तस्करी धन्दा चलाइरहेका छन् । जिल्लाभरि ग्रोभेल, ढुंगागिट्टी, काठलगायतको तस्करी बढेको गुनासो डिभिजन वन कार्यालय लहान प्रमुख मिश्रलाई स्थानीयवासीले फोन गर्दै हैरान पारेपछि अहिले पाखरी खन्ने लगायतका बढी जनगुनासो आउने अबैध काम रोकिएको स्थानीय बताउँछन् । पोखरी खन्ने जस्ता अबैध काम रोकिए पनि अबैध काम गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउने बारे डिभिजन वन कार्यालय मौन देखिएको छ । निमित प्रमुख कर्णले तस्करहरुसँग हुँदै आएको अबैध असुलीबाट भाग पाउँदै आएकाले कारवाहीका लागि कुनै प्रक्रिया अघि नबढाएको कर्मचारीहरुको नै आरोप छ ।
निमित प्रमुख कर्ण डिभिजन वन कार्यालयको वन संरक्षण तथा सदुपयोग शाखा प्रमुख हुन् । उनले आफ्नो शाखामा नम्बरी आवादीको रुख कटानका लागि नम्बरी आवादीको रुख काट्ने व्यवसाय गर्दै आएका व्यवसायी र सःमिल सञ्चालकहरुलाई रुख कटान, मुछान तथा छोडपूर्जी अबैध रकम लिएर मात्रै दिने गरेको कार्यालय स्रोतले जनाएको छ । ‘निमित प्रमुख कर्णले रुख कटान, मुछान र छोडपूर्जी दिए वापत प्रति क्यूबी फिट १० रुपैयाँसम्म अबैध रुपमा रकम लिने गरेको छ,’ कर्मचारी स्रोत भन्छन्, ‘निमित प्रमुख कर्णले प्रति क्यूबी फिट १० रुपैयाँ नबुझाउनेलाई रुख कटान, मुछान र छोडपूर्जीको आदेश नै दिनुहुन्न् । व्यवसायी तथा सःमिल सञ्चालक बाध्य भएर अबैध रकम बुझाउने गरेका छन् ।’ जिल्लामा वर्षेनी ८ हजार क्यूबि फिटसम्म नम्बरी आवादीको छोडपुर्जी दिने गरेको छ ।
निमित प्रमुख कर्णले जबर्जस्ती आफूमाथि जस्तोसुकै आरोप लगाउन नमिल्ने र आफूले नियम कानुन अनुसार नै प्रत्येक घटनामा कारवाही प्रक्रिया अघि बढाएको दावी गरेका छन् । उनले सव डिभिजन वन कार्यालयहरुमा अधिकृत स्तरका प्रमुखहरु रहेकाले उनीहरुले नै कुनै किसिमको घटना हुँदा छानविन गरी कारवाही प्रक्रिया अघि बढाउँदै आएको सुनाए ।
समाचार
टिफरको ठक्करले एक जनाको मृत्यु
द नेप्लिज संवाददातायोगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares