११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव

द नेप्लिज संवाददाता
६ असार २०८२, शनिबार

विराटनगर– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँदै योगले मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउने गरेको बताएका छन् । 

अन्तर्राष्ट्रिय योग दिवस २०२५ को अवसरमा शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनिक जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका हुन् । 

‘सम्पूर्ण मानव समुदायमा योगको महत्व, लाभ र समग्र जीवनमा यसको प्रभाव बारे जनचेतना फैलाउने उद्देश्यले  हरेक वर्ष जुन २१ मा योग दिवस मनाउँदै आएको छ,’ उनले भनेका छन्, ‘योग शारीरिक अभ्यास मात्र नभई यो एक जीवनपद्धति पनि हो । यसलाई चित शुद्धीका लागि सबैले उपयोग गर्नु अहिलेको अपरिहार्यता हो ।’

आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निस्क्रियता र जीवनशैलीजन्य समस्याहरू समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको उपपराष्ट्रपति यादवको भनाइ छ । ‘नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्वपूर्ण योगदान पुग्दछ,’ उनले भनेका छन्, ‘विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घ रोगहरूको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । त्यसैले हामी सम्पूर्ण नागरिकहरूले योगलाई आफ्नो जीवनशैलीमा आत्मसात् गर्दै शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यप्रति सजग रहनु आवश्यक छ।’

उपराष्ट्रपति यादवले स्वस्थ जीवनशैलीका नियमित योग अभ्यास गर्दै समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुन आम नेपालीलाई आह्वान गरेका छन् ।  ‘अन्तर्राष्ट्रिय योग दिवस, शारीरिक स्वास्थ्य प्रवर्द्धनको उत्सवसँगै हाम्रो सांस्कृतिक सम्पदाको सम्मान, संरक्षण र प्रचार–प्रसार गर्ने अवसर पनि हो,’ उनले भनेका छन्, ‘योगले जात, धर्म, भाषा, संस्कृति वा सीमाभन्दा माथि उठेर समस्त मानव समुदायलाई एकतामा बाँध्ने सन्देश बोकेको छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याउँदछ ।’

सुस्वास्थ्ययुक्त, अनुशासित तथा सन्तुलित जीवनप्रति जागरुकता फैलाउन अन्तर्राष्ट्रिय योग दिवसले सबैलाई योग अभ्यासे जीवन पद्धति बनाउन प्रेरणा प्राप्तीको उपराष्ट्रपति यादवले शुभकामना सन्देशमार्फत कामना गरेका हुन् । 

प्रकाशित : ६ असार २०८२, शनिबार 07:41
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved