विराटनगर– पूर्वाञ्चल विश्वविद्यालयकी रजिस्टार कल्याणी मिश्र त्रिपाठीले समाज परिवर्तनका लागि प्राध्यापकहरुको अनुसन्धानले योगदान गर्नुपर्ने बताएकी हुन् ।
विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकाय डिन कार्यालयले प्राध्यापकहरुलाई अनुसन्धान कार्यका लागि क्षमता विकासका लागि आयोजित सात दिने ‘आर प्रोग्रामिङ फर डाटा एनालाइसिस’ तालिमको समापन कार्यक्रममा रजिस्टार मिश्रले अब आउँदो समयमा मानिसमा चिप प्रयोग गरेर मात्रै काम हुने अवस्था निर्माण भइरहेको प्रति अनुसन्धानमा केन्द्रित प्राध्यापकहरु सचेत भएर अनुसन्धान कार्यलाई गहनतापूर्वक अघि बढाउनु पर्ने बताएकी छिन् । ‘अहिले म्यानुअली र प्रविधिको प्रयोगले भइरहेको काम आउँदो समयमा पूर्ण रुपमा प्रविधिमा निर्भर हुने अवस्था आउँदै छ,’ उनले भनिन्, ‘अहिले नै हामी प्राध्यापकहरु नै केही विषयमा लेखिसकेपछि त्यसमा भएको त्रुटी जाँचका लागि च्याट जीपीटी प्रयोग गर्न बाध्य हुन थालेका छौं ।’
रजिस्टार कल्याणीले त्यसैले तिव्र गतिमा बढ्दै आएको प्रविधिको बारेमा अध्यावधिक नरहने व्यक्ति पछि पर्नेतर्फ प्राध्यापकवर्ग सचेत हुनु आवश्यक रहेको बताइन् । ‘प्रविधिको ज्ञान प्राप्ती र त्यसको प्रयोगका लागि तालिम आवश्यक छ,’ उनले भनिन्, ‘तर तालिम लिइसकेपछि त्यसको प्रभाव के रहयो र यसले के प्राप्ती तथा परिवर्तन ल्याउन सफल भयो त्यसमा तालिमको सदुपयोगिता निर्भर हुन्छ ।’
विज्ञान तथा प्रविधि संकायका निमित डिन मनोजकुमार हुलुवाईले विश्वविद्यालयमा अनुसन्धान कार्य अपरिहार्य रहेको र अनुसन्धान नहुने विश्व्विद्यालयको कुनै महत्व नरहेको बताएका छन् । ‘प्रविधिको प्रयोगले अनुसन्धान कार्यलाई झन उन्नत बनाउन सघाउ पुर्याइरहेको छ,’ उनले भने, ‘त्यसैले प्रविधिको बारेमा जानकार भइ त्यसको प्रयोग गर्न प्राध्यापकहरुलाई तालिमको आयोजना गर्यौं ।’ यो तालिमले प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा सहयोग प्राप्त हुने र अनुसन्धानमा लाग्ने समयको बचतसँगै तथ्यांकको सही र सहज रुपमा उपयोग गर्न सफल हुने विश्वास छ ।’
निमित डिन मनोजकुमारले यसअघि डिन कार्यालयले आयोजना गरेको सात दिने अनुसन्धान मूलक तालिममा तथ्यांकीय विश्लेषणको बारेमा जानकारी प्राप्त नहुँदा अनुसन्धान कार्यमा प्राध्यापकहरुले भइरहेको समस्याको निवारणका लागि ‘आर प्रोग्रामिङ फर डाटा एनालाइसिस’ तालिम सञ्चालन गरेको बताएका छन् । उनले यो तालिमले प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा पूर्ण रुपमा सक्षमता प्रदान गरेको विश्वास व्यक्त गरेका हुन् ।
तालिमका संयोजक तथा निवर्तमान परीक्षा नियन्त्रक अजय कुमार शाहले यो तालिमले प्राध्यापकहरुलाई अनुसन्धान कार्यमा तथ्यांकको सही प्रयोग र विश्लेषणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले सिकाइ कहिल्यै नटुंगिन र जीवनपर्यन्त भइरहने भएकाले सिकाइप्रति समर्पणसहित तिव्र गतिमा भइरहेको प्रविधिको विकाससँग सँगै अघि बढ्नु पर्ने बताएका हुन् ।
तालिमका प्रशिक्षक विजयलाल प्रधानले प्राध्यापकहरुले गर्ने अनुसन्धान समाजका लागि लाभकारी हुनुपर्ने बताएका छन् । उनले अनुसन्धानबाट प्राप्त विषयवस्तुलाई व्यवस्थित गर्ने दृष्टिकोणले पाँच दिन तालिममा छलफल गरेको बताएका हुन् । ‘संसारभरि तथ्यांकीय विश्लेषणमा प्रयोग भइरहेको आर प्रोग्रामिङ डाटा एनालायसिसको प्रयोग अनुसन्धान र कक्षकोठामा विद्यार्थीहरुको सिकाइका लागि प्रयोग भइरहेको छ,’ उनले भने, ‘तालिम अवधिमा सिकेका विषय अनुसन्धान र कक्षाकोठामा विद्यार्थीको सिकाइका लागि उपयोगी सिद्ध हुने विश्वास छ ।’
तालिममा आंगिक कलेजहरु पूवि व्यवस्थापन कलेज, पूवि जनता बहुमुखि क्याम्पस, ल क्याम्पस विराटनगर, गिरीजा प्रसाद कोइराला एग्रिकलचर तथा रिर्सच सेन्टर, पूवि कलेज अफ इन्भारोमेन्ट एण्ड फोरेष्ट्री तथा पूवि स्कूल अफ हेल्थ साइन्सबाट २र२ जना प्राध्यापकको सहभागिता रहेको थियो ।
त्यसैगरी सम्वन्धन प्राप्त कलेजहरु इलाम एग्रिकलचर सामुदायिक कलेज, गोमेन्द्र वहुमुखि कलेज विर्तामोड, मदन भण्डारी मेमोरीयल कलेज उर्लावारी, इस्टर्न इन्जिनियरीङ्ग कलेज, क्षितिज एजुकेशन राजविराज, यूनिक मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल प्रालि र जनकपुर सेन्ट्रल इन्जिनियरीङ्ग जनकपुरबाट १÷१ जना गरी ४० जना प्राध्यापकको तालिममा सहभागिता रहेको विज्ञान तथा प्रविधि संकायका अधिकृत दिपेन्द्र कुमार मण्डलले बताएका छन् । रजिष्टार कल्याणीले तालिमका सहभागीहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेकी थिइन् ।
शिक्षा/प्रविधि
प्राध्यापकलाई अनुसन्धान कार्यमा प्रेरित गर्दै पूर्वाञ्चल विश्वविद्यालय
द नेप्लिज संवाददातापृथ्वी तातिनुको नयाँ कारण पत्ता लाग्यो
मनसुनमा रातिको झरी किन बढी?
द नेप्लिज संवाददाताएसईईमा फेल हुनु कसको असफलता हो ?
पूर्वाञ्चल विश्वविद्यालयमा ‘एम. एससी. बायोस्ट्याटिस्टिक्स’ विषयको पठन पाठन सुरु हुँदै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares