११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

हेर्दा उत्सव, भोग्दा निराशा

जितेन्द्र साह
१५ जेठ २०८२, बिहीबार

गणतन्त्र दिवस अब नेताहरूको भाषण, शक्तिप्रदर्शन र भजन/ब्यानरको प्रतिस्पर्धामा सीमित छ। त्यो जनता जसले राजा फाल्यो, जसले संविधान लेखायो, जसले संविधानसभा निर्वाचनमा बहस गर्यो, आज त्यो जनता किन मौन छ ? कुनै पनि तन्त्रप्रति जनताको सहभागिता, अपनत्व र भरोसा नहुनु त्यस तन्त्रको पराजय हो — चाहे त्यो राजतन्त्र होस् वा गणतन्त्र।

विराटनगर– आज १५ जेठ, अठारौँ गणतन्त्र दिवस । सैनिक मञ्च टुँडिखेलमा राष्ट्रिय झाँकी, पुष्पवृष्टि, मार्चपास र विशिष्ट आतिथ्यसँगै गणतन्त्रको उत्सव मनाइँदैछ। तर देशको सडकमा अर्कै दृश्य छ — राजसंस्था पुनस्र्थापनाको माग गर्दै जनआन्दोलन सुरु गर्ने घोषणा, सरकारद्वारा नियन्त्रणको तयारी र सत्तारुढ तथा प्रतिपक्षी दलका भातृ संगठनहरूको शक्ति प्रदर्शन। राजधानीको मुटुमा दुई चरम राजनीतिक ध्रुवहरू आमनेसामने उभिएका छन्, तर भुइँमान्छे कतै देखिँदैन।

तीन दशकभन्दा बढीको पत्रकारिता करियरमा मैले यति ठूलो राजनीतिक विचलन कमै देखेको छु। राज्यको व्यवस्था, शासन प्रणाली वा पर्वको सार्थकता जनताको सहभागितामा हुन्छ भन्ने मान्यतामाथि नै प्रश्न उठ्ने दिन हो यो।

गणतन्त्र–जनताले प्राप्त गरेकै हो त ?
गणतन्त्रको घोषणाले २ सय ४० वर्षे निरङ्कुश राजतन्त्र अन्त्य भयो। तर घोषणासँगै अन्त्य हुने भनिएको वर्गीय अन्याय, अवसरको असमानता, पहुँचको राजनीति झनै बलियो भयो। जुन व्यवस्था लोकतन्त्र, समानता र समावेशीताका नाममा आएको थियो, आज त्यो नै केवल सत्ता समीकरणको हतियार बनाइएको छ। गणतन्त्र जनताका घरघरमा खुशीयाली लिएर जानुपर्ने थियो, तर आज यो टुँडिखेलमा सीमित समारोह र भृकुटीमण्डपमा संगठनको शक्ति प्रदर्शन बनेको छ। सर्वसाधारणका लागि यो पर्व होइन, मौन पीडा हो।

राजावादी आन्दोलनको पुनरुत्थान – आत्मपरीक्षणको घडी
राजसंस्था पुनस्र्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन समिति शान्तिपूर्ण आन्दोलनमा उत्रने घोषणा गरिरहेको छ। यो मागलाई समर्थन वा विरोध गर्नु वैचारिक कुरा हो, तर यो आन्दोलनको पुनरुत्थान गणतन्त्रप्रति व्यापक जनअसन्तोषको संकेत हो। कुनै पनि तन्त्रप्रति जनताको सहभागिता, अपनत्व र भरोसा नहुनु त्यस तन्त्रको पराजय हो — चाहे त्यो राजतन्त्र होस् वा गणतन्त्र।

राजावादी आन्दोलन एकपटक फेरि हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सनातन मूल्यमान्यताको नाममा जनसंवेदना टिप्ने प्रयासमा छ। सरकार र सत्तापक्षीय दलहरुले यसलाई दमन गर्ने संकेत दिइरहेका छन्। तर राज्यद्वारा कुनै पनि विचार वा भावनाको दमनले कहिल्यै समाधान दिएको छैन, इतिहास साक्षी छ।

गणतन्त्र किन जनता–विहीन भयो ?
गणतन्त्र दिवस अब नेताहरूको भाषण, शक्तिप्रदर्शन र भजन/ब्यानरको प्रतिस्पर्धामा सीमित छ। त्यो जनता जसले राजा फाल्यो, जसले संविधान लेखायो, जसले संविधानसभा निर्वाचनमा बहस गर्यो, आज त्यो जनता किन मौन छ?

किनभने यो गणतन्त्र उसलाई छोएन। उसले देखेको गणतन्त्र भनेको संविधान बनाउने नेताहरूको विदेशी भ्रमण, सांसदहरूको तलबभत्ता, स्वास्थ्य शिक्षा पहुँचवाला वर्गको एकाधिकार र गरिबका लागि जेल र बेरोजगारी मात्रै बन्यो।

नेता र कार्यकर्ताको तन्त्र
गणतन्त्र अब नेता र कार्यकर्ताको निजी स्वामित्व बनिसकेको छ। सत्तापक्षका नेता, विपक्षी नेताहरू र उनीहरूका भातृ संगठनहरू जेठ १५ लाई ‘अधिकार रक्षा’ को दिन बनाएर सडकमा निस्कन लागेका छन्। तर यिनीहरू जनताका लागि होइन, आफ्नो हैकम, आफ्नो शक्ति प्रदर्शन को लागि लडिरहेका छन्।

राजसंस्था पक्षधर र गणतन्त्र पक्षधर भन्ने दुई ध्रुव बने पनि बहुल जनता दुवै ध्रुवबाट बाहिर छन्। न उनीहरू आन्दोलनमा छन्, न उत्सवमा। अहिले दुवै पक्षमा सडकमा आइरहेका मान्छेहरु, दल र राजावादी समर्थित केही हजार कार्यकर्ता मात्र हुन् । बहुसंख्यक जनता तटस्थ र निष्पक्ष न्यायाधीश सरह दुवै तर्फका बहस सुन्दैछन् तर जुनदेखि आममान्छे सडकमा आउँछ, त्यो दिन अवस्था र व्यवस्थालाई परिवर्तन हुनबाट कुनै सुरक्षा फौज वा विदेशी शक्तिले रोक्न सक्दैन ।

गणतन्त्रको पुनःसंरचना – हैसियत होइन, हैसियतविहीनको अधिकारमा केन्द्रित बनाऔं
अठारौँ गणतन्त्र दिवसले स्पष्ट रूपमा देखाएको छ — गणतन्त्रलाई अब पुनरावलोकन र पुनःसंरचना आवश्यक छ। लोकतन्त्रको नाममा लुटतन्त्र, गणतन्त्रको नाममा गुटतन्त्र र राज्यशक्तिको नाममा चरम दमन — यी सबै गणतन्त्रका घातक विषाणु हुन्। अबको आवश्यकता छ :

गणतन्त्रको आत्मसमीक्षा

राज्य संयन्त्रको उत्तरदायित्वमा आमूल सुधार

भुइँमान्छेको आवाजमा आधारित विकास मोडल

राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र सुनिश्चितता

जनताको अनुपस्थिति नै गणतन्त्रको असफलता हो
गणतन्त्र संस्थाको होइन, चेतनाको कुरा हो। त्यो चेतना तब बाँच्दछ जब नागरिकले राज्यलाई आफ्नो ठान्दछ। आज जब जनताले राज्यलाई हेर्ने नजरमा डर, निराशा र उपेक्षा छ — तब त्यो गणतन्त्र स्खलित भइसकेको हुन्छ।

१५ जेठले हामीलाई के स्मरण गराइरहेको छ भने गणतन्त्र एकादेशको कथा नबनोस् भनेर फेरि एकपटक बृहत नागरिक संवाद आवश्यक छ। नत्र, सत्तामा बसेकाहरूको झाँकी र जनताबाट विमुख आन्दोलनहरूले गणतन्त्रको चिहान खन्न बेर लाग्दैन।

#अठारौँ #गणतन्त्र# दिवस

(आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर, तीन दशकभन्दा बढी समयदेखि ग्रामीण क्षेत्रदेखि काठमाडौँसम्म मूलधारको पत्रकारितामा सक्रिय ‘द नेप्लिज डट कम’ का प्रधान सम्पादक जितेन्द्र साहको यो व्यक्तिगत विचार हो । साह कुनै पनि राजनीतिक दल निकट पत्रकार संघ, संगठन, मञ्च, युनियन, चौतारी वा समाज लगायतमा आबद्ध छैनन् भन्ने कुरा प्रष्ट गर्न चाहन्छौं ।)

प्रकाशित : १५ जेठ २०८२, बिहीबार 06:27
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved