१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

शैलजा आचार्यको १६ औँ स्मृति दिवस

‘राजनीतिक नेतृत्वप्रति विश्वास जगाउने शैलजा आचार्यको सिद्धान्त’

द नेप्लिज संवाददाता
२९ जेठ २०८२, बिहीबार

विराटनगर– शैलजा आचार्य स्मृति पोलिटेक्निक जहदाले बिहीबार आयोजना गरेको कांग्रेस नेतृ शैलजा आचार्यको १६ औँ स्मृति दिवसका वक्ताहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता, बेरोजगारी, आर्थिक शिथिलताले निराश बनेका आम नेपालीमा आशाको सञ्चार गराउन शैलजा आचार्यको सिद्धान्त राजनीतिक नेतृत्वले अंगिकार गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

प्रदेश सांसद तथा नपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले शैलजा आचार्यको जीवनको सिद्धान्त, नीति अहिलेको समय सापेक्ष रहेको र त्यसलाई सबै राजनीतिक नेतृत्वले अंगिकार गर्नु अपरिहार्य रहेको बताएका हुन् । ‘शैलजा आचार्य भ्रष्टाचार बिरुद्ध मन्त्री पदसमेत त्यागेको, तत्कालिन राजा महेन्द्रलाई कालो झण्डा देखाउने बिरांगना, तत्कालिन शक्तिशाली प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई समेत बालुवाटारदेखि सिंहदरबारसम्म भ्रष्टाचारको जालो रहेको ठाडै भन्ने साहासी नेतृ थिइन्,’ उनले भने, ‘शैलजा आचार्य जनताको सेवा, सुबिधाका लागि काम गर्ने, गरीव, निमुख्खाका छोरा छोरीको लागि सहज र सुलभ रुपमा प्राविधिक शिक्षा प्रदान गर्न पोलिटेक्निकको स्थापना गरेर जानुभएको छ ।’

कांग्रेस नेता गुरुराज घिमिरेले धनीको लागि शिक्षा ब्याज हो भने गरीवका लागि मूल धन हो त्यसैले शिक्षा आर्जन गर्नु नै सम्पत्ति आर्जन भएको बताएका छन् । ‘गरीव, विपन्नका लागि ग्रामिण क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गरेर सबैको शिक्षामा पहुँच पुर्याउने शैलजा आचार्यको सिद्धान्त थियो,’ उनले भने, ‘जस्तोसुकै गरीव परिवारमा जन्मेर गुणस्तरी उच्च शिक्षा आर्जन गर्नेको आमूल परिवर्तन भएको हजारौं उदाहरण छ त्यसैले सबै विद्यार्थीलाई शिक्षा आर्जनमा दत्तचित भएर लाग्नुपर्छ । शैलेजा आचार्यको सिद्धान्त अनुशरण गर्दै आफू गल्ती नगर्ने, गलत गर्नेसँग नडराउने, देश र समाजका लागि अघि बढ्ने, समाज सुधारका साथै सर्वसाधारणको जीवनस्तर उकास्न सधैं तत्पर रहनुपर्छ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य तथा सामाजिक विकास समिति सभापति गयानन्द मण्डलले शैलजा आचार्यले सीमावर्ति ग्रामिण क्षेत्र जहदामा पोलिटेक्निक स्थापना गरेका कारण मधेसी समुदायका गरीव, विपन्नलगायत कथित दलित जातिका विद्यार्थीहरुले प्राविधिक शिक्षा प्राप्त गरेर अहिले देशभरि सरकारी सेवामा कार्यरत हुन सफल भएको बताएका छन् । उनले शैलजा आचार्यले पोलिटेक्निक स्थापना नगरेको भए ती विद्यार्थीहरु अहिले घर गृहणीको जीवनयापन गर्नुको कुनै विकल्प नहुन्े बताएका हुन् । 

कार्यक्रममा जहदा गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साह र धनपालथान गाउँपालिका अध्यक्ष जीवछकुमार गच्छदारले शैलजा आचार्य पोलिटेक्निकमा विपन्न गरिवका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा आर्जनका लागि छात्रवृति प्रदान गर्न विनियोजन गर्दै आएको बजेटमा वृधि गर्ने प्रतिबद्धता जनाएका छन् । 

कार्यक्रममा शैलजा आचार्य स्मृति पोलिटेक्निकका प्रिन्सिपल सन्तबहादुर अधिकारीले पोलिटेक्निकहरुमध्ये ८ वटा कार्यक्रम सञ्चालन गर्ने यो पोलिटेक्निक एक मात्र रहेको बताएका हुन् । उनले यस पोलिटेक्निकमा अध्ययन गरेर गएका कुनैपनि विद्यार्थी बेरोजगार नबसेकोबाट यहाँको पठनपाठनको गुणस्तर देखिएको बताएका थिए ।

‘पोलिटेक्निकले सुशासनका पक्षधर, ग्रामिण क्षेत्रवासीको सुखदुःखका सहयात्री, सहाशिक नेतृ शैलजा आचार्यले प्राविधिक शिक्षाको माध्यमले समाज परिवर्तन गर्ने देख्नुभएको सपना पूरा गर्न सहुलियत शूल्कमा एसईई उतिर्ण  भएका विद्यर्थीका साथै घरमा बेरोजगार भएर बसेका कक्षा १२ लगायत उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई ग्रामिण तथा प्राकृतिक मनोरम वातावरणमा प्राविधिक शिक्षा आर्जन गर्ने अवसर प्रदान गरेको छ, उनले भने, ‘यस पोलिटेक्निकले मुलुकको अर्थतन्त्रको आधारस्तम्भ कृषि क्षेत्रका लागि सीपयुक्त प्राविधिक तयार पार्न १८ महिने जेटिए (कृषि र भेटेनरी), ३ वर्षे कृषि डिप्लोमा (आई एससी एजी) वाली विज्ञान र पशु विज्ञानतर्फ पठन पाठन सञ्चालन गर्दै आएको छ । सेवामुलुक व्यवसाय सञ्चालनका साथै सरकारी जागिरमा पनि अवसर प्राप्त गर्ने इञ्जिनियरिङतर्फ १८ महिने सर्भे अमिन र कम्प्युटर आईटी र ३ वर्षे कम्प्युटर ओभरसियरको कक्षा सञ्चालन गर्दै आएको छ । स्वास्थ्यतर्फ स्टाफ नर्स, डिप्लोमा इन फार्मेसी, एचए र विभिन्न कारणले उच्च शिक्षा आर्जन गर्नबाट बञ्चित भएर गृहणी जीवन विताउन बाध्य महिला तथा युवतीहरुका लागि स्वरोजगार बनाउन तीन महिने सिलाइ कटाई तालिम यस पोलिटेक्निकले सञ्चालन गर्दै आएको छ ।’

पोलिटेक्निकका अध्यक्ष मिता आचार्यको अध्यक्षमा सम्पन्न स्मृति दिवसमा कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, पोलिटेक्निक कार्य समितिका विकास पराजुली, जवाहरलाल मण्डल, रेडक्रश मोरङ अध्यक्ष सुकदेव मण्डल, रेडक्रशका पूर्वअध्यक्ष सुबोध सिंहलगायतले शैलजा आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको बारेमा चर्चा गरेका थिए । 

प्रकाशित : २९ जेठ २०८२, बिहीबार 22:58
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved