विराटनगर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री तथा सांसद सुमना श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको राजीनामा बिहीबार सार्वजनिक भएको छ । श्रेष्ठले चैत १७ मा सह–महामन्त्री पदबाट राजीनामा दिएकी थिइन् । तर सभापति लामिछाने उच्च अदालत तुलसीपुरको आदेशपछि पुर्पक्षका लागि थुनामा पठाइएपछि राजीनामाको प्रक्रिया रोकिन पुगेको थियो । बिहीबार रास्वपाको केन्द्रीय समिति बैठक अघि उनको राजीनामा सार्वजनिक भएको हो ।
राजीनामा पत्रमा श्रेष्ठले पार्टी नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै ६ प्रमुख सवाल उठाएकी छन् । पार्टीमा आफ्ना धारणा नसुनिएको, सहकारी ठगीको आरोप चिर्न असफल भएको, पदाधिकारी भएर पनि निर्णय जानकारी अरूबाट पाउनुपर्ने अवस्था आएको, एक व्यक्ति–एक पदको सिद्धान्तको बेवास्ता गरिएको, नेतृत्व हस्तान्तरणको तयारी नभएको र पार्टीको डेलिभरी क्षमतामा कमी रहेको जस्ता बुँदाहरू उनले उल्लेख गरेकी छन् ।
श्रेष्ठले आफूले सह–महामन्त्रीको रूपमा काम गर्न नसकेको अनुभव सुनाउँदै सांसद र पार्टी पद दुईवटा पूर्णकालीन जिम्मेवारी भएकाले त्यसलाई एउटै व्यक्तिले प्रभावकारी रूपमा सम्हाल्न नसक्ने बताएकी छन् । उनको राजीनामाको विषय बिहीबार चाबहिलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा छलफलमा उठाइएको थियो । कार्यवहाक सभापति डोलप्रसाद अर्यालले यसबारे छलफलपछि प्रक्रियागत रूपमा निर्णय लिने बताएका छन् ।
श्रेष्ठले आफ्नो राजीनामा स्वीकृत भएपछि संसदमा निजी विधेयक दर्ता गर्ने, कानुन निर्माणमा सक्रिय हुने र गैरआवासीय नेपालीहरूलाई जोडेर राष्ट्रिय विकासमा योगदान दिने योजना अघि सारेकी छन् । यसअघि श्रेष्ठ शिक्षामन्त्रीसमेत बनेकी थिइन् । उनले पछिल्लो समय विभिन्न मुद्दाहरूमा पार्टीको धारणा र कार्यशैलीप्रति असहमति जनाउँदै आएकी थिइन् ।
रास्वपा समर्थकहरूबीच सामाजिक सञ्जालमा देखिएको अराजक गतिविधिप्रति पनि बैठकमा ध्यानाकर्षण गराइएको छ । कार्यवाहक प्रवक्ता मनीष झाले सदस्यहरूलाई सामाजिक सञ्जाल प्रयोगमा अनुशासन अपनाउन निर्देशन दिएका छन् ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares