विराटनगर — नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक टी–२० विश्वकप छनोटमा स्थान बनाउँदै ऐतिहासिक सफलता हात पारेको छ। कप्तान इन्दु बर्माको नेतृत्वमा नेपालले सोमबार बैंककमा भएको महिला टी–२० विश्वकप एसिया क्षेत्रीय छनोटको ‘सुपर थ्री’ अन्तर्गत यूएईलाई ५ विकेटले पराजित गर्दै विश्वकप छनोटको यात्रा तय गरेको हो।
थाइल्यान्डले अघिल्लो दिन यूएईलाई ५४ रनले हराइसकेको अवस्थालाई ध्यानमा राख्दै नेपालले यूएईमाथि जित हात पारे एक खेल बाँकी रहँदै छनोटमा पुग्ने लक्ष्य पूरा गर्यो। अब नेपाल र थाइल्यान्डले एसियाबाट टी–२० विश्वकप छनोटमा सहभागिता जनाउने छन्।
‘इतिहास रच्न सफल भयौं, नेपाली महिला क्रिकेटले यस्तो स्तरको सफलता यसअघि अनुभूति गरेको थिएन,’ कप्तान इन्दुले बैंककबाट भनिन्, ‘अब विश्वकप पुग्न एक कदममात्र बाँकी छ, थाइल्यान्डलाई पराजित गरी एसिया च्याम्पियन बन्ने चाहना छ।’
विश्वकप छनोटमा १० टोली सहभागी हुनेछन्। त्यसमध्ये शीर्ष ४ टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने टी–२० विश्वकपमा स्थान पाउनेछन्। यसअघि न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत, पाकिस्तान, इंग्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले विश्वकपमा सिधा प्रवेश गरिसकेका छन्।
विश्वकप छनोटमा बंगलादेश, स्कटल्यान्ड, अमेरिका, युरोप र अफ्रिकाबाट दुई–दुई तथा इस्ट एसिया प्यासिफिक क्षेत्रबाट एक गरी थप ५ टोली रहने छन्। छनोटको मिति र आयोजक राष्ट्र भने तय भइसकेको छैन।
नेपालले सन् २००७ देखि अन्तर्राष्ट्रिय महिला क्रिकेट खेल्न थालेको हो। पहिलो सहभागितामै एसीसी महिला च्याम्पियनसिपको फाइनल पुगेर बंगलादेशसँग पराजित भएको नेपाली टोलीको प्रदर्शन त्यसयता ओरालो लाग्दो थियो। त्यसपछि सोमबारको सफलता नेपाली महिला क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठुलो उपलब्धि बनेको छ।
खेलको क्रममा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो। कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् भने थिर्था सतीशले २१, हीना होतचाँदनीले २० र लावण्य केनीले १२ रन जोडे।
नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिई उत्कृष्ट प्रदर्शन गरिन्। उनले यूएईकी कप्तान ओजालाई आउट गरेपछि नेपाल बलिङमा हाबी बन्यो। प्लेयर अफ द म्याच घोषित भएकी कप्तान इन्दुले उक्त पुरस्कार मनीषालाई प्रदान गर्दै भनिन्, ‘मनीषाले इकोनोमिक बलिङ गर्दै महत्वपूर्ण विकेट लिएकी थिइन्, त्यसैले पुरस्कारको सच्चा हकदार उनी हुन्।’
नेपालका कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १८ रन दिँदै २ विकेट लिइन् भने राजमती ऐरीले ४ ओभरमा २२ रन खर्चेर १ विकेट हात पारिन्।
नेपालले ३ बल बाँकी रहँदै लक्ष्य भेटायो। कप्तान इन्दु बर्माले अविजित ३० रन बनाउँदै टोलीलाई जित दिलाइन्। ओपनर सम्झना खड्काले २१, उपकप्तान पूजा महतोले १३, रुबिना क्षेत्रीले २३ तथा रुबि पोदारले ६ रन बनाइन्।
‘सफलताको मुख्य कारण टोलीको संयमता, योजनाबद्धता र जिम्मेवारीप्रति बुझाइ हो,’ इन्दुको विश्लेषण छ।
यद्यपि समूह चरणको अन्तिम खेलमा वर्षाको कारण नेपाल बाहिरिने जोखिममा पुगेको थियो। तर बहराइनविरुद्धको खेल रद्द भएपछि नेपाल ‘सुपर थ्री’ मा पुग्न सफल भएको हो।
‘भाग्यले साथ दियो तर तयारीमा कुनै कमी थिएन,’ इन्दुले अन्त्यमा भनिन्, ‘महिला क्रिकेटमा अझ लगानी र म्याचको वातावरण चाहिन्छ।’
#टी#२०# विश्वकप #छनोट
खेलकुद
आईपीएलप्रेमीका लागि खुशीको खबर
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares