विराटनगर – चिनियाँ लडाकु विमानले भारतीय रफाल विमानमाथि सफलता पाएको चर्चा चुलिएको बेला भारतले ‘अपरेसन सिन्दुर’ सार्वजनिक गर्दै पाकिस्तान र पीओकेमा आतंककारीको लक्ष्यहरूमा निर्णायक प्रहार गरेको प्रमाण सार्वजनिक गरेको छ ।
भारत र पाकिस्तानबीच शनिबार राति युद्धविरामको घोषणा भएपछि पहिलो पटक भारतीय थल, जल र वायु सेनाले आइतबार साँझ संयुक्त पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिएका हुन्। थलसेनाका डिजीएमओ लेफ्टिनेन्ट जनरल राजीव घई, वायु सेनाका डीजीएओ एयर मार्शल एके भारती र नौसेनाका डीजीएनओ भाइस एडमिरल एएन प्रमोदसहितका उच्च अधिकारीले ‘अपरेसन सिन्दूर’ सम्बन्धी जानकारी प्रस्तुत गरे।
एयर मार्शल भारतीले मई ६ र ७ को राति भारतले सीमा पार गरेको लक्षित आक्रमणका तस्बिर देखाउँदै आतंककारीको आधारशिविर र सैन्य संरचनामा सटीक प्रहार गरिएको उल्लेख गरे। उनले बहावलपुर र मुरीदकेजस्ता लश्कर–ए–तैयबा संचालित कुख्यात शिविरहरू निसानामा परेको जनाए।
‘९ स्थानमा आकस्मिक आक्रमण, सयभन्दा बढी आतंककारी मारिए’
भारतीय सेनाले पाकिस्तान तथा पीओकेमा रहेका ९ स्थानमा सटीक आक्रमण गरेको र तीमध्ये केही पहिल्यै खाली गरिइसकेको जनाएको छ। भारतले अपरेसनको उद्देश्य योजनाकार र आतंककारी संरचना ध्वस्त पार्ने रहेको स्पष्ट पारेको छ।
‘सेनाले प्राप्त सूचनाको आधारमा यथोचित लक्ष्य निर्धारण गर्यो,’ जनरल घईले भने, ‘पुलवामा आक्रमण र आईसी–८१४ अपहरणमा संलग्न युसुफ अजहर, अब्दुल मलिक रऊफ, मुदस्सिर अहमदजस्ता उच्चस्तरीय आतंककारी मारिएका छन्।’
उनका अनुसार कारबाहीको क्रममा ‘कोलैटरल ड्यामेज (नागरिक हताहती र नागरिक पूर्वाधारको क्षति)’ नहोस् भन्ने कडाइका साथ निर्देशन दिइएको थियो। ‘हाम्रो कारबाही सन्तुलित, सीमित र सटीक थियो,’ उनले भने।
ड्रोन आक्रमण र जवाफी प्रहार
मई ७ को साँझ पश्चिमी सीमामा पाकिस्तानका दर्जनौं ड्रोनहरू देखिएपछि भारतीय पक्षले तत्काल जवाफी कारबाही गरेको वायुसेनाले जनाएको छ। केही ड्रोनहरू आवासीय तथा सैन्य क्षेत्रमा देखिए पनि समयमै अवरोध गरिएकाले ठूलो क्षति नभएको जनाइएको छ।
‘हामीले आतंककारीहरूलाई निसाना बनायौं तर पाकिस्तानले नागरिक र सैन्य संरचनालाई लक्षित गर्यो,’ एयर मार्शल भारतीले भने ।
भारतले पुनः जवाफी कारबाही गर्दै लाहौर र गुजराँवालाका निगरानी केन्द्रहरूमा प्रहार गरेको पनि जानकारी दिइयो। भारतका विभिन्न सहरहरूमा श्रीनगरदेखि नलियासम्म ड्रोन आक्रमण भए पनि सर्तकताका कारण क्षति न्यून रहेको बताइएको छ।
रफाल विमान खसेको दाबीको खण्डन
पाकिस्तानी सेनाले भारतका दुई रफाल विमान खसालेको दाबी गरेपछि एयर मार्शल भारतीले भने, ‘हामी युद्धस्थितिमा छौं, क्षति सम्भव छ, तर मुख्य कुरा के हाम्रो लक्ष्य सफल भयो ? उत्तर हो – भयो।’
उनले थपे, ‘हाम्रा सबै पाइलटहरू सुरक्षित छन्। कुन प्लेटफर्म गुमायौं भन्ने कुरा अहिले खुलाउन उपयुक्त हुँदैन।’
नौसेनाको समुद्री रणनीति
वाइस एडमिरल प्रमोदका अनुसार अपरेसन सिन्दूरअन्तर्गत पनडुब्बी र युद्धपोतहरू अरब सागरको उत्तरतर्फ तैनाथ गरिएका थिए। ‘९६ घण्टाभित्र हाम्रो रणनीतिक उपस्थिति मजबुत बनाइयो,’ उनले भने, ‘यसले पाकिस्तानलाई रक्षा मोडमा धकेल्यो।’
युद्धविराम छलफल र उल्लंघन
लेफ्टिनेन्ट जनरल घईले शनिबार बेलुकी ३ बजेटर ३५ मिनटमा पाकिस्तानी समकक्षीसँग भएको संवादपछि साँझ ५ बजे युद्धविरामको सहमति भएको जानकारी दिए। तर त्यो सहमति केही घण्टामै तोडिएको भन्दै उनले गम्भीर आपत्ति जनाए।
‘उल्लंघन रातभरि मात्र होइन, बिहानसम्म चल्यो,’ उनले भने, ‘हामीले कडाइका साथ जवाफ दियौं र पाकिस्तानलाई यसको जानकारी गराइएको छ।’
#अपरेसन सिन्दूर
विश्व/प्रवास
टिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददाता१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध
द नेप्लिज संवाददाताअमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताएयर इन्डियाको बोइङ दुर्घटनाः २०४ जनाको मृत्यु, ५० जना घाइते
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares