विराटनगर– लामो समयदेखि जग्गाको मुआब्जा विवादले अलपत्र रहेको राष्ट्रिय गौरबको आयोजना भारतको बथनाहा–कटहरी रेलमार्ग निर्माणको बाटो खुलेको छ ।
रेलमार्ग निर्माणका लागि सरकारले अधिग्रहण गरेको ११९ विघा जग्गामध्ये १२ विघाको मुआब्जा कम भएको भन्दै कटहरीका २२ जना किसानले सर्वोच्च अदालतमा दिएको रिट खारेज भएसँगै रेलमार्ग निर्माणको बाटो खुलेको हो । जिल्ला प्रशासन कार्यालय मोरङको तथ्यांक अनुसार २२ जना जग्गाधनीको ६ करोड ५० लाख मुआब्जा वितरण गर्न बाँकी रहेको छ ।
रेल विभागका प्रवक्ता कमलकुमार शाहले सर्वोच्च अदालतले रिट खारेज गरेको बताएका छन् । उनले फैसलाको पूर्ण पाठ आइसकेकोले भारतीय पक्षसँग रेलमार्ग निर्माणका लागि छलफल अगाडि बढाएको बताएका हुन् ।
सर्वोच्च अदालतका न्यायाधिस कुमार चुडाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गत असोज ७ गते जग्गाको वस्तुगत अवस्थाका आधारमा मुआब्जा निर्धारण भएको भन्दै निवेदकको कानुन प्रदत्त अधिकारमा कुनै आघात पर्ने नदेखिन आएकोले रिट निवेदन खारेज हुने ठहर गरेको छ ।
भारत सरकारको सन् २०१८ सम्ममा बथनाहा–कटहरी रेलमार्ग निर्माण पूरा गर्ने लक्ष्यका साथ काम सुरु गरेका थिए । तर जग्गा मुआब्जा विवादले हालसम्म विराटनगर–रगेली सडकभन्दा उत्तरतर्फ २ दशमलव ६ किलोमिटर रेलमार्गका साथै रेलवे यार्ड र स्टेशन निर्माणका लाागि भारत सरकारले टेण्डरसमेत निकाल्न सकेका छैनन् ।
रेल विभागका प्रवक्ता शाहले भारतीय पक्षलाई जग्गाको मुआब्जा विवाद टुंगिएको कागजातसहित छलफल भइसकेकोले अब चाँडै टेण्डर आह्वान गरेर बाँकी निर्माण काम सुरु हुने बताए ।
भारतको बथनाहादेखि विराटनगर–रंगेली सडकसम्म भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा रेलमार्ग निर्माणको काम गरिरहेको छ । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारत सरकारले भौतिक पूर्वाधारलगायतको काम गर्ने द्वपक्षीय सम्झौता अनुसार रेलमार्ग निर्माण भइरहेको हो । रेलमार्ग निर्माणका लागि भारत सरकारले इरकोण इन्टरनेशनल लिमिटेड फार्बिसगञ्ज, भारतलाई ठेक्का दिएको छ ।
निर्माण कम्पनीले विराटनगर १८ लावाघाटबाटसम्मको निर्माण काम पूरा गरी परीक्षणसमेत गरेपछि २०८० जेठ १८ गते भारत भ्रमणमा गएका तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । नयाँ दिल्लीस्थित प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गाे रेल्वे सेवा औपचारिक रूपमा सुरु गरेका थिए । हरियो झण्डा देखाएपछि भारतको बथनाहबाट छुटेको कार्गो रेल आरती स्ट्रिप्स उद्योगको जस्तापाता बनाउने एचआर क्वाइल २ हजार ४ सय मेट्रिक टन कच्चा पदार्थ विराटनगर आइपुगेको थिया । त्यसपछि रेलमार्ग निर्माणको काम अबरुद्ध छ ।
भारतको बुधनगरदेखि कटहरीसम्मको १८ दशमलव ६ सय १ किलोमिटर रेलमार्गमध्ये ५ किलोमिटर भारतमा पर्छ भने नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किलोमिटर पर्छ । अहिलेसम्ममा बथनाहादेखि लावाघाटसम्म ७ दशमलव ६ किलोमिटर रेल मार्ग निर्माण भएको छ ।
‘भारतको भेडियारी, नेपालको बुधनगर र कटहरीमा गरी तीन वटा रेलवे स्टेशन निर्माण गर्नुपर्नेमा अब कटहरीको मात्रै बाँकी छ,’ निर्माण कम्पनीका इञ्जिनियर आशिष ठाकुरले भने, ‘भेडियारीमा र बुधनगरमा १ हजार ५ सय मिटर लामो र १ सय ५० मिटर चौडा रेलवे स्टेसन निर्माण भइसकेको छ र रेलवेको कर्मचारीहरुको आवासका लागि ४ वटा भवनमा १६ वटा अवास र खानेपानीको ट्यांकी निर्माण भइसकेको छ ।’ उनले विराटनगर–रंगेली सडकभन्दा उत्तरतर्फ नेपाल सरकारले जग्गा अधिग्रहण गरेर दिएपछि सिंघीया खोलामा पूलसमेत निर्माण गर्नुपर्ने बताए ।
कटहरी गाउँपालिका १ स्थित ४५ विघा जग्गामा प्लेटफर्म निर्माणका लागि सरकारले किसानहरुको जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । उक्त जग्गामध्ये १२ विघाको मुआब्जा कम भएको भन्दै किसानहरु आन्दोलनरत थिए । उनीहरुले जग्गाको उचित मूल्यांकन हुनुपर्ने वा जग्गाको बदला सरकारले जग्गा नै उपलब्ध गराउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares