विराटनगर– स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले कारण देखाउ आदेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि विपक्षीलाई बुधबार छलफलमा झिकाउने सोमबार कारण देखाउ आदेश गरेको हो ।
इन्सेकको रिटमा बरिष्ठ अधिवक्ता डिल्ली दाहाल र अधिवक्ता कोषराज न्यौपानेले बहस गरेका थिए । इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहरकुमार पोखरेलले दायर गरेका रिटमा संविधानमा भएको स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूतिको माग गर्दै प्रदेश सरकारसहित पाँच वटा निकायलाई विपक्षी बनाइएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सुनसरीको दुहवी नगरपालिका र दुहवी नगरपालिका ६ स्थित एशियन लेदर उद्योग बिरुद्ध रिट दायर गरिएको हो ।
एशियन लेदर उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन नगर्दा स्थानीयले संविधानले प्रदान गरेको स्वच्छ वातावरणसम्बन्धी मौलिक हकबाट वञ्चित हुनु परेको भन्दै उद्योग र प्रदेश सरकारविरुद्ध अदालतमा परमादेशको रिट दर्ता गराएको संयोजक पोखरेलले बताएका छन् । रिटमा संविधानले धारा ३० (१) मा प्रदान गरेको प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने मौलिक हक प्रत्याभूतिको माग गरिएको छ ।
रिटमा मौलिक हक कार्यान्वयनका लागि वातावरण संरक्षण ऐन, कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६, कोशी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा व्यवस्था गरिएका शर्त र मापदण्डहरु कार्यान्वयनको माग गरिएको छ ।
सुनसरीको दुहवी नगरपालिका ६ मा रहेको एशियन लेदर उद्योग र युनाइटेड टेनेरिज उद्योगका कारण त्यस क्षेत्रमा स्थानीय वर्षौदेखि पीडित हुँदै आएका छन् । छाला उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कनको प्रभावकारी कार्यान्वयन नगर्दा पर्यावरणमा समेत प्रत्यक्ष प्रभाव पर्दै आएको छ ।
इन्सेकका अनुसार छाला प्रशोधन गर्ने उद्योगबाट निस्कने रसायनयुक्त दुर्गन्धित पानीले वातावरण प्रदुषण भई सो उद्योग आसपास बस्ने नागरिकहरू, कोशी राजमार्गमा यात्रा गर्ने यात्रीहरू, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र आर्थिक रूपमा विपन्न समुदाय लगायतको मौलिक हक हनन भईरहेको छ ।
प्रदुषणले नागरिकहरूलाई सास फेर्न गाहृो हुने, बालबालिका र ज्येष्ठ नागरिकहरू बिरामी हुने, स्थानीयवासीसँग विहेबारी गर्न नमान्ने, विस्थापित हुनुपर्ने र घरजग्गा बिक्री नहुनेजस्ता समस्याहरू देखिएका छन् । सो उद्योगहरूले रसायनयुक्त पानी बुढीखोलामा मिसाउने गरेकाले मानवसहित वस्तुभाउहरूको समेत स्वास्थ्यमा असर गर्दै आएको स्थानीयको गुनासो छ ।
यस उद्योगको दुई सय मिटरमा दुहबी चिल्ड्रेन एकेडेमी विद्यालय छ जसमा अध्ययन गर्ने बालबालिकाहरू समेत उक्त उद्योगको प्रदुषणबाट समस्यामा परेका छन् । यस विषयमा स्थानीय नागरिकहरूले छाला उद्योग पीडित संघर्ष समिति नै गठन गरी राष्ट्रपति, प्रधानमन्त्री, कोशी प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्रालयहरु, दुहबी नगरपालिका लगायत अन्य सरोकारवाला निकायहहरूलाई पटक–पटक लिखित रूपमा ध्यानाकर्षण गराईसकेको छ । जनजीवन प्रभावित गरिहेको सो उद्योग मानव बस्तीभन्दा टाढा एकान्त स्थानमा स्थानान्तरण होस् भनी स्थानीयवासीले निरन्तर आन्दोलन गर्दै आए पनि हालसम्म उद्योग स्थानान्तरण भएको छैन् ।
समाचार
टिफरको ठक्करले एक जनाको मृत्यु
द नेप्लिज संवाददातासामुदायिक वनबाट ग्रोभेलको तस्करी गर्न पोखरी खन्ने नाटक
द नेप्लिज संवाददातायोगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares