काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहराको ७४ वर्षको उमेरमा मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद बोहरा लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए । कोरोना महामारीको दोस्रो लहरमा २०७७ जेठमा संक्रमित भएपछि उनको घाँटीमा समस्या देखिएको थियो जसका कारण उनी बोल्न असमर्थ थिए ।
संक्रमणको केही समयपछि उनलाई पोस्ट–कोभिड लक्षणहरू देखिएको थियो । स्वरमा परिवर्तन र समस्या देखिएकाले उनी चुनावी प्रचार–प्रसारकै क्रममा समेत बोल्न नसक्ने अवस्थामा थिए । थप उपचारका लागि दिल्ली र न्युयोर्क पुगेका बोहरा स्पिच थेरापी लिँदै आएका थिए । पछिल्लो समय भने उनी घरमै स्वास्थ्य लाभ गरिहेका थिए ।
बोहराले आफ्नो राजनीतिक यात्रा २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यका रूपमा सुरु गरेका थिए । पञ्चायतकालमा उनले पाँच पटक मन्त्री पद सम्हालेका थिए । यसमा पर्यटन, निर्माण तथा यातायात लगायतका मन्त्रालयहरू समावेश थिए । बहुदलीय व्यवस्थापछि पनि उनले विभिन्न समयमा मन्त्री पदमा रहेर सेवा गरेका थिए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले रुपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै सांसद निर्वाचित भएका थिए । स्वास्थ्य समस्याका कारण उनले चुनावी सभाहरूमा सम्बोधन गर्न नसके पनि मतदाताको विश्वास जित्न सफल भएका थिए । बोहरालाई एमाले र जसपाको समेत समर्थन थियो ।
बोहराको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राख्ने र अन्तिम संस्कारको सम्बन्धमा परिवारसँग सल्लाह गरेर निर्णय लिइने बताइएको छ । उनको निधनले सबैलाई स्तब्ध पार्दै नेपाली राजनीतिमा अपूरणीय क्षति पुगेको राप्रपा नेताहरूले बताएका छन् । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बोहराको निधनबाट राप्रपाले समन्वयकारी छवि भएको संस्थापक नेता, रुपन्देहीले विकासप्रेमी लोकप्रिय जनप्रतिनिधि र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको बताए ।
बोहोरा नेपालको राजनीतिमा झन्डै ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनी २०३८ सालमा पर्यटन राज्यमन्त्री र पर्यटन सहायकमन्त्री, २०४० मा पर्यटन राज्यमन्त्री, २०४३ मा निर्माण तथा यातायात राज्यमन्त्री, २०४४ मा निर्माण तथा यातायातमन्त्री, २०६७ मा वन तथा भूसंरक्षण मन्त्री, २०७२ मा श्रम तथा रोजगार मन्त्री, २०७३ सालमा आपूर्तिमन्त्री र २०७४ मा स्वास्थ्यमन्त्री बनेका थिए ।
उनको पार्थिव शरीर आज गृहनगर भैरहवा लगिएको छ। श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको पार्थिव शरीर रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ। पार्थिव शरीर आजै काठमाडौँ ल्याइने छ। भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म बोहोराको शव श्रद्धाञ्जलीका लागि राप्रपा केन्द्रीय कार्यालयमा राखिने छ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares