२६ वैशाख २०८२, शुक्रबार 09 May 2025, Friday

पूर्वराजाको नगरकोट बैठक र राजसंस्था पुनर्स्थापनाको तयारी

द नेप्लिज संवाददाता
२५ वैशाख २०८२, बिहीबार

Advertisement

विराटनगर — पूर्वराजा ज्ञानेन्द्र शाह एक सातादेखि भक्तपुरको नगरकोटस्थित सोल्टी वेस्ट इन्ड रिसोर्टमा बसेका छन्, जहाँबाट उनी राजावादी नेताहरूसँग एकपछि अर्को भेटवार्ता गरिरहेका छन्। विश्वस्त स्रोतहरूका अनुसार शाह वैशाख १५ देखि नगरकोटमा छन् र त्यहीँबाट राजनीतिक सन्देश दिने तहसम्मको गतिविधिमा सक्रिय छन्।

पूर्वराजा शाहले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, दोस्रो तहका राजावादी नेताहरु राजेन्द्र गुरुङ, शरद राज पाठक, प्रेम बलायर, निरञ्जन थापा, निराजन बमलगायतलाई नगरकोटमै बोलाएर छलफल गरेका छन्। भेटवार्तामा मुख्य विषयवस्तु ‘राजसंस्था पुनर्स्थापना र आगामी आन्दोलनको रणनीति' रहेको स्रोतहरू बताउँछन्।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले शाह र थापाबीचको भेट पुष्टि गर्दै समसामयिक विषयमा छलफल भएको जानकारी दिए पनि विस्तृत विवरण खुलाएनन्। तर अन्य स्रोतहरूका अनुसार पूर्वराजाले सबै राजावादी धारहरूलाई नवराज सुवेदी नेतृत्वमा गोलबद्ध हुन आग्रह गरेका छन्। उल्लेखनीय छ, सुवेदी नेतृत्वको अभियानको प्रारम्भिक चरणमा राजेन्द्र लिङ्देन सहभागी थिएनन् तर पछिल्लो मोडमा उनी पनि अभियानमा सहमत भएको खुलासा भएको छ।

राजावादी धारले बिहीबार संयुक्त पत्रकार सम्मेलनमार्फत ‘राजसंस्था पुनर्स्थापनाका लागि आगामी जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। उक्त कार्यक्रमको नेतृत्व नवराज सुवेदीले गर्दै छन्। कार्यक्रममा लिङ्देन, कमल थापा, र अन्य राजावादी नेताहरूको उपस्थितिलाई ‘राजसंस्था पुनर्स्थापनामा सहमति र एकता’ को संकेतका रूपमा हेरिएको छ।

पूर्वराजा शाह हाल परिवारसहित नगरकोटमै रहेका छन्। उनका एक सहयोगीले भने,‘उहाँ कहिले कता कहिले कता गइरहनुहुन्छ, तर केही दिन यतै बस्नुहुन्छ।’

यो गतिविधिलाई संविधानतः गणतन्त्रात्मक व्यवस्थामा वैधानिक चुनौतीका रूपमा पनि हेरिएको छ। तर हालसम्म कुनै संवैधानिक अङ्ग वा सुरक्षा निकायले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। विगतमा निष्क्रिय रहँदै आएका शाहको पछिल्लो ‘सक्रिय समन्वय’ को भूमिका राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।
 

प्रकाशित : २५ वैशाख २०८२, बिहीबार 23:28
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved