विराटनगर– ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित सडक खण्डमा पाथीभरा दर्शनका लागि गइरहेको बोलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा सोमबार बिहान चार जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मे १ ज ३०११ नम्बरको बोलेरो गाडीमा अचानक विद्युत् लाइनको लत्रिएको बिजुलीको तार गाडीमा खस्दा वा छुँदा आगो लागेको हो । गम्भीर आगलागीपछि चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडी चालक फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । यात्रु लिएर जीप बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो ।
दुर्घटनामा परी मृत्यु भएकाको शव नचिनिने अवस्थामा रहेको स्थानीयले जनाएका छन् । घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य गम्भीर घाइते छिन् भने उनका १० वर्षीय छोरा भविमय आचार्य मध्यम घाइते छन् । दुवैलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको उक्त प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गाडीमाथि कसरी विद्युत् तार खसेर वा छोएर दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
कालिकोटमा ट्र्याक्टर दुर्घटनामा चारको मृत्यु
उता कालिकोटको पलाँता गाउँपालिका–२ लार्फमा आइतबार राति ट्र्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ । पलाँता–९ थिर्पुबाट खुद्रा तथा खाद्यान्न बोकेर खिनको छलाहा जाँदै गरेको ट्र्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा राति साढे एघार बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी चालकसहित चार जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतले बताए । दुर्घटनामा मुगु खत्याड–५ घर भएका २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया, पलाँता–५ का २६ वर्षीय अम्बा शाही, पलाँता–४ का २१ वर्षीय सदु बुढा, पलाँता ४ का २१ वर्षीय रबिन्द्र बिकको मृत्यु भएको छ ।
राति नै कहरदेव अस्थाइ प्रहरी पोष्टबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल गएको डीएसपी रावतले जानकारी दिए । उनका अनुसार मेटिएको अवस्थामा भएकाले ट्र्याक्टरको नम्बर खुलेको छैन । ब्लु बुक पनि भेटिएको छैन । ट्र्याक्टरको इन्जिन सडकबाट २ सय मिटर तल र ट्रली ६०० मिटर तल खोचमा खसेको छ ।
यी दुइटै घटनाहरूले नेपालको ग्रामीण क्षेत्रमा सवारी सुरक्षाको गम्भीर अवस्था देखाउँछन् । ताप्लेजुङको घटनामा विद्युत् लाइनको सुरक्षा व्यवस्थापनमा कमजोरी देखिन्छ जसले यात्रुहरूको ज्यान लियो । कालिकोटको घटनामा ट्र्याक्टरको मर्मत र सुरक्षाको अभावले दुर्घटना निम्त्याएको देखिन्छ ।
विज्ञहरुका अनुसार सरकार र सम्बन्धित निकायहरूले यस्ता घटनाहरूको गम्भीरता बुझेर आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्नु आवश्यक छ । विद्युत् लाइनहरूको नियमित निरीक्षण, सवारी साधनहरूको मर्मत र चालकहरूको तालिममा ध्यान दिनु अत्यावश्यक छ । यस्ता दुर्घटनाहरूको पुनरावृत्ति रोक्नका लागि प्रभावकारी नीति र कार्यान्वयन आवश्यक छ ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares