विराटनगर– टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि तनावग्रस्त बनेको मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारको स्थिति तीन घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन ९ राउण्ड हवाईफायर र ८ सेल अश्रुग्यास प्रहार गर्नुपर्यो । भड्पमा टाउकोमा ढुंगा लागेर मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशी सामान्य घाइते भएका छन् ।
विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान करिब ११ बजे ठक्कर दिंदा सुनसरीको दुहबी–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनालगत्तै प्रहरीले टिपर चालक बारा घर भइ मोरङको सुन्दरहरैँचा–१२ मा बस्दै आएका २५ वर्षीय पवन योन्जनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनालगत्तै जम्मा भएको भिडले विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध गर्दै प्रदर्शन गर्दा स्थिति तनावग्रस्त बन्न पुग्यो ।
विभिन्न युनिटबाट थप सहयोग सहित डीएसपी जोशी र डीएसपी मदन केशीको नेतृत्वमा ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो । हिंसा भड्किन नदिन ठूलो संख्यामा सशस्त्र प्रहरी बल पनि घटनास्थलमा पुगेको थियो ।
भिडले ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गरेको थियो । झण्डै ५ सय जनाको भीडले घटनास्थलमा रहेको टिपर हटाउने क्रममा ढुंगामुढा गरेको स्थलगत रिर्पोटिंगमा पुगेका सञ्चारकर्मीहरुले बताएका छन् ।
मृतकको शवलाई सडकबाट उठाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी नै परेको थियो । प्रहरीका अनुसार भाला र लाट्ठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले शव सडकमै राखेर ढुंगामुढा गर्दै टिपरमा आगो लगाउन खोजेका थिए । प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर गर्दै मृतकको शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल ल्याएको थियो । मोटरसाइकललाई ठक्कर दिने टिपरलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याइएको छ ।
दिउँसो २ बजेपछि हरैँचा बजारको अवस्था सामान्य बनेको स्थानीयले बताएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गरेका कारण करिब ३ घण्टा सम्म सवारीसाधन ‘डाइभर्ट’ गर्न ट्राफिक प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनकारीले टिपर चालकको दादागिरी बढेको र तीव्र गतिका कारण दुर्घटना भएको आरोप लगाएको छ ।
उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति र चालकलाई हदै सम्मको कारवाही गर्नुपर्नेलगायतका माग प्रदर्शनकारीको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गिट्टी लोड गरिएको टिपरको तीव्र गतिकै कारण दुर्घटना भएको हो । कान्छाराम कन्स्ट्रक्सनको उक्त टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको खुलेको छ ।
यता विराटनगर–५ इक्राहीमा शुक्रबार अपरान्ह बाँस बोकेको ट्याक्टर दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका–२ का ४५ वर्षीय गंगाराम साहको मृत्यु भएको छ। बाँस लोड गरेर दावाबन्दीबाट केशलियातर्फ जाँदै गरेको प्रदेश १–०४–००१ त ०४१० नम्बरको ट्याक्टर दुर्घटनामा परेको मोरङ ट्राफिकको भनाइ छ।
प्रहरीका अनुसार ट्याक्टरले किचेर साह गम्भीर गम्भीर घाइते भएका थिए । उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको थियो । दुर्घटनालगत्तै फरार ट्याक्टर चालकको खोजी जारी राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
समाचार
योगले आत्मा, शरीर र मनबीचको सन्तुलन कायम गराउँछः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददातासंकटमा उद्धार चाहिँ भैयाले नै गर्छ...
द नेप्लिज संवाददाताकोशी सरकारबिरुद्ध कारण देखाउ आदेश
द नेप्लिज संवाददातादृष्टिको ‘सेटिङ रिपोर्ट’ अब न्यायिक परीक्षणमा : शम्भु श्रेष्ठमाथि फौजदारी प्रक्रिया सुरू
द नेप्लिज संवाददातामनमोहन प्राविधिक विश्वविद्यालय पार्टी विश्वविद्यालय भएको छः पूर्वमुख्यमन्त्री कार्की
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares