२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

राप्रपाका अध्यक्षसहित तीन नेता पक्राउ

द नेप्लिज संवाददाता
७ वैशाख २०८२, आइतबार

Advertisement

काठमाडौँ — सिंहदरबारभित्र सरकारविरुद्ध सांकेतिक प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीनजना शीर्ष नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अध्यक्ष लिङ्देनसँगै राप्रपाका उपाध्यक्ष एवं संघीय संसद्का उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाही छन् । उनीहरूलाई सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पार्टीले आइतबार सिंहदरबार क्षेत्रभित्रै सरकारविरुद्ध नारासहितको पम्प्लेट देखाएर प्रदर्शन गरेको थियो । त्यसक्रममा प्रहरीले उनीहरूको पम्प्लेट खोसेको र शंकास्पद गतिविधि देखिएको भन्दै तीनैजनालाई प्रहरी भ्यानमार्फत उक्त क्षेत्रबाट बाहिर ल्याइएको हो । अहिले उनीहरूलाई काठमाडौं प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ । राप्रपाले भने बानेश्वर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरिरहेको  छ । राप्रपाका अध्यक्ष लिङ्देन सहित अहिले सम्म ७ जनालाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरीले पुष्टि गरेको छ । 

प्रहरी नियन्त्रणमा रहेका नेताहरुलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । नेताहरुको पक्राउ लगतै राप्रपाद्वारा जारी विज्ञप्तिमा  भनिएको छ, ‘शान्तिपूर्ण विरोधलाई बल प्रयोगमार्फत रोक्ने सरकारी रवैयाले लोकतन्त्रको मर्यादा उल्लंघन गरेको छ । यदि नेताहरूलाई तत्काल रिहा नगरिए जनस्तरको निर्णायक आन्दोलन हुने छ ।’

निषेधित क्षेत्र तोड्दै सरकारविरुद्ध आवाज
राप्रपाले आइतबार सिंहदरबार आसपासको निषेधित क्षेत्र तोड्ने योजना सार्वजनिक गरेको थियो । कार्यकर्ताहरू माइतीघर मण्डला, नयाँ बानेश्वर लगायतका स्थानमा प्रदर्शनमा उत्रिन तयार भइरहेका बेला पार्टीका सांसदहरू सिंहदरबारभित्रैबाट सरकारविरुद्धको विरोधमा उत्रेका थिए । सांसदहरूले ‘बोल्न पाउने, लेख्न पाउने, प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित नगर्नू’, ‘तीनकुने घटनाको न्यायिक छानबिन गर’, ‘नेता कार्यकर्तालाई रिहा गर’ लगायतका नारासहितको पम्प्लेट प्रदर्शन गरेका थिए ।

‘लोकतान्त्रिक अधिकार कुण्ठित हुँदै’
प्रदर्शनकै क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले भने, ‘जनताको सरकार जनताबाट टाढिँदै गएको छ । हामीले सिंहदरबारमै उभिएर सरकारलाई सुनाउन खोजेका हौँ तर बोल्न र देखाउन पनि अब रोकिन थालेको छ ।’

यसअघि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत आफूहरूलाई सिंहदरबारमै ‘बंधक’ बनाइएको दाबी गरेका थिए । उनका अनुसार संसदीय दलको कार्यालय अगाडि बाक्लो प्रहरी बल परिचालन गरिएको थियो ।

पृष्ठभूमि : तीनकुने घटना र असन्तोष
राप्रपाका नेताहरू पछिल्लो समय काठमाडौँको तीनकुनेमा भएको गोलीकाण्डसम्बन्धी छानबिनको माग गर्दै सडक संघर्षमा छन् । सो घटनाबारे न्यायिक छानबिन आयोग गठनको माग गर्दै पार्टीले आन्दोलन चर्काइरहेको छ । पार्टीको स्थायी समिति बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै सिंहदरबारभित्र र निषेधित क्षेत्रमा समेत प्रदर्शन गर्ने रणनीति लिएको थियो ।
 

प्रकाशित : ७ वैशाख २०८२, आइतबार 14:41
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved