२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

राप्रपाको पहलमा राजसंस्था समर्थक शक्तिहरू एकजुट : नयाँ मोर्चा बन्ने संकेत

द नेप्लिज संवाददाता
१५ वैशाख २०८२, सोमबार

Advertisement

विश्लेषकहरू : एजेन्डा साझा भए पनि स्थायी एकता सहज छैन

काठमाडौँ – लामो समयदेखि राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र घोषणाको माग गर्दै आएका विभिन्न समूह र नेताहरू सोमबार पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । कमल थापाको नेतृत्वमा रहेको राप्रपा (नेपाल) ले आयोजना गरेको कार्यक्रममा समान एजेण्डा बोकेका तर फरक–फरक रूपमा क्रियाशील शक्तिहरू सहभागी भएका हुन्। कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, नेपाली कांग्रेस (बीपी) र शिवसेना नेपालका प्रतिनिधिहरूको उपस्थिति देखियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर शक्तिहरूलाई आग्रह र पूर्वाग्रह छोडेर एकीकृत हुन आह्वान गरे। उनले भने, ‘देशले आज आशाका नजरले हामीतिर हेरिरहेको छ। त्यसैले सबै देशभक्त शक्तिहरू एक ठाउँमा बसेर देशलाई निकास दिन अगाडि बढ्न जरुरी छ।’ लिङ्देनले मुलुक सतही रूपमा स्थिर देखिए पनि भित्री रूपमा जटिल संकटबाट गुज्रिरहेको दाबी गरे।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विगतमा टुटफुट भइरहे पनि आवश्यकताका बेला राजसंस्था समर्थक शक्तिहरू एकजुट भएर अघि बढ्ने गरेको बताए। उनले राजसंस्था, हिन्दु राष्ट्र र बहुदलीय प्रजातन्त्रका लागि आआफ्नो स्थानबाट सक्रिय हुन आह्वान गरे। संघीयता देशको आवश्यकता नभएको दाबी गर्दै सुवेदीले त्यसलाई खारेज गर्नुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले मुलुकमा ’गुण्डा शासन’ रहेको आरोप लगाए। उनले विगतमा राजाले बनाएका सांसदहरूले नै रातारात राजसंस्था र हिन्दुराष्ट्र हटाएको दाबी गर्दै नेपालमा राजसंस्थाको पुनःस्थापना अपरिहार्य रहेको जिकिर गरे। विष्टले कम्युनिस्ट नेता मनमोहन अधिकारी र मदन भण्डारीले समेत नेपालमा राजाको भूमिकाको आवश्यकता औंल्याएको स्मरण गराए।

कार्यक्रममा राप्रपा (नेपाल) का अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति भएको दाबी गर्दै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। थापाले राप्रपा अध्यक्ष लिङ्देनले एकता पहल लिनुपर्ने आवश्यकता औंल्याउँदै, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि सामूहिक संकल्पको खाँचो रहेको बताए।

थापाले यदि राजसंस्था समर्थक शक्तिहरू एकढिक्का भएर अघि बढे, केही महिनामै राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना सम्भव हुने दाबीसमेत गरे। यो प्रयासलाई विश्लेषकहरूले लामो समयदेखि विभाजित देखिँदै आएको राजसंस्था समर्थक समूहमा एकता खोज्ने नयाँ प्रयासका रूपमा हेरेका छन् । तर विविध दलगत र वैचारिक मतभेदबीच वास्तविक एकता कत्तिको प्रभावकारी हुन्छ भन्ने विषयमा प्रश्न उठ्न थालेको छ।
 

प्रकाशित : १५ वैशाख २०८२, सोमबार 21:06
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved