२२ असोज २०८२, बुधबार 08 Oct 2025, Wednesday

कोशीमा बजेट ल्याउँदा ल्याउँदै एक लाख गायब

मन्त्री मगरले प्रस्तुत गरेको कूल बजेट र त्यसको आयका आधारमा खर्चतर्फ एक लाख गायब, बजेटको स्रोतमा पनि त्रुटीपूर्ण तथ्यांक
द नेप्लिज संवाददाता
१ असार २०८२, आइतबार

विराटनगर– कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आइतबार आउँदो आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाखको बजेटमा एक लाखको खर्च गायब भएको छ । मन्त्री मगरले आइतबार प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेट र त्यसको स्रोत अनुसार खर्चको हिसाब मिलेको छैन । बजेटको स्रोततर्फ पनि त्रुटीपूर्ण तथ्यांक राखिएको छ । 

मन्त्री मगरले प्रस्तुत गरेको कूल बजेटको खर्चअन्तर्गत चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजिगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड गरी कूल ३५ अर्ब ८७ करोड ९८ लाख मात्रै हुन आउँछ । तर मन्त्री मगरले ३५ अब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका हुन् । बजेटको स्रोततर्फको शिर्षकगत हिसाबका आधारमा ३५ अब ८७ करोड ९९ लाखको नै आय प्रस्तुत गरेका छन् । यसरी कूल बजेट र आय स्रोतका आधारमा बजेटको खर्चतर्फ एक लाख कमको त्रुटीपूर्ण तथ्यांक प्रस्तुत गरिएको हो । 

यस्तै, मन्त्री मगरले प्रस्तुत गरेको बजेटको खर्च ब्यहोर्ने स्रोतमध्ये  प्रदेश सरकारको आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्‍त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्‍त हुने रकमबाट ३५ करोड ६ लाख र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोड ब्यहोरिने उल्लेख छ । यो तथ्यांक पनि त्रुटीपूर्ण छ । राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख र रोयल्टीबाट प्राप्‍त हुने रकमबाट ३५ करोड ६ लाख र बाँकी अपुग रकम नगद मौज्दातबाट ३ अर्ब १३ करोडलाई जोड्दा ३६ अर्ब २३ करोड ५ लाख पुग्छ । तर मन्त्री मगरले बजेट ३५ अर्ब ८७ करोड ९९ लाखको मात्रै प्रस्तुत गरेका छन् । यसमा ३५ करोड ६ लाखको बढी जोडिएर त्रुटीपूर्ण तथ्यांक प्रस्तुत गरिएको छ । तर बजेटको खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व, राजश्व बाँडफाँड, समानीकरण, सशर्त, समपुरक, विशेष, रोयल्टी र नगद मौज्दातलाई शिर्षकगत रुपमा जोड्दा ३५ अर्ब ८७ करोड ९९ लाख नै हुन आउँछ । 

आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट बनाउने विज्ञ कर्मचारी हुँदाहुँदै कसरी त्रुटीपूर्ण बजेट निर्माण भयो भन्ने प्रश्न उठ्नु स्वभाविक हो । मन्त्रालयमा उच्च पदस्थ कर्मचारीहरुको जीवन यी यस्तै हिसाब मिलानमा नै बित्दै आएको अवस्थामा पनि आम प्रदेशवासी जनताका लागि ल्याएको ऐतिहासिक दस्तावेज बजेटमा यस्तो त्रुटीलाई विज्ञहरुले गम्भीर त्रुटीको रुपमा औल्याएको छ । बजेट ल्याउँदा ल्याउँदै यस्तो गम्भीर त्रुटी गर्नेले यो बजेट कसरी शुद्धता पूर्वक कार्यान्वयन गर्छ भन्ने प्रश्न उठन थालेको छ । प्रदेशवासीको ऐतिहासिक दस्तावेज बजेट ल्याउँदै ल्याउँदै यस्ता गम्भीर त्रुटी गर्ने मन्त्री तथा मन्त्रालयले बजेट परिचालन गर्दा कति त्रुटी गर्ला भन्ने प्रश्नसमेत विज्ञहरुले गर्न थालेका छन् । 

प्रकाशित : १ असार २०८२, आइतबार 20:47

थप समाचार

अर्थ/वाणिज्य

मौद्रीक नीति : नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

द नेप्लिज संवाददाता

रंगेली सवस्टेशनमा २४ एम्भीएको पावर ट्रान्सफर्मर जडान, सेवाग्राहीलाई विद्युत आपुर्ति सहज बन्दै

द नेप्लिज संवाददाता

वनमन्त्रीको गृह जिल्लामा नै बिरुवा उत्पादनै नगरी भुक्तानी

द नेप्लिज संवाददाता

एउटा आर्थिक वर्षमा भूक्तानी लिएर अर्को आर्थिक वर्षमा नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

द नेप्लिज संवाददाता

मुलुकमा रोजगारी सिर्जना गर्न युवालाई उद्यमशीलता र नवप्रवर्तनसँग जोड्नु आवश्यक : अध्यक्ष राउत

द नेप्लिज संवाददाता
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved