१ भदौ २०८२, सोमबार 18 Aug 2025, Monday

प्रदेश स्वास्थ्य मन्त्रालयले गरे औषधी खरिदका लागि सिंहदरबार वैद्यखानासँग सम्झौता

वैद्यखानासँग सोझै खरिद गर्दा २ करोड २० लाखमा २० प्रतिशत थप गरी २ करोड ६४ लाखको औषधी प्राप्त हुने
द नेप्लिज संवाददाता
१ भदौ २०८२, सोमबार

विराटनगर– कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेशका आयुर्वेद औषधालयका लागि सोझै सिंहरबार वैद्यखानासँग औषधी खरिद गर्ने सम्झौता सोमबार गरेका छन् । मन्त्रालयले आयुर्वेद औषधी खरिदका लागि विनियोजन गरेको २ करोड २० लाखको औषधी खरिदका लागि सम्झौता गरेको हो । 

२ करोड २० लाख बजेट परिचालन गर्न गरिएको एउटा निर्णयले प्रदेश सरकारलाई अर्थात् प्रदेशवासीलाई ४४ लाख फाइदा हुने भएपछि तत्काल सम्झौता गरेर सहज रुपमा नियमित औषधी आपुर्तिको व्यवस्था गरिएको मन्त्री राईको भनाइ छ ।

मन्त्री राईको उपस्थितिमा मन्त्रालयकी सचिव राधिका थपलिया र सिंहदरबार वैद्यखानाका कार्यकारी निर्देशक प्रदिप केसीले औषधी खरिद र आपुर्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यकारी निर्देशक केसीले उक्त मूल्य बराबरको औषधी खरिद गर्दा वैद्यखानाले २० प्रतिशत छुट अर्थात् ४४ लाख बराबरको थप औषधी दिने बताएका छन् । उनले मन्त्रालयले २ करोड २० लाखको औषधी खरिद गर्ने सम्झौता गरेको तर २० प्रतिशत छुटको औषधीसहित कूल २ करोड ६४ लाखको औषधी प्राप्त गर्ने बताएका हुन् । 

कार्यकारी निर्देशक केसीले मन्त्रालयले गरेको यो सम्झौताले प्रदेशवासी गुणस्तरी आयुर्वेद औषधी समयमा प्राप्त गर्ने निश्चित भएको बताएका छन् । ‘वैद्यखानाले अहिले ५७ प्रकारका गुणस्तरीय आयुर्वेद औषधी उत्पादन गर्दै आएको छ र अब चाँडै ९० प्रकारको औषधी उत्पादन गर्ने योजना छ,’ उनले भने, ‘मन्त्रालयले सेवाग्राहीलाई प्रदान गर्दै आएको २३ प्रकारका निःशुल्क औषधी खरिद गर्ने सम्झौता गरेकोले माग अनुसारको औषधी मागेको समयमा उपलब्ध गराउँछौं ।’ 

मन्त्रालयकी सचिव थपलियाले प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा रहेको ६३ लाख र जिल्ला आयुर्वेद औषधालयहरुमा रहेको ६७ लाख र संघीय सरकारको ससर्त अनुदान ९० लाख गरी कूल २ करोड २० लाखको औषधी वैद्यखानासँग खरिद गर्ने सम्झौता गरेको बताएकी हुन् । ‘वैद्यखानाले प्रदेश आपुर्ति, जिल्ला आयुर्वेद औषधालयलगायत १६ वटा निकायमा औषधी आपुर्ति गरेर भुक्तानी प्राप्त गर्नेछ,’ उनले भनिन्, ‘यो सम्झौता अनुसार प्रदेशस्थित १६ वटै निकायले आयुर्वेद औषधी सिंहदरबार वैद्यखानासँग नै प्रत्यक्ष रुपमा खरिद गर्नेछन् । सोही अनुसार बजेट कार्यान्वयनका लागि स्विकृति पनि प्रदान गरिएको छ ।’ जिल्लास्थित आयुर्वेद औषधालयहरुले प्राप्त गर्ने औषधी बाहेक आपुर्तिक केन्द्रमा प्राप्त हुने ६३ लाखको औषधी पनि जिल्लाले नै प्राप्त गर्ने उनको भनाइ थियो । यसअघि प्रदेश आपुर्तिमा मात्रै बजेट राखेर औषधी खरिद गर्दा आर्थिक वर्षमा मात्रै औषधी प्राप्त हुने गरेको र औषधी खरिदमा मुद्दा पर्दा औषधी नै आपुर्ति नहुने अवस्था हुँदा जिल्लामा समेत औषधी खरिदका लागि बजेट विनियोजन गर्न बाध्य भएको उनले सुनाइन् । 

स्वास्थ्यमन्त्री राईले गुणस्तरीय औषधी सहज तरिकाले समयमा प्रदेशवासीलाई उपलब्ध गराउन सोझै सिंहदरबार वैद्यखानासँग खरिद गर्न सम्झौता गर्ने निर्णय गरेको बताएका छन् । ‘वैद्यखानासँग सोझै औषधी खरिद गर्ने सम्झौताले असारमा औषधी खरिद गरेर दाखिला गर्ने परम्परा यस वर्ष तोडिएको छ,’ उनले भने, ‘औषधी खरिद हुँदा चारैतिरबाट औँला उठ्दै आएकोले सोझै जी टु जी मार्फत वैद्यखानासँग खरिद गर्दा सुशासन पनि दिगो हुने भएको छ र औषधी खरिदमा कुनै किसिमको अनियमितता नभई २० प्रतिशत प्राप्त हुने छुट रकम ४४ लाखको समेत थप औषधी प्रदेशवासीले उपभोग गर्न पाउने भएको छ ।’ २ करोड २० लाख बजेट परिचालन गर्न गरिएको एउटा निर्णयले प्रदेश सरकारलाई अर्थात् प्रदेशवासीलाई ४४ लाख फाइदा हुने भएपछि तत्काल सम्झौता गरेर सहज रुपमा नियमित औषधी आपुर्तिको व्यवस्था गरिएको मन्त्री राईको भनाइ छ ।

 

प्रकाशित : १ भदौ २०८२, सोमबार 15:16
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved