२२ वैशाख २०८२, सोमबार 05 May 2025, Monday

रिंकुको सामूहिक बलात्कार र रहस्यमय मृत्युमा सरकार किन मौन ?

द नेप्लिज संवाददाता
५ फागुन २०८१, सोमबार

Advertisement

विराटनगर–  सिरहाकी दलित किशोरी रिंकुकुमारी सदायलाई सामूहिक बलात्कार र सामाजिक पञ्चायत गररे घटना सामसुम पारेपछि रहस्यमय मृत्युको सवाल आज संसदमा उठेको छ । सांसदहरूले सिरहा नवराजपुर–१, भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया सदायको मृत्युबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदाय ३० माघमा घरमै मृत फेला परेकी थिइन् । सिरहा ४ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले प्रतिनिधिसभामा मृतक किशोरी माघ २७ को राति ९ बजे शौच गर्न निस्कएको बेला सामूहिक बलात्कारको सिकार भएको विषयमा आवाज उठाएका छन् । 

‘बलात्कारपछि स्तब्ध सदाय बिहान ३ बजे मात्रै घर फर्किएकी र स्थानीय रुपेश मण्डल, चन्दन साह र राम विनय मण्डलले मुख थुनेर गाउँ बाहिर लगी हातखुट्टा समातेर पालैपालो बलात्कार गरेको सदायले आफ्नी आमालाई सुनाएकी थिइन्,’ सांसद महतोले भने, ‘यतिको गम्भीर विषयमा सरकारले अपेक्षित रुपमा अनुसन्धान र कारबाही किन अगाडि बढन सकेको छैन, ‘यस्तो जघन्य अपराधको घटना बाहिरिँदा पनि राज्य र सरकार मुकदर्शक भएर बस्न मिल्छ ?’

अझ सामूहिक बलात्कारलाई गाउँमै  मिलाउने प्रयास भएको उनले सुनाए । ‘यस्तो संवेदनशील घटना हुँदा पनि स्थानीय तहमा पञ्चायती राखेर सहमति गरेको र पीडकसँग डेढ लाख जरिवाना लिएको तर उत्तः रकम बाँडफाँडमा विवाद भएपछि कुरा बाहिरएको हो’ उनले भने, ‘यो घटनामा संलग्न सबै दोषीउपर कडा कारबाहीको माग गर्दछु ।

सत्तारुढ दल एमालेकी प्रतिनिधसभा सदस्य सम्झना थपलियाले पनि उत्तः घटनालाई सरकारले गम्भीरतापूर्वक परिणाममुखी अनुसन्धान गर्नुपर्ने प्रतिनिधिसभामा माग गरिन् । यो घटनालाई बाहिर ल्याए ज्यान मार्ने धम्की पीडकहरूले दिएको पीडित परिवारले बताइरहेको प्रति थपलियाले पीडित पक्षको जीउ ज्यानको सुरक्षाको उचित प्रबन्ध मिलाउन ध्यानाकर्षण गराइन् । यस्तो जघन्य अपराध हुँदा समेत प्रहरीले जाहेरी नलिनेसम्म दुस्साहस गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइनन् । प्रहरीले दोषीलाई कारबाहीको दायरमा नल्याएको भन्दै उनले सदनमा आपत्ति जनाइन् ।

देशभरि दलितहरू अन्यायमा परिरहेको तर सरकार मौन बसेको  भनेर उनले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराइन् । ‘ किशोरीलाई सामूहिक बलात्कार पछि मर्न बाध्य पारिन्छ । तर, यो घटना भएको चार दिन बित्दा पनि प्रहरी मौन  र निस्क्रिय  छ’ उनले भनिन्, ‘ यो विषयमा गृहमन्त्रीले प्रहरीलाई तत्काल अनुसन्धानका लागि निर्देशन गर्नुपर्ने हौइन ?’ अपराधमा संलग्नहरू गाउँमा निर्धक्क हिँडिरहेको अवस्थामा सरकार मौन बसेको भन्दै उनले आपत्ति जनाइन् । पीडकलाई कारबाहीको दायरमा ल्याउन र पीडित परिवारलाई सुरक्षाको प्रत्याभूति गराउन सिरहा प्रशासनलाई निर्देश गर्न सरकारलाई उनले पटकपटक आग्रह गरिन् ।

रिंकु आफ्नै ‘भुँई घर’ मा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्युअघि गाउँघा भएका गतिविधिहरुले यो मृत्यु अस्वभाविक देखिन्छ । उनको मृत्युको पछाडि सामूहिक बलात्कारदेखि घटना दबाउन गाउँकै भेलामा मिलापत्र गरेका विषयहरु जोडिएका छन् । रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न  बाहिर निस्केकी थिइन् । तर  उनी ६ घण्टा पछि २७ माघ बिहानी ३ बजेतिर रुँदै घर फर्किइन् । आमा र भाइलाई उनले आफूसँग सामूहिक बलात्कार भएको सुनाइन् । परिवारजनका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहले बलात्कार गरेको बताइन् । शौच गर्न गएका बेला उनीहरुले उठाएर बाँसघारीमा लगी सामूहिक बलात्कार गरेको रिंकुले भनेको परिवारजनले बताएका छन् ।

सामूहिक बलात्कारको चार दिनपछि ३० माघ साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिइन् । निडर रिंकुले मुख खोले पछि घटना ढाकछोप गर्न गाउँमै पञ्चायती बसेको खुलासा भएको छ । मिलापत्र गर्न भन्दै हाल फरार रहेका रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकारेनन् । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् । आफ्नो छोरालाई मात्रै जरिवाना तिराउने निर्णयमा सहमति नरहेको देवानन्दको भनाइ थियो । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु घरमा मृत भेटिएकी थिइन् । प्रहरीले मिलापत्रको घटना बारे अनभिज्ञता प्रकट गर्दै आएको छ ।

परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । प्रहरीका अनुसार स्थानीय रुपेश मण्डलविरुद्ध रिंकुका काका राम सदायले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएका छन् । अनुसन्धानका क्रममा बलात्कार खुलेमा त्यसमा पनि अनुसन्धान अघि बढाउने प्रहरीको भनाइ छ । अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । आरोपित रुपेश फरार छन् भने अन्यको विरुद्ध उजुरी नपरेको भन्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छैन । मजदुरी गर्न भारत पुगेका रिंकुका बुबा बिजुलिया सदाय  घर फर्केका छन् । छोरीको मृत्युपछि शोकमग्न परिवारजन डर–त्रासको कारण घटनाबारे बोल्न चाँहदैनन् ।

प्रकाशित : ५ फागुन २०८१, सोमबार 16:42
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved