११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

विद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा

द नेप्लिज संवाददाता
२३ जेठ २०८२, शुक्रबार

विराटनगर –  ‘इन्टिग्रिटी आइडल’ घोषित भएका तत्कालीन उपसचिव ज्ञानमणि नेपालसहित  ९  जनाविरुद्ध साढे २५ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। खोटाङमा जिल्ला शिक्षा अधिकारीको जिम्मेवारीमा रहँदा विद्यालय भवन निर्माणमा रकम हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।अख्तियारले नेपालविरुद्ध साढे २५ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार खोटाङको दिप्रुङ चुइचुप्पा गाउँपालिका–७ स्थित कृष्ण उच्च माध्यमिक विद्यालयको चारकोठे आरसिसी भवन निर्माणका क्रममा न्यून गुणस्तरको काम गरिएकाले सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ। प्राविधिक प्रतिवेदनमै निर्माण गुणस्तरहीन भएको उल्लेख हुँदाहुँदै पनि नेपालसहित संलग्न व्यक्तिहरूले न सुधार गरेका, न कार्य अस्वीकार गरेका, बरु झुटा बिल भरपाईको आधारमा रकम निकासा गरेकाले उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारको दाबी छ।

विद्यालय भवन निर्माणको लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख र जनसहभागिताबाट २१ लाख १० हजार ८९२ गरी कुल ४५ लाख १० हजार ८९२ रुपैयाँको लागत अनुमान गरिएको थियो। तर फिल्ड अनुगमनमा प्लास्टर र भुइँ पीपीसी फुटेको, सिलिङमा रड देखिने गरी ढलान गरिएको, लागतअनुसारको सामग्री प्रयोग नभएको लगायतका गम्भीर कमजोरी देखिएको आयोगले जनाएको छ।

यस्तो अवस्थामा समेत विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न नेपालले नापी किताब तथा मूल्यांकन प्रतिवेदनमा हस्ताक्षर गरी २५ लाख ५० हजार रुपैयाँ निकासा गरेको अख्तियारको आरोप छ। झुटा विवरणका आधारमा ४१ लाख २० हजार रुपैयाँको काम सम्पन्न भएको देखाएर प्रतिवेदन सदर गरिएकाले सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुगेको आयोगको ठहर छ।

नेपाल पहिलो ‘इन्टिग्रिटी आइडल’ हुन्। सन् २०१४ मा अकाउन्टिबिलिटी ल्याब नामक संस्थाले सार्वजनिक प्रशासनमा इमानदारिता, पारदर्शिता र जवाफदेहिता प्रदर्शन गर्ने कर्मचारीका रूपमा उनलाई सम्मानित गरेको थियो। तर उनी २०७५ मा जबर्जस्ती करणीको आरोपमा पनि मुछिएका थिए। बर्दियामा जिल्ला शिक्षा अधिकारी रहँदा सानी बालिकामाथि बलात्कारको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।

हाल दायर मुद्दामा नेपाल प्रमुख प्रतिवादी कायम भएका छन्। साथै तत्कालीन जिल्ला शिक्षा कार्यालयका इन्जिनियर वृधन यादव, सबइन्जिनियर शिवराज राई, लेखा अधिकृत भुवनप्रसाद आचार्य, लेखापाल सुरेशकुमार श्रेष्ठ, भवन निर्माण गर्ने जयप्रसाद राई, विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर र व्यवस्थापन समितिका तत्कालीन अध्यक्षहरू टीकाराम राई तथा जयप्रसाद राईलाई समेत प्रतिवादी बनाइएको छ।

#ज्ञानमणि नेपाल

प्रकाशित : २३ जेठ २०८२, शुक्रबार 16:43
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved