विराटनगर– आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहको भान्जा बताउँदै सवा करोडभन्दा बढी रुपैयाँ ठगेको आरोपमा काठमाडौं–२७ का ५३ वर्षीय अनुप सिंहसहित चार जना बारे जिल्ला प्रहरी परिसरले अनुसन्धान थालेको छ । उनीहरू विरुद्ध कीर्ते र ठगीको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि दुई जना फरार छन् । प्रहरीले सिंहसँगै उनका सवारी चालक ललितपुरका सचिन व्यञ्जनकार, उनका वकिल इलामेली प्रकाश खनाल र कलंकीस्थित दिव्यज्योति कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजकुमार केसीलाई पक्राउ गरेको छ ।
ठगीको मुख्य आरोपी अनुप सिंह भएको प्रहरीले जनाएको छ । उनलाई अन्य व्यक्तिहरूले सहयोग गरेको प्रहरीको भनाइ छ । ठगीको रकम वकिलदेखि चालकसम्मको खातामा हाल्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । एकै महिलाबाट ९७ लाख रुपैयाँ ठगी गरेको भन्दै सिंहविरुद्ध जाहेरी परेको छ । दाहाल थरकी एक महिलाले दुई छोरी, एक छोरा र आफूसहित चार जना अमेरिका जाने भन्दै सिंहलाई ९७ लाख रुपैयाँ बुझाएको बताउँदै जाहेरी दिएकी छिन् । ती महिलासँग सिंहले आफूलाई नेपाली सेनाको विमान चालक क्याप्टेन बताएको जाहेरीमा उल्लेख छ ।
विमान चालक क्याप्टेन रहेको भन्दै सिंहले आर्मी पोशाकमा खिचाएको तस्बिर समेत देखाएको दाबी महिलाको छ । उच्च पदस्थसँग राम्रो चिनजान भएको भनी विश्वास दिलाएपछि पटकपटक गरी ९७ लाख रुपैयाँ बुझाएको महिलाको भनाइ छ । विश्वास दिलाउन सिंहले नक्कली कागजात बनाउने गरेको समेत खुलेको छ । उनको साथबाट प्रहरीले अमेरिकाको नक्कली भिसा बरामद गरेको छ । दाहाल महिलाकै नाबालक छोराका नाममा सिंहले नक्कली भिसा बनाएको कागजात बरामद भएको प्रहरीले भनेको छ ।
एक अनुसन्धान अधिकृतका अनुसार केहीलाई भने उनले पारस शाहकी छोरीको इन्गेजमेन्ट कार्यक्रम अमेरिका हुने तय भएकाले त्यही समारोहमा लैजाने भन्दै विश्वास दिलाएर ठगी गरेको खुलेको छ । साथै वैदेशिक रोजगार विभागका विभिन्न पत्रहरू, हवाई टिकट र कार्यक्रम रहेको खुल्ने किसिमका कागजात समेत बरामद भएका छन् ।
कसैलाई नेपाली सेनाको क्याप्टेन दर्जामा रहेको विमान चालक बताएका सिंहले केही व्यक्तिलाई भने पूर्वराजा ज्ञानेन्द्र शाहका भान्जा समेत बताउने गरेका थिए । राज खानदान र दूतावासको मान्छेसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै उनी विश्वास दिलाउँथे । सिंह पटके अभियुक्त रहेको खुलेको छ । उनी पक्राउ परेपछि प्रहरीले सीआरएस (क्रिमिनल रेकर्ड सिस्टम) जाँच गरेको थियो । उनीविरुद्ध यसअघि ६ वटा कसुरमा मुद्दा चलिसकेको खुलेको छ । सीआरएसअनुसार उनीविरुद्ध सुरुमा २०५७ सालमा सार्वजनिक अपराधको कसुरमा मुद्दा चलेको थियो । सार्वजनिक (हाल अभद्र) कसुरबाट अपराधको दुनियाँ छिरेका उनी अहिले नामुद ठगीको सूचीमा छन् ।
२०५७ पछि १ वर्षसम्म उनी कुनै अपराधमा मुछिएका छैनन् । २०७३ सालमा आएपछि भने उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंबाट ठगीको कसुरमा मुद्दा चलेको प्रहरीको सीआरएस रिपोर्टमा देखिन्छ । त्यसपछि २०७७ मा उनीविरुद्ध काठमाडौं प्रहरीमा हातहतियार तथा खरखजाना र ठगीको कसुरमा मुद्दा चलेको थियो । त्यसपछि २०८० मा काठमाडौंबाटै ठगीको मुद्दा चलेको भेटिएको छ । अहिले २०८१ मा ठगीकै कसुरमा ललितपुरमा पक्राउ परेका छन् । पक्राउ परेका सिंह छुट्ने भएमा काठमाडौं परिसरको जिम्मा लगाउन पत्राचार समेत गरिएको छ ।
समाचार
सरकार सात बुँदे सहमतिमा असफल : कांग्रेस नेता शेखर कोइराला
द नेप्लिज संवाददातान्यौपाने परिवारको प्रेरणादायी यात्रा : विकट अछामबाट सफलताको शिखरसम्म
द नेप्लिज संवाददातासंसदमा प्रचण्डको आक्रोश, नीति तथा कार्यक्रमप्रति तीव्र असन्तुष्टि
द नेप्लिज संवाददातासंसदीय लेखा समितिका सभापतिकी पत्नीलाई धरौटीमा उन्मुक्ति : उच्च अदालतका दुई न्यायाधीशबीच कडा मतभेद
मोरङको केराबारीमा बलात्कार आरोपमा एक पक्राउ
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares