१२ असार २०८२, शुक्रबार 27 Jun 2025, Friday

मनसुनसँगै देशव्यापी बाढी र पहिरो : पूर्वी पहाडी सडक अवरुद्ध, बस्ती डुबानमा

द नेप्लिज संवाददाता
१७ जेठ २०८२, शनिबार

विराटनगर — मनसुन भित्रिएसँगै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ। यही बिहीबार राति पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन २४ घण्टा नबित्दै विभिन्न क्षेत्रमा प्रभाव पार्दैछ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार शुक्रबार बिहानको अविरल वर्षाले धरान–धनकुटा सडकखण्डअन्तर्गत सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको लगभग सय मिटर सडकखण्ड लेउती खोलाको बाढीले बगाएको हो। उक्त क्षतिको कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुङ र पाँचथर जाने यातायात सेवा ठप्प पारेको छ।

त्यसैगरी झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेका छन्। प्रवक्ता केसीका अनुसार हाल पानी घट्दो क्रममा रहेको छ र मानवीय क्षति भने भएको छैन। प्रभावित स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले झापा र धरान–धनकुटा सडक क्षेत्रमा बाढी तथा पहिरोका घटना भएपछि प्रहरीको उद्धार टोली परिचालन गरिएको जानकारी दिए। उनका अनुसार नागरिकको सुरक्षालाई प्राथमिकता दिँदै विपद् व्यवस्थापन कार्य तीव्र पारिएको छ।

नेपालमा मनसुन सरदर मिति भन्दा १५ दिन अगाडि बिहीबार रातिदेखि भित्रिएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

पछिल्ला १२ घण्टामा कोशी प्रदेशका केही स्थानहरूमा ‘धेरै भारी’ देखि ‘अति भारी’ वर्षा मापन भएको विभागले जनाएको छ। विभागले बुलेटिनमार्फत उत्तरतर्फ सरेको बादल प्रणाली अझ सक्रिय भइ थप वर्षा हुन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन आह्वान गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको छ। ती क्षेत्र हुँदै बग्ने कन्काई, बिरिङ, केसलिया लगायतका नदी तथा खोलामा सतर्कता तहभन्दा माथिको जलसतह मापन गरिएकाले तटीय क्षेत्रकालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। साथै मेची, निन्दा, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य खोलाहरूमा पनि दिउँसोसम्म बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ।

यद्यपि आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली तथा कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको भए पनि बढ्दो हुने सम्भावनालाई ध्यानमा राख्दै नदी किनाराका सबै गतिविधिमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

#कोशी#बाढी

प्रकाशित : १७ जेठ २०८२, शनिबार 11:35
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved