१६ भदौ २०८२, मङ्गलबार 02 Sep 2025, Tuesday

‘मधेसी राजनीतिमा इमानदार नेतृत्वको खोजी !’

मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल

द नेप्लिज संवाददाता
१४ भदौ २०८२, आइतबार

विराटनगर– मधेसी उत्थान विचार मंच विराटनगरका संयोजक तथा विराटनगरका युवा नेता उमेश यादवले देश, प्रदेश तथा विराटनगरको राजनीतिमा दिनहुँ एकल वर्चस्व कायम हुँदै गएको र मधेस तथा मधेसीको राजनीति खस्किदै गएकोले मधेस र मधेसीको राजनीति जोगाउन सम्पूर्ण मधेसी, मुस्लिम, आदिवासी, पिछडावर्गलाई एकजुट भएर अघि बढ्न अपिल गरेका छन् । 

मधेसी उत्थान विचार मंच विराटनगरले शनिबार आयोजना गरेको ‘मधेसी राजनीति– दशा एवं दिशा’ विषयक बिचार गोष्ठीमा मंचका संयोजक यादवले राष्ट्रिय दलहरुमा पनि मधेशका लागि मधेशी अनुहारलाई नै अगाडि बढाउन आ–आफ्ना दललाई सचेत गराउन समेत अपिल गरेका हुन् । 
 
‘विराटनगर महानगरपालिका, कोशी प्रदेश तथा देशको राजनीतिमा दिनहुँ एकल वर्चस्व कायम हुनु र मधेश तथा मधेशीहरुको राजनीतिक हैसियत खस्किदै जानु चिन्ताको विषय हो,’ यादवले जारी गरेको अपिलमा भनिएको छ, ‘यस विराटनगरमै हामी जसरी आफ्नो जिउ–ज्यान लगाएर मधेशीहरुको पहिचानलाई अगाडि बढाएका थियौं, हाम्रा राष्ट्रिय नेतृत्वकर्ताहरुको मार्गदर्शनमा संघर्ष गरेर उपलब्धीहरु हासिल गरेका थियौं, ति सबै क्रमिक रूपले शिथिल हुँदै गइरहेको छ।’

यसका कारण अनेकौं हुन सक्छ तर आपसी एकताको कमी सबभन्दा ठुलो कारण भएको अपिलमा उल्लेख छ । ‘मधेशी राजनीतिको बागडोर मानौं अभिभावकविहीन भइसकेको छ। न कहीं नीति बनाउनेबाला, न आपसी समन्वय स्थापित गरेर एकजुटताको भावना बनाउनेबाला छ । सबैतर्फबाट हामी कमजोर भएका छौं र यहीकारण आज मधेशीहरुको आवाज–मांगलाई कोही सुन्नेबाला छैन,’ अपिलमा भनिएको छ, ‘उही पूरानै दिनहरुको स्थितिमा शासक वर्गका नेताहरुका अगाडि हामी रोइ–कराइ गरी साना–तिना मधेशी हितमा काम गराउन सकिरहेको अवस्था छ। विगतका केही वर्षहरुमा उत्पीड़न र पछ्यौटेपन पहिला जस्तै बनिसकेको अवस्था छ ।’

विराटनगर महानगरपालिकामा मधेशीहरुको जनसंख्या लगभग ६३ प्रतिशत रहेको तर यहाँ पनि शासक वर्गकै नेताहरुको बोलबाला रहेको अपिलमा उल्लेख छ । ‘के कारणले बहुमत मधेसी रहेको विराटनगरमा मधेशीहरुको हकहितका लागि आवाज उठाउन सक्ने उम्मेदवारहरुलाई बारम्बार हार नै भोग्नु परिरहेको छ,’ अपिलमा भनिएको छ, ‘आगामी समय २०८४ को निर्वाचन आउनेबाला छ। के हामी अहिलेदेखि नै चिन्तन गर्नुपर्ने होइन र ? आउँदो समयमा कसरी अगाडि बढ्ने ? के हामी यसरी नै ठूला दल भनाउँदाहरुको पछाडि अथवा छिन्नभिन्न मधेशवादी दलसँग नाम जोडेर परिणाम शून्य पाइरहने हो त ?’

संघीयता, समानुपातिक समावेशिता, उत्पीडित र पछाडि परेका उपेक्षित वर्ग जसमा मधेशी, आदिवासी, जनजाति, मुस्लिम आदि क्लस्टरमा बाँडेर आरक्षण आदिको नयाँ संविधानमा व्यवस्था गरियो तर त्यो सबै मात्र कागजको भाषा बनेर रहेको अपिलमा उल्लेख छ । ‘देशको राजनीतिमा हाम्रा नेताहरुको प्रति शासकवर्गको सोचमा अलिकति पनि परिवर्तन हेर्न सकेका छैनौं, त्यस्तै हाम्रा नेताहरु पनि अनेकौं धारमा विभाजित भएर मधेशी राजनीति र मधेशको विकासलाई पछाडि छोडिसक्नु भयो जस्तो लाग्दछ,’ अपिलमा भनिएको छ, ‘आउनुस्, हामी एकचोटि पुनः चिन्तन गरौं। हामीमध्ये धेरै जना अब युवावस्थामा रहेका छैनौं तर जोश र जाँगर अझै पनि युवाकै छ। हामी जे ठान्छौं त्यो गरेर पनि देखाउन सक्छौं । खाली एकचोटी हामी सबैजना मुट्ठी बाँधेर शपथ लिउँ र हामीबाट जो कोही नेतृत्वको बागडोर हाथमा लिएर अगाडि बढ्न चाहन्छ उसलाई पूरा साथ दिउँ । एकचोटि फेरी आ–आफ्नो दलीय आबद्धतालाई एकातिर राखेर समग्र मधेश र मधेशी पहिचानका लागि एकजुट हुने समय आई सकेको छ।’ 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक संघर्ष सुरु गरेका संयोजक यादवले नेवि संघमा पनि मधेसीको वर्चस्व स्थापित गराउन ठूलो मूल्य चुकाएका थिए । २०६२–०६३ को मधेस आन्दोलनमा होमिएका उनी तत्कालिन मधेसी जनअधिकार फोरमको मोरङ जिल्ला अध्यक्षसम्म पुगेर मुलुक संघीयता गएपछि भएको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरको प्रमुखमा पार्टीको तर्फबाट उम्मेदवार भएका थिए तर उनी कांग्रेसका उम्मेदवार भीम पराजुलीसँग पराजित भएका थिए । स्थानीय तहको दोस्रो निर्वाचनमा पार्टीले कांग्रेससँग् गठबन्धन गरेर विराटनगरमा पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रमुखमा आफ्ना छोरा अम्रेन्द्र यादवलाई उम्मेदवार बनाएपछि उनी विराटनगर महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार भएर सम्मानजन मत प्राप्त गरे पनि पराजित भएका हुन् । गल्ती र बेइमानीको चर्को बिरोधी स्वभावका संयोजक यादवको मधेसी जनअधिकार फोरम पार्टीको राजनीति सुखद रहन सकेन । पछिल्लो समय उनी स्वतन्त्र भएर पनि विराटनगरमा मधेसी राजनीतिलाई अघि बढाइरहेका छन् ।

गोष्ठीमा सहभागी मधेसका बुद्धिजिवी तथा अगुवा प्राध्यापक डाक्टर नन्दलाल साहले मधेसी राजनीतिमा देखिएको विभाजनले मधेसी राजनीति कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । ‘मधेसलाई अधिकार सम्पन्न बनाउने अभियान लामो समयदेखि चल्दै आइरहेको छ तर  २०६२–०६३ को मधेस बिद्रोहले मधेसीको केही माग र मुद्दालाई सम्बोधनका लागि भएको प्रयास सकारात्मक छ,’ उनले भने, ‘अहिलेको नयाँ संविधानले पनि मधेसीलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाउन नसकेकोले यो अभियानलाई नेतृत्व प्रदान गर्दै निरन्तरता दिनु अहिलेको आवश्यकता हो ।’ मधेसीलाई अधिकार सम्पन्न बनाउने अभियानलाई निरन्तरता दिन अगाडि बढेका र अगाडि बढ्ने नयाँ नेतृत्वलाई प्रा.डा. साहले शुभकामना दिएका हुन् । 

संविधानसभा सदस्य योगिलाल यादवले मधेस र मधेसीका लागि अहिलेसम्ममा प्राप्त अधिकार तथा उपलब्धीको संरक्षण गर्दै मधेसीको अधिकार प्राप्तिको अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन् । उनले कुनैपनि अभियान लामो समयसम्म निरन्तर चलिरहने भएकोले मधेसीलाई अधिकार सम्पन्न बनाउने अभियान पनि निरन्तर चलिरहनु पर्ने बताएका हुन् । 

मधेसी अगुवा रामरिझन यादवले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गएपछि विराटनगरको अवस्था यस्तो भएको बताएका छन् । उनले उपेन्द्र यादवलाई पुनः ल्याएर विराटनगर तथा कोशी प्रदेशको राजनीतिमा स्थापित गराउनुपर्ने बताएका हुन् । 

नेपाली कांग्रेस कोशीका कोषाध्यक्ष राजेश गुप्ताले समयानुकुल अनुशासित भएर इमानदारिताका साथ एकताबद्ध भएर अघि बढ्नु आवश्यक भएको बताएका छन् । ‘राजनीतिमा एकता हुनु आवश्यक हुन्छ,’ उनले भने, ‘अनुशासनका साथ एकताबद्ध भएकाहरुको नेतृत्व प्रदान गर्ने व्यक्ति इमानदार नहुँदा अहिलेको जस्तो अवस्था निम्तिने गर्छ । त्यसैले सबै सचेत भएर अघि बढ्नु आवश्यक छ ।’ 

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता वासिम आलमले मधेस आन्दोलनबाट सत्तामा पुगेका मधेसवादी दलका नेता तथा नेतृत्व वर्ग इमानदार नभएकाले अहिलेको अवस्था निम्तिएको बताएका छन् । उनले सत्ता र शक्तिमा पुगेपछि राजनीतिक नेतृत्वहरुले आफ्ना नाता सम्बन्ध, जाती, धर्म, समुदायमा सिमित भएको आरोप लगाए । 

गोष्ठीमा विराटनगरका अधिकांश मधेसी राजनीतिक नेतृत्व, युवा, विद्यार्थीलगायत कांग्रेसका नेता रन्जित झा, मैथिली भाषाका अभियानकत्र्ता प्रविण नारायण झालगायतको सहभागिता रहेको थियो । उनीहरुले पनि मधेसी राजनीतिक नेतृत्वको आलोचना गरेका थिए । गोष्ठीमा मोरङ उद्योग ब्यापार संघका बरिष्ठ उपाध्यक्ष अनिल साहले मधेसी नेताहरु निःस्वार्थ भावले अघि नबढेको परिणाम नयाँ पुस्ताले भोग्न बाध्य भएको बताएका छन् । उनले मधेसी राजनीतिक नेतृत्वमा राजनीति गर्ने कार्य कुशलता नभएको भन्दै आलोचना गरेका हुन् । 

कार्यक्रममा नेपाल परि संघ कोशीका उपाध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, अरबिन्द अग्रबाललगायतका उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । 

हेर्नुहोस् अपिल:–

प्रकाशित : १४ भदौ २०८२, आइतबार 00:08
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved