१६ भदौ २०८२, मङ्गलबार 02 Sep 2025, Tuesday

मोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु

द नेप्लिज संवाददाता
१४ भदौ २०८२, आइतबार

विराटनगर– अनौपचारिक सेवा केन्द्र (इन्सेक) लगायतका मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुका प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, गैसस महासंघ, माइती नेपाल लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका हुन् । कारागारमा एकपछि अर्को गर्दै कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने क्रम बढेपछि कारागारको अवस्थाका बारेमा जानकारी लिन अनुगमन गरिएको इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले बताएका छन् । 

कारागार प्रशासक गौरव ढुङ्गेलसँग कारागारमा क्रमिक रुपमा कैदीबन्दी तथा थुनुवाको मृत्यु भइरहेको बारेमा जानकारी लिनुका साथै कारागारको भौतिक अवस्थाका बारेमा अनुगमन गरिएको इन्सेक प्रदेश संयोजक पोखरेलले बताएका हुन् ।  

अनुगमन टोलीसँग कारागारका प्रशासक ढुङ्गेलले पछिल्लो समय कारागारलाई सुधार गृहका रूपमा विकास गर्न खोजिएको बताएका छन् । ‘पहिले भन्दा दोब्बर कैदीबन्दी बस्न सक्ने गरी निर्मित नयाँ कारागार भवनमा कैदीबन्दीलाई स्थानान्तरण गरेपछि केही सहज भएको छ,’ ढुङ्गेलले भने, ‘तथापि क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्ने, जनशक्ति र साधनस्रोतको कमीले कारागारमा समस्या रहेको छ ।’ प्रदेश राजधानी र बढी क्षमताको भवन बनेपछि अन्य जिल्लाबाट कैदीबन्दी स्थान्तरण हुने र थप उपचारका लागि प्रदेशका अन्य जिल्लाबाट विराटनगर ल्याइने गरेकाले कारागारमा कैदीबन्दीको संख्या दैनिक बथपिने क्रममा रहेको उनले बताएका छन् ।  

आठ महिनामा आठको मृत्यु

इन्सेकको अभिलेखका आधारमा २०८२ साल पुस २० गतेदेखि ०८२ भदौ १५ गतेसम्ममा मोरङमा राज्यको नियन्त्रणमा रहेका एक महिला र सात जना पुरुष गरी आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा एक जना र अन्य सात जनाको मोरङ कारागारमा मृत्यु भएको छ ।

पछिल्लो मृत्यु मोरङ कारागारको महिला सुधारगृहमा भएको छ । महिला सुधारगृहमा रहेको शौचालयमा पासो लगाएर झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भट्टराई २०८२ भदौ ११ गते मृत अवस्थामा फेला परेसँगै आठ महिनाको अवधिमा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु भएको हो ।

मोरङ कारागारमा वेलवारी नगरपालिका–४ का ६७ वर्षीय अम्बरबहादुर राईको २०८१ साल पुस २० गते मृत्यु भएको थियो । त्यसयता कारागारमा रहेका ६ जनाको मृत्यु भइसकेको छ । राज्यको सुरक्षा र नियन्त्रण घेरामा रहेकाहरुको नियमित भइरहेको मृत्युले कारागार सुरक्षित भन्दा असुरक्षित हुँदै गएको देखिन्छ ।

२०८२ साल पुस २० गते यता मोरङ्ग कारागारमा रहेका पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको २०८१ साल फागुन २९ गते, उर्लावारी नगरपालिका–१ का ४३ वर्षीय मित्रकुमार दनुवारको २०८२ साल वैशाख १५ गते, रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–२ का ५४ वर्षीय प्रविण तामाङ्गको २०८२ साल वैशाख २९ गते, सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको २०८२ साल असार १० गते, विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको २०८२ असार २५ गते कारागारमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको २०८२ साल जेठ २० गते मृत्यु भएको छ ।

भदौ ११ गते मृत फेला परेकी राधिका मानसिक रोगी भएकै कारण घटना भएको र विराटनगरस्थित कारागार ल्याउँदा नै डिप्रेशनको बिरामी रहेको कारागार प्रशासनले जनाएको छ । उनी पछिल्लोपटक असार २५ र साउन १८ गते रातको समयमा पेट दुखेको भन्दै कोशी अस्पताल भर्ना भएकी थिइन् । घटनाको दिन उनी विहान ३ः३७ बजे शौचालय पसेको र विहान ४ः३० बजे शौचालय गएका अन्य महिला कैदीबन्दीहरूले देखेपछि राधिका बाँचेकै हुन सक्छिन् भन्ने आशामा पासो खोलेर हेरेका थिए । उनीहरूले कारागार प्रशासनलाई ४ः४५ बजे घटनाबारे जानकारी गराएको प्रशासक ढुङ्गेलले जानकारी दिएका हुन् । 

ढुंगेलका अनुसार लहरै बनेको शौचालयको माथिल्लो भाग खुला रहेको र त्यहीबाट अन्य महिलाले उनलाई झुण्डिएको देखे र निकालेका थिए । कारागार अनुगमनका क्रममा महिला कैदीबन्दीले झुण्डिएको अवस्थामा राधिका मृत फेला परेपछि अन्य महिला कैदीबन्दी तथा थुनाहरुमा त्रास फैलिएको इन्सेक संयोजक पोखरेलले बताए ।  

अनुगमन टोलीले घटनास्थल हेर्न खोज्दा निश्चित सरकारी निकायबाहेक अन्यलाई भित्र प्रवेश गर्न नमिल्ने भन्दै ढुङ्गेलले घटनास्थल हेर्न नदिएको अनुगमन टोलीले बताए ।  कारागारका कैदीबन्दीहरूले नै पासो खोलेका कारण प्रहरीले उनीहरूलाई घटना बारे सोधपुछ गरिरहेको र त्यसले उनीहरू डराएको अवस्था भएकाले पनि भित्र जान उपयुक्त अवस्था नभएको भनेपछि कारागारको सुरक्षाककर्मी बस्ने बुर्जाबाट अनुगमन टोलीले कारागारको अवलोकन गरेको थियो । मोरङ कारागारमा हाल १०६ महिला, दुई आश्रित बालक र १ हजार ३८ पुरुष गरी १ हजार १४६ जना रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित : १४ भदौ २०८२, आइतबार 13:56
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक र सम्पादक : देवनारायण साह, ९८५२८३४४८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved