११ असार २०८२, बिहीबार 26 Jun 2025, Thursday

एसईईमा फेल हुनु कसको असफलता हो ?

१० असार २०८२, बुधबार

विद्यार्थी कुनै एउटा परीक्षामा फेल भएकोले जीवनभर असफल हुँदैन। शिक्षा प्रणालीले उसलाई फेल गराउँछ भने त्यो विद्यार्थीको होइन, हामी सबैको सामूहिक असफलता हो।


विराटनगर– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आगामी साताभित्रै प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले भनेको छ । शिक्षक आन्दोलनले एसईईको परीक्षा फल यसपटक केही दिन ढिला भएपनि अन्तिम तयारीमा जुटेको बोर्डको दाबी छ ।  

कति विद्यार्थी पास हुन्छन् र कति फेल, भन्ने चासो देशभर छ। यो चासोमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सामेल देखिनु अस्वाभाविक छैन।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले ५२ प्रतिशत विद्यार्थी फेल भएको भन्दै शिक्षकहरूप्रति आक्रोश पोखे । ‘फेल गराउने शिक्षकलाई स्थायी किन बनाउने? तलब किन बढाउने?’ भन्ने प्रश्नले शिक्षक समुदायलाई झस्कायो। शिक्षकमाझ उनको अभिव्यक्तिलाई अपमानजनक भन्दै सामाजिक सञ्जालमा विरोधसमेत गरियो।

पछि काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले यसपटक ६०–६५ प्रतिशत विद्यार्थी पास हुने आकलन गरे। तर, छोटो समयमा सिकाइमा यति ठूलो सुधार सम्भव छ त?

परीक्षाफल सुधार वा सिकाइ सुधार?
हाम्रा परीक्षामा पास प्रतिशत बढ्नु सधैँ सिकाइ सुधारको परिणाम हुँदैन। कहिले–काहीँ परीक्षा प्रणालीमै ‘प्राविधिक फेरबदल’ गरी नतिजा राम्रो देखाउने प्रवृत्ति पनि देखिन्छ।

जस्तो, कोभिडको समयमा शिक्षण ठप्प भए तापनि एसईईमा कोही फेल भएनन्। बरु, अपेक्षा बाहिरकै उच्च ग्रेड आयो। यसको अर्थ के हो भने– ‘पास’ को मापदण्ड केवल विद्यार्थीको सिकाइ स्तर होइन, नीति र प्रक्रियामा निर्भर गर्छ।

किन फेल हुन्छन् विद्यार्थी?
विद्यार्थीको असफलतामा विभिन्न कारणहरू मिसिएका हुन्छन्। मुख्य पाँच कारण यस प्रकार छन् :

१. पाठ्यक्रम र परीक्षा पद्धति
हाम्रो पाठ्यक्रम अझै पनि ज्ञानको भारी थोपर्ने प्रवृत्तिमा अडिएको छ।कक्षा १–३ कै पाठ्यक्रम २५० पृष्ठभन्दा बढीको छ, जुन शिक्षकले मूल्यांकन गर्न पनि मुस्किल हुन्छ।

हामीले व्यवहार, सीप र बौद्धिक क्षमतालाई मापन गर्नुपर्ने स्थानमा केवल लिखित परीक्षालाई भर मानेका छौं। खासगरी गणितमा विद्यार्थीलाई केवल सही उत्तर निकाल्नुपर्ने प्रणालीले प्रक्रिया सिकाउने मौका नै दिँदैन।

उदाहरणका लागिः ‘वर्गमूल किन आवश्यक छ?’, ‘परिधि व्यावहारिक जीवनमा कहाँ लाग्छ?,’ ए प्लस बीको होल स्क्वायर र साइन ठिटा, कोष ठिटा जीवनमा कहाँ काम लाग्छ भन्ने प्रश्नको उत्तर खोज्ने तिर ध्यान छैन। पाउलो फ्रेरेले भनेको ‘बैंकिङ कन्सेप्ट’ आज पनि हाम्रा कक्षामा विद्यमान छ – शिक्षक बोलेर जानकारी दिने र विद्यार्थीले कण्ठ गरेर दोहोर्याउने शैली। 


यस बारे दुई हिन्दी चलचित्रहरुले राम्रो व्याख्या गरेको छ । ‘तारे जमीन पर’ एक यस्तो चलचित्र हो जसले बालबालिकाको मानसिक स्वास्थ्य, सिकाइका कठिनाइ (जस्तै डिस्लेक्सिया) र पारिवारिक दबाबका कारण हुने असरलाई सम्वेदनशील तरिकाले चित्रण गर्छ। ईशान नामक बालकको कथामार्फत शिक्षक र अभिभावकको सहानुभूति र समझदारीको आवश्यकता दर्शाइएको छ।

’थ्री इडियट्स’ शिक्षा प्रणालीप्रति आलोचनात्मक दृष्टिकोण राख्दै घोकन्ते पढाइभन्दा सोच्न र बुझ्न सिक्नुपर्ने सन्देश दिन्छ। तीन इञ्जिनियर मित्रहरूको कथाबाट आत्मपरीक्षण, साथीप्रतिको निष्ठा, र ‘कामलाई प्रेम गर, सफलता आफैं आउँछ’ भन्ने मूल मन्त्र प्रस्तुत गरिएको छ। दुवै चलचित्रले शिक्षामा मानवीयता र मौलिक सोचको खाँचो देखाउँछन्।

२. शिक्षक र शिक्षण शैली
शिक्षक शिक्षाको मेरुदण्ड हुन्। तर नेपालमा शिक्षकहरूको स्थिति जटिल छ। स्थायी शिक्षक र करार शिक्षकबीच सुविधा असमानता छ, जसले उनीहरूको मनोबल घटाउँछ।

दोस्रो, धेरै शिक्षकहरूमा निरन्तर अध्ययन गर्ने वा आफ्ना शिक्षण पद्धति अद्यावधिक गर्ने प्रवृत्ति कम देखिन्छ।

तेस्रो, शिक्षकले दिँदै आएको मूल्यांकन पनि कहिलेकाहीँ उचित हुँदैन। उमेर र स्तरको सापेक्षमा हेर्नुपर्ने उत्तरलाई निरपेक्ष रूपमा मूल्यांकन गरिन्छ। सबै उत्तरको ’एकै ढाँचाको पूर्णता’ खोजिन्छ – जुन व्यावहारिक होइन।

३. विद्यालय सुविधा र वातावरण
धेरै सामुदायिक विद्यालयमा स्रोतसाधनको चरम अभाव छ। कतिपय विद्यालयमा चार्टपेपर वा बोर्ड मार्करसम्म छैनन्। विषयगत शिक्षकको दरबन्दी छैन।

राज्यले ’मोडल स्कुल’ को नाममा ठूला र सशक्त विद्यालयलाई मात्रै प्राथमिकता दिइरहेको देखिन्छ। विपन्न र साना विद्यालय गाभिने नीतिले स्रोतको असमान वितरण झनै बढाएको छ।

फरक मातृभाषी वा पछाडि पारिएका समुदायका विद्यार्थीले विद्यालयलाई आफ्नो घरजस्तो महसुस गर्न सकिरहेका छैनन्। भाषा, सामाजिक स्थिति र व्यवहारमा बहिष्करणले उनीहरूको सिकाइमा अवरोध ल्याउँछ।

४. पूर्वज्ञान र तयारी
एसईईमा सफल हुन अघिल्लो कक्षा, विशेषतः आधारभूत तहमा पर्याप्त ज्ञान हासिल हुनुपर्छ। तर सरकारी अध्ययनहरूले देखाउँछ– अंग्रेजी, गणित र विज्ञानमा विद्यार्थीहरूको उपलब्धि निकै कमजोर छ।

अर्थात् विद्यार्थीहरू बिना आधारभूत तयारी एसईईमा पुग्छन्। यस्तोमा फेल हुनु स्वाभाविक हुन्छ। अतः सुधारको सुरुवात आधारभूत तहबाटै गर्नुपर्छ।

५. पारिवारिक सहयोग
विद्यार्थीको सिकाइमा विद्यालय मात्र होइन, घरको वातावरण पनि महत्वपूर्ण हुन्छ। तर धेरै अभिभावकहरू न त गृहकार्यमा ध्यान दिन्छन्, न नियमित उपस्थिति सुनिश्चित गर्छन्।

अर्कोतर्फ शिक्षकप्रति गुनासो, संलग्नताको कमी र अभिभावकीय सहकार्यको अभावले सिकाइमा असर पुर्याउँछ।

यो प्रणालीकै असफलता हो
विद्यार्थी परीक्षामा फेल हुनु एउटा साझा प्रणालीगत समस्या हो। पाठ्यक्रमको जटिलता, शिक्षणको गुणस्तर, मूल्यांकनको अन्याय, स्रोतको असमानता, पारिवारिक भूमिका—सबै पक्षको समष्टिगत कमजोरीले गर्दा हजारौं विद्यार्थी हरेक वर्ष असफल भइरहेका छन्।

समाधान पनि समग्र हुनुपर्छ—

पाठ्यक्रम सरल र सीपमूलक बनोस्,

शिक्षकलाई निरन्तर अध्ययन र अनुसन्धानमा जोड दिइयोस्,

मूल्यांकन बहुआयामिक र न्यायोचित होस्,

समुदाय र अभिभावक सक्रिय सहयात्री बनून्,

विपन्न र सीमान्त विद्यार्थीलाई अवसरमा समानता होइन, न्याय दिइयोस्।

अन्त्यमाः
विद्यार्थी कुनै एउटा परीक्षामा फेल भएकोले जीवनभर असफल हुँदैन। शिक्षा प्रणालीले उसलाई फेल गराउँछ भने त्यो विद्यार्थीको होइन, हामी सबैको सामूहिक असफलता हो।

# माध्यमिक शिक्षा परीक्षा (एसईई)

 

प्रकाशित : १० असार २०८२, बुधबार 18:18
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
निर्देशक : अमरेन्द्र प्रसाद यादव, ९८४२८४४४४४
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved