विराटनगर– काठमाडौँको नागार्जुनमा घाइते कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूमा तीन जनाविरुद्ध जाहेरी परेको थियो । एक जनाको घटनास्थलमा उपस्थिति नदेखिएको भन्दै छाडिएको छ । दुई जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सुरेन्द्र भुजेल र सरिना पौडेललाई प्रहरी हिरासतमा राखिएको छ ।
नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई शुक्रबार लखेटीलखेटी जालीले छोपेर तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । क्रुरतापूर्वक कुकुर मारेको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि यसको चौतर्फी आलोचना भएको थियो ।