विराटनगर– राष्ट्रियसभा निर्वाचनमा पुराना दलबिच बनेको चुनावी समीकरणमा चुकेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले यतिखेर नयाँ चुनावी समीकरण बनाउने खेलमा लागेका छन् । समीकरणमा टिकेको उथलपुलको राजनीतिका माहिर खेलाडी दाहालले नयाँ उदाएका वैकल्पिक शक्तिहरुसँग चुनावी समीकरण गर्ने खेल सुरु गरेका हुन् । किनकी यतिखेर उनीसँग न सशक्त संगठन छ, न निर्णायक जनलहर, न स्थायी गठबन्धन । दाहालले माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दल, समूह, घटकहरुको एउटै कम्युनिस्ट चुलोमा झिक्रा थुपार्दै लगे पनि— आगो बल्ने संकेत देखिएन । त्यसैले प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ चुनावी समीकरण निर्माणमा जुटेका हुन् । अब प्रश्न उठ्छ– दाहाल कस्तो चुनावी समीकरण बनाउँदै छन् । यो समीकरण कुन कुन दलबीच बन्दै छन् ? दाहालले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टीले कति सिट जित्छन् ?

नेपालको राजनीति फेरि एकपटक चुनावी समीकरणको प्रयोगशाला बन्दै छ । जेनजी आन्दोलनपछि पनि पुराना दलका शीर्ष नेताहरु त्यही राजनीतिक समीकरण, त्यही राजनीतिक भागबन्डा, सत्ता लुछाचुँडीको व्यक्तिकेन्द्रित गठबन्धन राजनीतिको जाल फिजाउँदै छन् । राजनीतिक समीकरणका चतुर खेलाडीमध्येका एक पुष्पकमल दाहालले यो जालमा एण्टी शिस्टम छवी बनाएका नयाँ बैकल्पिक शक्तिहरुलाई समेट्ने खेल सुरु गर्दै छन् ।

राष्ट्रियसभा निर्वाचनमा पुराना दलबीच बनेको समीकरणमा आफैँ चुकेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल अब नयाँ चुनावी समीकरणको खेलतर्फ लागेका छन् । उनको यो केवल चुनावी गठबन्धनको खोजी होइन— यो राजनीतिक अस्तित्वको खोजी हो ।

दाहाल— समीकरण टिकाएर सरकार बनाउने र समीकरण भत्काएर सत्ता उल्टाउने राजनीतिका सबैभन्दा अनुभवी खेलाडी हुन् । तर आजको यथार्थ फरक छ । उनीसँग अहिले— न त बलियो संगठन छ, न निर्णायक जनलहर, न स्थायी गठबन्धन । माओवादी संख्यात्मक रूपमा कमजोर, वैचारिक रूपमा अलमलिएको, र संगठनात्मक रूपमा खिइँदै गएको अवस्थामा छ । त्यसैले, राष्ट्रियसभा निर्वाचनमा देखिएको असफलतापछि प्रचण्ड फेरि नयाँ चुनावी समीकरण खोज्न बाध्य भएका छन् ।

दाहालले जेन्जी आन्दोलनपछि माओवादी केन्द्र, एकीकृत समाजवादी, साना दल, समूह, घटकहरूलाई एउटै कम्युनिस्ट चुलोमा थुपारे । त्यसमा अझै थप्दै छन् । तर संख्यात्मक रुपमा जति बढे पनि त्यो कम्युनिष्टको आगो बल्ने संकेत देखिएको छैन । नेतृत्वको प्रश्न, विश्वसनीयताको संकट, र जनआधारको खडेरी— यी सबैले कम्युनिस्ट एकताको कमजोर आधारलाई सैद्धान्तिक नारामा सीमित हुने भयबाट त्रसित छन् ।

माओवादी बाहिरी रूपमा बदलिन्छ तर पुष्पकमल दाहालको नेतृत्व चार दशकदेखि अपरिवर्तनीय छ । यो राजनीतिक अभ्यास होइन— एकप्रकारको निरंकुश शैली । भलै होर्डिङ बोर्ड र झन्डा चतुर्याइँका साथ बदलिएका छन् । तर नेतृत्व, विचार, शासन शैली र सोच अपरिवर्तनीय छ । बदलिन सकेको छैन यही यथार्थबिच दाहालले फेरि नयाँ बैकल्पिक शक्तिहरुसँग चुनावी समीकरण मिलाउँदै छन् ।

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक दाहाललाई पहिलो पटक स्पष्ट रूपमा किनारामा पु¥याइदिएको छ । राष्ट्रियसभा निर्वाचनमा पुराना दलहरू— नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबीच बनेको मोर्चाबन्दीमा पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी अटाएनन् । परिणाम— एकै पटक ९ वटा सिट गुमाउँदै नेकपा राष्ट्रियसभामा कमजोर हुँदैछ । यो केवल सिटको हार होइन । यो राजनीतिक संकेत हो । दाहाल आज आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कमजोर क्षणमा उभिएका छन् । जेन्जी आन्दोलनपछि संकटमा परेका पुराना राजनीतिक शक्तिहरू प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेर पुनरागमनको सन्देश दिन खोज्दै छन् । तर यही गठबन्धनमा दाहाल अटाएनन् । उनको समीकरणको तिलस्मी जादु चलेन । र उनी रिंग आउट भए ।

त्यसैले अहिले प्रचण्डको ध्यान मोडिएको छ— नयाँ उदाएका वैकल्पिक शक्तितर्फ । यी शक्तिहरू— परम्परागत दल होइनन्, स्थायी गठबन्धनमा बाँधिएका छैनन्, र जनस्तरमा ‘एण्टी–सिस्टम’ छविसँग जोडिएका छन् । प्रचण्डको गणना स्पष्ट छ— यदि पुराना कम्युनिस्ट घटकले सत्ता फर्काउन सक्दैनन् भने, तिनीहरुको साथ लिँदै नयाँ शक्तिसँग रणनीतिक तालमेल गर्ने । जुन वैचारिक निकटता होइन, चुनावी अंकगणित हो ।

यहीँबाट उठ्छ मूल प्रश्न— दाहाल कस्तो समीकरण बनाउँदै छन् ? यो समीकरणको आधार के हो ? संकेतहरू हेर्दा— यो समीकरण ठूला, संस्थागत दलभन्दा लचिलो, मुद्दा–आधारित शक्तिहरूसँग केन्द्रित देखिन्छ । स्थायी गठबन्धनभन्दा क्षेत्रगत तालमेल, सीट–सम्झौता र साझा उम्मेदवारको मोडेल । यो २०६४ सालको जनलहर होइन, न २०७४ सालको वाम गठबन्धन । यो कमजोरीबाट जन्मिएको दाहालको रणनीति हो ।

दाहालले नयाँ उदाएका वैकल्पिक शक्ति कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र हर्क साम्पाङको श्रमसंस्कृति पार्टीसँग चुनावी समीकरणको योजना अघि बढाइरहेका छन् ।

यो समीकरण निर्माणका लागि दाहालले हालै गरेको दिल्ली भ्रमण फलदायी देखिएको छ । दाहाल दिल्लीबाट फर्किएको केही दिनमै सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ दिल्ली हुँदै गोप्य रुपमा नेपाल आए । उनी पुस १६ गते काठमाडौं आएर मनोकामना र पशुपतिनाथमा पूजा गरी पुस १८ गते फर्किए ।

उनको यो भ्रमण बिशुद्ध व्यक्तिगत र धार्मिक भएको भनियो । तर उनी फर्केको भोलीपल्टै कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता टुटाएर उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने सशाहासिक निर्णय लिए । यो कुनै संयोग होइन । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह र कुलमान दुबै स्वजातीय हुन् । त्यही प्रभावमा उनले रास्वपा छाडेर उज्यालो नेपालको नेतृत्व सम्हाल्न पुगेको विश्लेषण भइरहेको छ । र यसमा दाहालको भूमिका रहेको व्याख्या पनि भइरहेको छ ।

यही परिदृष्यमा दाहालले कुलमानको उज्योलो नेपाल र हर्क साम्पाङको श्रमसंस्कृति पार्टीसँग चुनावी समीकरण गर्ने योजना अघि बढाइरहेका छन् । यसले पूर्वी नेपालमा अत्यन्तै कमजोर अवस्थामा पुगेका दाहालले बलियो उपस्थिति जनाउने प्रयत्न गर्दै छन् । तर कुलमान र हर्क साम्पाङ दुबैले चुनावी गठबन्धन नगर्ने अभिव्यक्ति दिँदै आएका हुन् । यी दुई पार्टीबीच समीकरण बने पनि नेतृत्वको संकट कायमै रहन्छ । किनकी हर्क सम्पाङ र कुलमान घिसिङ दुबै महत्वाकांक्षी पात्र हुन् । तर यो स्तित्वको लडाईमा तत्कालका लागि दाहालले नेतृत्व त्याग्न सक्ने दावी पनि भइरहेको छ । त्यसैले यो समीकरण बन्ने संभावना बलियो बन्दै गएको हो ।

साथै दाहालले नेकपा एमालेसँग पनि चुनावी गठबन्धनका लागि छलफल सुरु गरेको उनी निकट स्रोतको भनाइ छ । किनकी विशेष महाधिवेशनको विवादमा फसेको कांग्रेसमा एमालेसँग चुनावी गठबन्धन नगर्ने मत बलियो रहेको फाइदा उठाउँदै दाहालले छलफल सुरु गरेका हुन् ।

तर यो खेल जोखिमरहित छैन । वैकल्पिक शक्तिहरू पुरानो राजनीतिबाट टाढा रहन खोजिरहेका छन् । उनीहरूका लागि दाहाल स्वयं पुरानो प्रणालीका प्रतीक पनि हुन् । त्यसैले, यो समीकरण दुवै पक्षका लागि विश्वसनीयताको परीक्षा हुनेछ । एमालेसँगको गठबन्धन त परीक्षणै भइसकेको छ । यो समीकरण भए पनि चुनावमै सिमित रहनेछ ।

तर पुष्पकमल दाहाल आज पनि नेपाली राजनीतिका सबैभन्दा चलाख खेलाडीमध्ये एक हुन् । तर यो पटक— उनी शक्ति केन्द्रमा बसेर होइन, शक्तिको खोजीमा छन् । प्रश्न अब यो होइन— प्रचण्डले नयाँ समीकरण बनाउँछन् कि बनाउँदैनन् । प्रश्न यो हो— के यो समीकरण उनलाई फेरि निर्णायक बनाउनेछ, कि इतिहासको अन्तिम रणनीतिक चाल हुनेछ ?

समीकरणको राजनीतिमा टिकेका पुष्पकमल दाहाल— नेपाली राजनीतिमा सशस्त्र विद्रोहबाट उदाएका सबैभन्दा शक्तिशाली पात्र हुन् । माओवादी द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण र सत्ता समीकरणका हरेक निर्णायक मोडमा दाहाल केन्द्रमै रहे । तीन पटक देशको प्रधानमन्त्री बन्न सफल दाहालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा भए पहिलो, नभए न्यूनतम दोस्रो दल बन्ने रणनीतिमा छन् ।

अब प्रश्न उठ्छ– दाहालले नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टीले कति सिट जित्न सक्छन् ? यसको सही जवाफ प्रतिनिधिसभा निर्वाचनको मत परिणामले नै दिनेछ तर पूर्वानुमान अनुसार दाहालको घट्दो लोकप्रियताले नेपाली कम्युनिष्ट पार्टी समानुपातिकतर्फ धेरैमा ८ प्रतिशत मत ल्याउने देखिन्छ । जसले अधिकतम १० वटा समानुपातिक सांसदको सिट जित्न सक्ने देखिन्छ । तर दाहालको सचिवलायले समानुपातिकतर्फ न्यूनतम २० सिट जित्ने दावी गर्दै छन् । अब प्रत्यक्षतर्फ दाहालको सचिवालयले उम्मेदवारको नामै तोकेर २५ सिटमा जित्ने दावी गर्दै छन् । तर यो वर्तमान परिदृष्यमा संभव देखिएको छैन ।

आखिर दाहालको सचिवालयले दावी गरेको २५ सिट जित्ने कुन कुन निर्वाचन क्षेत्र र उम्मेदवारहरु हुन् ? हेरौँ । सूदुरपश्चिमबाट भीम रावल, भानुभक्त जोशी, कमलबहादुर शाहसहित चार सिट जित्ने दावी छ । यस्तै, कर्णालीबाट– जाजरकोटमा शक्ति बहादुर बस्नेत, कालिकोटमा पुष्पकमल दाहाल, सल्यानमा प्रकाश ज्वाला वा रमेश मल्ल, रुकुम पूर्वमा कमला रोक्का वा गणेशमान पुन, रुकुम पश्चिममा गोपाल शर्माले जित्ने दावी छ ।

यस्तै, लुम्बिनीबाट–रोल्पामा वर्षमान पुन र मेटमणी चौधरी, गण्डकीबाट–गोरखामा लेखनाथ न्यौपाने र बागलुङमा देबेन्द्र पौडेल, बागमतीबाट–चितवनमा रेनु दाहाल, धादिङमा शालिग्राम जमरकट्टेल वा राजेन्द्र पाण्डे, नुवाकोटमा हितबहादुर तामाङ, सिन्धुपाल्चोकमा युवराज दुलाल, सिन्धुलीमा लेखनाथ दाहालले जित्ने अनुमान छ ।

यस्तै, मधेसबाट सर्लाहीमा महेन्द्र राय यादव, रौतहटमा माधव नेपालसहित ४ सिट जित्ने दावी छ । यस्तै, कोशीबाट मोरङ क्षेत्र ४ मा अमनलाल मोदी, पाँचथरमा मिक्सो र उदयपुरमा एउटा सिट जित्ने दावी छ । तर अहिलेको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीले धेरैमा ८ देखि १० सिटमा सिमिति हुन सक्ने देखिन्छ । यसपटक मधेस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टीको खातासमेत नखुल्ने देखिन्छ । यही अवस्था कोशी, गण्डकीमा पनि छ ।

दाहालले आफू रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । तर उनले अहिले माहोल बुझ्न त्यो घोषणा गरेको हुन सक्ने नेपाली कम्युनिष्ट पार्टीको दावी छ । रुकुम पूर्वमा चुनावी माहोल दाहालको पक्षमा नदेखिए कालिकोटबाटै निर्वाचन लड्न सक्ने देखिन्छ । संसदीय राजनीतिमा आएदेखि प्रत्येक निर्वाचनमा क्षेत्र फेर्दै आएका छन् । उनी कुनै क्षेत्रमा स्थिर हुन सकेका छैनन् । त्यो नै उनको प्रमुख असफलता हो । उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचन काठमाडौं–१० बाट, २०७० सालको दोस्रो संविधानसभामा सिरहा–४, २०७४ सालको प्रतिनिधिसभामा चितवन–३, र २०७९ मा गोरखा क्षेत्र २ बाट निर्वाचित भएका थिए । नेपाली कम्युनिष्ट पार्टीसँगै दाहालको राजनीतिक भविष्य प्रतिनिधिसभा निर्वाचनले नै तय गर्ने देखिन्छ । र यो निर्णय आम नेपाली मतदाताको हातमा छ । सशस्त्र द्वन्द्वमा परिवारका सदस्य गुमाएका मतदाताले यो निर्वाचनमा दाहालसँग बदला लिन्छन् कि सहानुभूति देखाउँछन् ? त्यसको निर्णय समयले नै गर्नेछ ।