विराटनगर– नेपालको राजनीति अत्यन्तै गम्भीर मोडमा छ । राजनीतिका सिद्धान्तहरु सडकको आन्दोलनले खण्डित भइसकेको छ । पुराना दलहरुको गढहरु भत्सिकेका छन् । नयाँ र पुराना सबै शून्यताबाट अघि बढ्नुपर्ने अवस्था छ । राजनीतिको नाम सुन्ने बित्तिकै उठेर हिड्ने युवाहरु सचेत भएका छन् । अहिले राजनीतिक वहस गर्दै छन् । देशको विकास मोडल खोज्दै छन् । सुशासन, पारदर्शिता, रोजगारी खोजिरहेका छन् । देशमा इमानदार नेतृत्वको खोजी छ । जसले आसन्न प्रतिनिधिसभा निर्वाचनले नै देशको भाग्य र भविष्य निर्धारण गर्छ । तर प्रश्न उठ्छ– यी सबै कसरी संभव हुन्छ ? कसले गर्छ ? अहिलेका राजनीतिक दलको भूमिका प्रयाप्त हुन्छ ? के यो चुनावले नेपालको भविष्य निर्माण गर्छ ?
नेपालको राजनीति आज एउटा यस्तो तरल र कठिन मोड मा उभिएको छ— जहाँ हिजोका सिद्धान्तहरू आजका प्रश्नहरूका लागि अपर्याप्त भइसकेका छन् । राजनीतिशास्त्रका पुस्तकहरूमा हामीले पढेका धेरै मान्यताहरू आज सडकको यथार्थसँग ठोक्किँदै खण्डित भइरहेका छन् । यो केवल सत्ता परिवर्तनको कथा होइन— यो राजनीतिक चेतनाको पुनर्संरचनाको समसामयिक यथार्थ हो ।
नेपाली कांग्रेसको सम्पन्न विशेष महाधिवेशन, राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र साहबिचको एकता, श्रम संस्कृति पार्टीको कार्यक्रमहरुलाई दलीय कार्यक्रम मात्रै होइनन्, त्यसमा देखिएको जनउत्साह एउटा स्पष्ट सन्देश हो— नेपालको समाज भित्रभित्रै ठूलो परिवर्तनको प्रतीक्षामा छ । यो ऊर्जा कुनै एक नेताको आह्वानले जन्मिएको होइन । यो विचारको खोजीमा निस्किएको जनताको स्वतन्त्र आवाज हो । यसले देखाउँछ— अबको राजनीति व्यक्तिको वरिपरि होइन, एजेन्डाको वरिपरि घुम्ने बाटो पहिल्याइरहेको छ ।
राजनीतिशास्त्रका धेरै सिद्धान्त विद्वानको मन, मस्तिष्क, विचार र अनुभूतिबाट बन्द कोठामा जन्मिएका हुन्छन् । तर वास्तविक राजनीति सधैँ सडक, समाज र संघर्ष बाट निर्माण हुन्छ । नेपालमा देखिएको ‘जेनजी’ विद्रोह त्यही जीवित राजनीतिको उदाहरण हो । यो विद्रोह कुनै अपवाद होइन— यो विश्वव्यापी चलेको परिवर्तनका लहरको एक हिस्सा हो ।
श्रीलङ्काको जनविद्रोह, बंगलादेशको विद्यार्थी आन्दोलन, इन्डोनेसिया र टिमोर–लिस्टेमा देखिएका परिवर्तन— यी सबैले एक्काइसौँ शताब्दीका विद्रोहका नयाँ दृष्य, नयाँ चरित्र देखाउँछन् । यी विद्रोह— पार्टी कुनै मुख्यालयबाट सुरु हुँदैनन् कुनै एक केन्द्रबाट निर्देशित हुँदैनन् र कुनै एक व्यक्ति, संगठनको नेतृत्व हुँदैन । यी विद्रोह नेतृत्वविहीन देखिएका छन् । यसको प्रादुर्भाव शासन सत्ताले निम्तियाएका भ्रष्टाचार, वेथिति, अपारदर्शिता, असुबिधा, असन्तोष, अभाव, बेराजगारीबाट भएको हो । र यसको सुरुवात सामाजिक सञ्जाललगायत डिजिटल प्लाटफर्मबाट भएको छ । आज डिजिटल प्लाटफर्म नै संगठन हो, सम्पर्क हो, र आन्दोलनको इन्धन हो ।
पहिलो— यी आन्दोलन केन्द्रविहीन छन् । दोस्रो— यी छोटो समयमै ठूलो धक्का दिन्छन् । तेस्रो— यी नेताविहीन देखिए पनि विचारविहीन छैनन् । चौथो— यी विद्रोह समस्या त नाङ्गो पार्छन्, तर समाधानको पूर्ण खाका दिँदैनन् । पाँचौ– शासन सत्ता नै परिवर्तन गर्छ । छैठौँ– राजनीतिक नेतृत्व परिवर्तन खोज्छ । सातौँ– शासन व्यवस्था ठीक ठाउँमा ल्याउन बाध्यकारी बनाउँछन् । यही कारण सत्तालाई यी आन्दोलनसँग सम्झौता गर्ने अवसरसमेत प्राप्त हुँदैन ।
नेपालमा अब मतदाता कुनै दलको बँधुवा मजदुर रहेन । राजनीतिक दलहरुको ‘गढ’, आधार क्षेत्र भत्किसकेको छ । अब झन्डा र चिह्न हेरेर होइन— सुशासन, पारदर्शिता, सेवा प्रवाहलगायतका डेलिभरी, विश्वसनीयता र भविष्यप्रतिको दृष्टिकोणले मत निर्धारण हुन्छ । त्यसैले अबका चुनावहरुमा पुराना दलहरूलाई पनि शून्यबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक अवस्था निर्माण भएको छ । र नयाँ दलहरू त्यही शून्यबाट आशा बोकेर उठ्दैछन् ।
कुनै समय युवाहरू राजनीतिक समाचार पढ्दा पत्रिका फालेर हिँड्थे, रेडियो र टेलिभिजन बन्द गर्थे । तर त्यही युवाहरु आज— राजनीतिक रूपमा पहिलाभन्दा धेरै सचेत छन् । उनीहरु अहिले राजनीतिक विषयमा वहस गर्छन् । त्यो पनि ठूला होटलको सभा हलमा होइन, भव्य कार्यक्रममा होइन । काम गर्दै, पढ्दै, खाँदै डिजिटल प्लाटफर्ममा वहस गर्छन् । सुशासन, पारदर्शिता, सरकारी सेवाको सहज प्रवाह, रोजागारी सिर्जनाका विषयमा उनीहरु सवाल उठाउन्छन् र यी विषयमा युवाको आवाज स्पष्ट छ । उनीहरू इतिहासलाई पछाडि फर्काउन चाहँदैनन् । उनीहरू राजनीतिक वृद्धतन्त्रको एकाधिकार भत्काउन चाहन्छन् ।
आज नेपालमा सुशासन अनुभूति होइन— अभाव हो । भ्रष्टाचार सामान्यीकरण भइसकेको छ । राज्य नागरिकको सेवक होइन, झन्झट बनेको छ । यही कारण आक्रोश छ, निराशा छ । तर आजका युवा पुस्ता कसैको गोटी बन्न तयार छैन । दक्ष युवा विदेश पलायन भइरहेका छन् । तर यो देश छोड्ने कसैको रहर होइन— शासनको असफलता हो । यदि राजनीतिक स्थिरता, इमानदार नेतृत्व, र अवसर सिर्जना गर्न सकियो भने— नेपालमा ब्रेन ड्रेन ब्रेन गेन बन्ने निश्चित छ ।
त्यसैले अब देशमा युवाले आशा गरेका नयाँ शक्तिहरूको ठूलो परीक्षा सुरु हुँदै छ । देशमा सुशासन, सहज र प्रभावकारी रुपमा सेवा प्रभाव, रोजगारी सिर्जना आज पहिलो प्राथमिकता भइसकेको छ । देश विकासको विदेशी मोडल होइन— नेपालकै माटोबाट जन्मिएको समाधान चाहिन्छ । विकासे योजनामा बजेट खर्च गर्नु भन्दा अगाडि त्यसको उपभोगको खाका तयार हुनुपर्छ । किनकी देशमा अहिलेसम्म विकासै चाँही नभएका होइनन् । विकास भएको छ । तर त्यसको उपयोगिताको प्रश्न छ । त्यो तोकिएको समयमा भयो कि भएन ? त्यसको आम नागरिकले उपभोग गर्न पाए कि पाएनन् नै मूल प्रश्न हो । तर परिवर्तनको नाममा फेरि गल्ती दोहोरिन नदिने सचेतता पनि सबैका लागि उत्तिकै आवश्यक छ ।
राजनीति सत्ता कब्जा होइन— समाजलाई दिशा दिने माध्यम हो । त्यसैले नेपालको राजनीतिमा इमानदारिता आवश्यक छ । अब राजनीतिले समाजलाई द्रुत गतिमा अघि बढाउनु पर्ने इमानदार नेतृत्व अपरिहार्य छ । त्यसैले अबको बाटो सजिलो छैन । तर असम्भव पनि छैन । युवाको ऊर्जा, पुरानाको अनुभव, र नागरिकको सचेतता— यी तीन मिलेर नेपाललाई नयाँ दिशामा डो¥याउन सक्छन् । अबको नेपाल कस्तो हुन्छ भन्ने निर्णय आज युवाहरू र सचेत नागरिकहरूकै हातमा छ । त्यसैले आसन्न प्रतिनिधिसभा निर्वाचनले नै देश र जनताको भाग्य र भविष्यको फैसला गर्छ । अब निर्णय आम मतदाताको हातमा छ । तर इतिहास फेरि हेरिरहेको छ ।