विराटनगर– नेपालको राजनीतिक दिशा बदल्ने प्रतिनिधिसभा सदस्य निर्वाचन केवल सिट जित्ने–हार्ने खेल होइन । यो पुरानो शक्ति र नयाँ आकांक्षाबीचको भिडन्त हो । एकातिर— दशकौँदेखि सत्ता सम्हाल्दै आएका परिचित अनुहारहरू, अर्कोतिर— सडक, सामाजिक सञ्जाल र युवाको भरोसाबाट उदाएका— बालेन साह ।
काठमाडौंको मेयरबाट सिधै प्रधानमन्त्रीको दौडमा प्रवेश— यो केवल पद परिवर्तन होइन, यो सत्ताको केन्द्र नै हल्लाउने संकेत हो । मधेसदेखि झापासम्म, सवाल एउटै छ— अब राजनीति पुरानैले चलाउँछ ? कि नयाँ पुस्ताले इतिहास लेख्छ ? आजको यो भिडियोमा हामी बालेन साहको राष्ट्रिय राजनीतिमा प्रवेश, झापा–५ को शक्ति संघर्ष र यस भिडन्तले नेपाललाई कुन दिशातर्फ लैजान्छ— त्यसैको गहिरो विश्लेषण गर्दैछौँ । किनकि यो कथा एक उम्मेदवारको मात्रै होइन— नेपालको भोलिको राजनीतिक भविष्यको कथा हो ।
नेपालको राजनीति अब नयाँ पुस्ताले सम्हाल्ने कि पुरानै पुस्ताको हातमा रहने यो प्रश्नको उत्तर आसन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले मात्रै दिनेछ । र यतिखेर यही प्रश्नको केन्द्रमा काठमाडौंका मेयर बालेन्द्र साह छन् । जसलाई धेरैले बालेन भनेर चिन्छन् । मेयर बालेन साह— स्थानीय सरकारको नेतृत्व छोडेर अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्दै छन् । उनको यो कदम केवल पद परिवर्तन होइन, यो नेपाली राजनीतिमा सम्भावित शक्तिसन्तुलनको संकेत पनि हो । बालेन साहको यो कदम नेपाली राजनीतिमा एउटा नयाँ अध्यायको सुरुवात हो— जहाँ स्थानीय तहबाट उदाएको नेतृत्व सिधै राष्ट्रिय सत्ता संरचनामा प्रवेश गर्न खोज्दैछ ।
तीन वर्षअघि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौंको मेयर बनेका बालेन परम्परागत दल–राजनीतिलाई चुनौती दिने अनुहार बने । अब, उनी त्यही स्वतन्त्र छविलाई बोकेर राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—मार्फत संसदीय राजनीतिमा प्रवेश गर्दै छन् । बालेन माघ ४ गते औपचारिक रूपमा मेयर पदबाट राजीनामा दिने तयारीमा छन् । राजीनामापछि उनी रास्वपाको वरिष्ठ नेताका रूपमा पार्टीको चुनावी अभियानको नेतृत्व सम्हाल्नेछन् र प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ ।
बालेनको राजीनामा प्रक्रिया पनि निकै योजनाबद्ध देखिन्छ । माघ ४ गते मध्यान्ह— उनले काठमाडौं महानगरपालिकाको कार्यकक्षबाटै राजीनामा बुझाउनेछन् । महानगरले उनलाई औपचारिक रुपमा विदाइ गर्नेछ । त्यहाँबााट दिउँसो रास्वपाको केन्द्रीय कार्यालय—घण्टीघर—पुग्नेछन् । पार्टीले त्यहाँ विशेष स्वागतको तयारी गरेको छ, र यही क्षणबाट बालेनले औपचारिक रूपमा चुनावी अभियानको कमाण्ड सम्हाल्नेछन् । हालसम्म बालेन पार्टीका औपचारिक कार्यक्रममा देखिएका छैनन् । मेयर पदमा रहँदाको स्वतन्त्र छविलाई जोगाउन उनी अहिलेसम्म रास्वपाको कुनैपनि औपचारिक कार्यक्रममा देखिएका छैनन् । यो उनको समर्थकमाझ ‘स्वतन्त्र छवि जोगाउने रणनीति’का रूपमा बुझिने गरिएको छ ।
राजनीतिक यात्राको पहिलो चरणमा बालेनले गृह प्रदेश मधेसलाई प्राथमिकतामा राखेका छन् । माघ ५ गते उनी हवाईमार्ग हुँदै जनकपुर पुग्नेछन् । त्यहाँ दुईवटा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ— एउटा उनले आफ्नो गृह जिल्ला महोत्तरी र अर्को जनकपुरको चुनावीसभामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । जनकपुरको कार्यक्रम ऐतिहासिक बनाउन बालेनका समर्थक र रास्वपाले मधेस प्रदेशभरि चुनावी सभामा सहभागिता जुटाउन व्यापक रुपमा गाउँ टोलदेखि सहरसम्म प्रचार अभियान चलाइरहेका छन् ।
उनको यो कार्यक्रमलाई रास्वपाले मधेसमा बालेन र पार्टीप्रतिको जनआकर्षण मापन गर्ने रणनीतिको रुपमा लिएको छ । मधेस, जहाँ परम्परागत दलहरूको पकड बलियो मानिन्छ, त्यहाँ बालेनले कस्तो प्रभाव पार्छन् भन्ने प्रश्न छ । मधेस नेपाली कांग्रेसको आधार क्षेत्र हो । त्यही भएको मधेस विद्रोहपछि मधेसवादी दलको आधार क्षेत्र बन्न पुग्यो र पछिल्लो निर्वाचनमा एमालेले पकड जमाएको छ । मधेस प्रदेशमा देखिएको जनभावना अनुसार मधेस बालेनको आधार क्षेत्र बन्ने मतदाताको मनोविज्ञान स्पष्ट छ । यतिखेर मधेसमा बालकदेखि वृद्धसम्म सबैको मुखमा बालेनको नाम झुण्डिएको छ । सबैको मुखबाट यसपाली बालेनलाई भोट दिनुपर्छ भन्ने सुनिन्छ ।
जनकपुरपछि बालेन सडकमार्ग हुँदै झापा जानेछन् । माघ ६ गते— उनी झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् । यो निर्वाचन क्षेत्र विशेष अर्थ राख्छ । किनभने यही क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि प्रतिनिधित्व गर्दै आएका छन् । यसैले बालेनको झापा–५ बाट उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा होइन, यो परम्परागत शक्तिकेन्द्रमाथिको सीधा चुनौतीको रूपमा हेरिँदैछ । बालेनले झापामा एक सम्पर्क कार्यालय र आफ्नो सचिवालयसहितको अर्को कार्यालय सञ्चालन गर्ने तयारी गरेका छन् ।
झापा क्षेत्र ५ को अवस्था के छ ?
नेपालको पूर्वी सीमामा अवस्थित एउटा निर्वाचन क्षेत्र—झापा–५ अहिले यो प्रतिनिधिसभा निर्वाचनमा केवल संसदीय सिटको प्रतिस्पर्धा मात्र होइन, दुई फरक राजनीतिक युगबीचको टकरावको प्रतीक बन्दैछ । एकातिर छन्— त्यही क्षेत्रबाट छ पटक निर्वाचित पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, जसको राजनीतिक पकड झापामा दशकौँदेखि कायम छ । अर्कोतिर— काठमाडौँका मेयर बालेन साह— जसलाई समर्थकहरूले ‘परिवर्तनको अनुहार’ भन्छन् र आलोचकहरूले ‘स्थानीय नभएको जोखिम’ । हुनत ओली स्थानीय भएर पनि उनको बसाई काठमाडौंमै छ ।
झापाका स्थानीयले अपरिचित व्यक्तिलाई हेर्ने बित्तिकै प्रश्न गर्छन्– “तपाईंहरू पनि बालेनको मान्छे हो ?” यो प्रश्न केवल जिज्ञासा होइन । यो झापामा फैलिएको उत्सुकता, चर्चा र ध्रुवीकरणको संकेत हो । स्थानीय भन्छन्— यसपालि नयाँलाई मौका दिन मन छ । बालेनले काठमाडौंमा फोहोर व्यवस्थापन गरे, सांस्कृतिक धरोहरहरुको पुनःसंरचना गरे यहाँ किन नगर्लान् ? तर झापाका प्रत्येक परिवारभित्रै अहिले मत विभाजन छ— कसैले भन्छन् ओली ‘बा’ नै चाहिन्छ । कसैले भन्छन्— अब परिवर्तन हुनै पर्छ ।
केपी शर्मा ओली झापा–५ का लागि नयाँ नाम होइनन् । २०४८ देखि २०७९ सम्म— छ पटक निर्वाचित भएर संसद पुगेका ओली यो क्षेत्रका लागि स्थायित्वको पर्याय बनेका छन् । २०७९ मा २८ हजारभन्दा बढी मतान्तरले जितेका थिए । २०७४ मा झनै फराकिलो अन्तर । ओली समर्थकहरू भन्छन्— दमकमा सडक, भ्युटावर, योजना ल्याउने नेता ओलीबाहेक कोही छैनन् । तर आलोचकहरू प्रश्न गर्छन्— योजना धेरै, कार्यान्वयन कति ? १८ तले दमक भ्युटावर— अहिलेसम्म पूर्ण सञ्चालनमा छैन । अर्बौँको लगानीमा भ्यू टावर त बनाए तर त्यसको उपयोग खोई ? कमिशन खाने तर योजना निर्माण गरेर पनि सञ्चालन नगर्ने, अल्पत्र छाड्ने । उपयोगविहिन बनाउने ? नेपाल–चीन औद्योगिक पार्क— शिलान्यास भयो, काम अघि बढेन । रतुवामाई खोल नै मुआब्जा दिएर किन्ने ? यो राज्य स्रोतको दुरुपयोग कहिलेसम्म ? रंगशाला, सभागृह, नमुना सहर— धेरै सपना तर सबै अधुरा र उपयोगविहिन यथार्थ । यी ब्रह्मलुट मचाउने ओलीको विकल्प खोज्ने यो अवसर हो ।
बालेन साह झापा–५ का स्थानीय होइनन् । तर उनी ‘जेन–जी’ का लागि भूगोलभन्दा ठूलो नाम बनेका छन् । काठमाडौंमा मेयर बनेपछि उनले देखाएको शैली— कडा, छरितो, परम्परागत राजनीतिभन्दा फरक— युवालाई आकर्षित ग¥यो । जेन–जी आन्दोलनपछि युवाको एउटा धारणा बलियो हुँदै गएको छ— “पुराना अनुहारले नयाँ समस्या हल गर्न सक्दैनन् ।” झापाका नवयुवाहरु भन्छन्— “यसपालि हामीसँथ विकल्पको रुपमा बालेन आएको छ । त्यसैले मतदाता दायाँबायाँ गर्दैनन् ।”
झापा–५ का मतदाता दुई स्पष्ट धारमा विभाजित भइसकेका छन् । पाका मतदाता— स्थायित्व, पहिचान र परिचय खोज्छन् । उनीहरू भन्छन्— “बाहिरबाट आउनेले के बुझ्छ ?” “धेरै चुनाव देखिसकें । बाहिरको मान्छेले केही गर्दैन ।” तर १८ देखि ३५ वर्षका धेरै युवा र महिला ओलीको नाममा थाकेका छन् । रोजगारी छैन । योजना अलपत्र छन् । कमिशनतन्त्र संस्थागत भइसकेका छन् । पारदर्शिता छैन । विश्वास कमजोर हुँदै गएको छ ।
झापा–५ मा कुल मतदाता— १ लाख ६३ हजार । जसमा नयाँ मतदाता— करिब १० हजार । यही समूह निर्णायक बन्न सक्छ । गत निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ १८ हजारभन्दा बढी मत पाएको थियो । अब त्यो मतमा बालेनको व्यक्तिगत ब्रान्ड थपिँदा सन्तुलन बदलिने देखिन्छ ।
झापा–५ रहेको कूल मतदाता १ लाख ६३ हजारमध्ये करिब ७० प्रतिशत अर्थात् १ लाख १४ हजार १ सय मत खस्न सक्छ । जसमा करिब ३ प्रतिशत मत बदर हुन सक्छ । अब बाँकी रहयो । १ लाख १० हजार ६ सय ७७ मत । जसमध्ये एमाले, कांग्रेस, राप्रपा, श्रम संस्कृति पार्टी, नेपाली कम्युनिष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीमा बाँडिन्छ । यो हिसाबले ३० देखि ३५ हजार मत ल्याउने उम्मेदवारले चुनाव जित्ने निश्चित छ ।
यो हिसाबलाई हेर्दा अघिल्लो निर्वाचनमा रास्वपाले समानुपातिक मत १८ हजारभन्दा बढी प्राप्त गरेका थिए । जसमा नवयुवा मतदाता १० हजार थपिएका छन् जो बालेनको पक्षमा रहने अवस्था छदैँछ । अब रहयो अनेकौँ शक्तिकेन्द्रहरुको चलखेल, चुनावी ट्याक्टिस र बालेन ब्राण्डले झापा–५ मत परिणाम बालेनमा पक्षमा आउने निश्चित देखिएको छ ।
तर यो प्रतिस्पर्धा केवल ओली र बालेनबिचको होइन । श्रम संस्कृति पार्टी, हर्क साम्पाङको छायाँ, आदिवासी जनजाति मत, र सम्भावित एमाले–राप्रपा तालमेल— सबैले समीकरण जटिल बनाउँछन् । हर्क साम्पाङ खुलेआम भन्छन्— “ओली र बालेन दुवैलाई हराउँछौं ।” यसले वैकल्पिक मतलाई विभाजन गर्ने सम्भावना पनि बढाएको छ ।
झापा त्यही जिल्ला हो जहाँ जबर्जस्ती संविधान जारी गरेपछि नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद सिटौलालाई पटक पटक हार बेहोर्नु परेको इतिहास छ । यो पूर्व र दक्षिणी सीमाना भारतसँग जोडिएको छ । त्यहाँको प्भाव स्पष्ट रुपमा चुनावमा देखिदै आएको छ । त्यतैको प्रभावले सिटौलालाई पटक पटक पराजय बेहोरेको झापावासीले हेरिसकेका छन् । र त्यतैको प्रभावले ओलीले पनि गत निर्वाचनसम्म अपराजय यात्रा कायम राखेका छन् । तर ओलीले चुच्चे नक्सा संसदबाट सर्वसम्मत रुपमा पारित गरेकै कारण प्रधानमन्त्रीबाट लखेटिएको कसैबाट अब लुकेको छैन । त्यसैले यस पटक ओलीको अपराजय यात्रामा बिराम लाग्ने आँकलन भइरहेको छ र त्यो सत्य साबित हुनु झापाका लागि कुनै नौलो विषय होइन ।
नेपालको राजनीतिक इतिहासमा यस्तो भिडन्त नयाँ होइन । २०४८ मा मदन भण्डारीले कृष्णप्रसाद भट्टराईलाई हराउँदा देशले एउटा नयाँ युग देखेको थियो । आज— बालेन त्यही प्रतीकात्मक यात्रामा छन् । उमेर, ऊर्जा र सन्देश— सबै त्यतैतर्फ संकेत गरिरहेका छन् ।
झापा–५ आज केवल एउटा निर्वाचन क्षेत्र होइन । यो पुरानो शक्ति बिरुद्ध नयाँ आकांक्षा, स्थायित्व बिरुद्ध परिवर्तन, अनुभव बिरुद्ध नयाँ प्रयोग— बीचको जनमतको परीक्षा हो । के मतदाताले परिचित अनुहार रोज्छन् ? वा जोखिम उठाएर नयाँ कथा लेख्छन् ? यसको उत्तर मतपेटिकाले दिनेछ । तर एउटा कुरा स्पष्ट छ— झापा–५ ले यो चुनावमा नेपालको राजनीतिक दिशाबारे महत्त्वपूर्ण सन्देश दिनेछ ।
अर्को प्रश्न— के बालेनको लोकप्रियता स्थानीय सीमाभन्दा बाहिर पनि उस्तै प्रभावकारी हुनेछ ? के रास्वपाले यसमार्फत आफूलाई वैकल्पिक राष्ट्रिय शक्ति प्रमाणित गर्न सक्छ ? यसका उत्तरहरू आसन्न निर्वाचनले दिनेछन् । हामी यस राजनीतिक यात्रालाई निरन्तर पछ्याइरहनेछौं ।